पाँचौ पोखरा स्पोर्टस् अवार्ड भव्यताका साथ सम्पन्न (फोटो फिचर)

राजाराम पौडेल, पोखरा । बहुप्रतिक्षित पाँचौ पोखरा स्पोर्टस् अवार्ड २०७६–७७ हिजाे शुक्रबार भव्यताका साथ सम्पन्न भएकाे छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा पोखरामा भएको अवार्ड कार्यक्रममा कुल ७ विधामा अवार्ड वितरण गरियो ।

विश्व खेलकुद पत्रकार दिवस अवसर पारेर सेमी-भर्चुअल मार्फत गरिएको कार्यक्रममा वर्ष खेलाडी पुरुषमा नवीन रसाइली (कराते) र वर्ष खेलाडी महिलामा पार्वती गुरुङ (तेक्वान्दो) ले अवार्ड हात पार्नुभयो । उहाँहरु दुई जनाले अर्वाड सहित जनही २ लाख नगद प्राप्त गर्नुभयो । वर्ष उत्कृष्ट पुरुष विधामा टेबलटेनिसका विनेश खनियाँ र फुटबलका सुमन अर्याल तथा वर्ष उत्कृष्ट महिला विधामा साइक्लिङकी जमुना थापा र तेक्वान्दोकी प्रशंसा क्षेत्री प्रतिष्पर्धामा हुनुहुन्थ्यो ।

लाइफटाइम अचिभमेन्ट अवार्डबाट केशव रञ्जित (आनन्द) लाई सम्मान गरियो । पोखरा नदीपुर निवासी आनन्दले पोखराको फुटबल विकासमा ठूलो योगदान दिनुभएको छ ।

पोखरा रंगशालाको ब्याडमिन्टन हलमा भएको कार्यक्रममा
१४ वर्षीया दुवाना लामा (पौडी) उदीयमान खेलाडी घोषित हुनुभयो । सो विधामा लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपीन खत्री प्रतिष्पर्धामा हुनुहुन्थ्यो ।

वर्ष उत्कृष्ट प्रशिक्षकको अर्वाड सुरेश मल्ल ठकुरी (बक्सिङ) ले जित्नुभयो । प्रशिक्षकतर्फ उत्कृष्ट ३ मनोनयनमा पौडीका आनन्द कुँवर र फुटबलका किरण श्रेष्ठ पर्नुभएको थियो । उत्कृष्ट उदीयमान र प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ, ट्रफी प्रदान गरिएको थियो ।

मञ्चले प्रदान गर्ने वर्ष उत्कृष्ट पत्रकार अवार्डतर्फ नागरिक दैनिकका सन्देश श्रेष्ठ (वर्ष २०७६) र पोखरा स्पोर्टस् डटकमका केशव पाठक (वर्ष २०७७) सम्मानित हुनुभयो । उहाँहरुलाई जनही ३५ हजार रुपैयाँ, ट्रफी प्रदान गरियो ।

 

यस्तै वर्ष उत्कृष्ट खेल संघबाट जिल्ला आर्चरी संघ कास्की सम्मानित भयो । सो वापतको पुरस्कार संघ अध्यक्ष योगेन्द्र शेरचनले ग्रहण गर्नुभयो।

अर्वाड कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यमा भएको हो । मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रञ्जन अधिकारी, महासचिव विजय नेपालले बोल्नुभएको थियो भने सञ्चालन सञ्चारकर्मी मन क्षेत्री र कविता श्रेष्ठले गर्नुभयो ।

अर्वाड कार्यक्रमको आकर्षणको रुपमा हास्य कलाकार दीपक थापाको हास्य प्रहसन, नेपाल मुआथाई र क्यूकोसिन फुलकन्ट्याक्ट करातेका खेलाडीको डेमो प्रदर्शन तथा एसके डान्स म्यूजिक सेन्टरका कलाकारले नृत्य प्रस्तुति रहेको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button