एमाले विवाद समाधान हुँदै, एकताको सन्देश भोलि सुनाइने: गोकर्ण विष्ट

पोखरा न्यूज ।  नेकपा (एमाले) भित्र देखिएका विवाद समाधानको निष्कर्षमा पुगेको छ । सिंहदरबारमा आज विवाद समाधान गर्न गठित कार्यदलको बैठकले दलभित्र देखिएका समस्या समाधान निष्कर्षतिर पुगेको जनाएको हो ।

विवाद समस्या समाधान गर्दै दलले आइतबार पार्टीका आमकार्यकर्तालाई एकताको सन्देश दिँदै छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलका सदस्य गोकर्णराज विष्ट दलभित्रको समस्या सामाधन गर्ने विन्दुमा आफूहरु आइपुगेको जनाउँदै सहमतिलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताउनुभयो ।

“ हामी भोलि(आइतबार) पार्टी एकताको सुखद् समाचार सुन्ने सफलता प्राप्त गर्ने छौँ । त्यो विन्दुसम्म पुर्या उनका लागि हामीले धेरै हदसम्म सहमति गरेका छौँ”, उहाँले भन्नुभयो, “अब सहमतिलाई औपचारिकता दिन मात्र बाँकी छ । भोलि एकताको सार्थक निष्कर्षमा पुग्दैछौँ ।”

एमालेलाई एकताबद्ध बनाएर राष्ट्र जनता, कम्युनिष्ट आन्दोलनको रक्षा र नेपालीको चाहनालाई सम्बोधन गर्नका लागि भोलि एकताको घोषणा गरिने जानकारी उहाँले दिनुभयो । एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले दलमा देखिएको समस्या समाधानको अन्तिम विन्दुमा पुगेको र चाँडै सहमतिको निष्कर्षमा पुग्ने बताउनुभयो ।

बैठकमा एमाले नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीपकुमार ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डेलगायत नेता सहभागी हुनुहुन्थ्यो । एमालेभित्र देखिएको विवाद समाधान गर्न लगातार कार्यदलको बैठक बसिरहेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button