अदालतको फैसलालाई स्वागत गर्दछु : सभापति देउवा

पोखरा न्यूज ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले कांग्रेसलगायत पाँच दलले दर्ता गरेको रिट निवेदन उपर गरेको फैसलाको स्वागत गर्नुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत यो फैसलाले लिकबाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको उल्लेख गर्दै स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताउनुभएको छ ।

सभापति देउवाले लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढङ्गले आन्दोलनमा सरिक राजनीतिक दलहरू, कानून व्यवसायी, भ्रातृ र शुभेच्छुक संस्थाहरु, नागरिक आन्दोलन र सजग सञ्चारमाध्यम एवं स्वदेश र विदेशमा रहेका सबै नेपालीमा बधाई ज्ञापन गर्नुभएको छ । देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको उल्लेख गर्दै उहाँले कसैले पनि यसलाई व्यक्तिगत जीतहारको विषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते गर्नुभएको प्रतिनिधिसभा विघटनविरुद्धका विभिन्न निवेदनउपर सुनुवाइ गर्दै सर्वाेच्चले आज प्रतिनिधिसभा विघटन संविधानको मूल्य, मान्यता अनुकूल नभएको भन्दै पुनस्र्थापना गर्ने फैसला गरेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button