पोखरामा बालबालिकामा नयाँ सरुवा रोगको संक्रमण बढ्दो

पोखरा न्यूज । पोखरामा बालबालिकामा फेरी अर्को सरुवा रोगको संक्रमण बढेको छ । पछिल्लो समय बालबालिकामा एकै खालको छातीको संक्रमण फैलिएको बेला पुनः अर्को नयाँ रोग (ह्याण्ड, फुट, माउथ डिजिज) को संक्रमण बढेको हो ।

बालबालिकामा अहिले ‘कक्साकी भाइरस ए सिक्छटीन ‘ बाट हुने उक्त सरुवा रोगको संक्रमण बढेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बाल रोग विभाग प्रमुख, वरिष्ठ बाल रोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाले जानकारी दिनुभयो । विशेष गरी १०  वर्ष मुनिका बालबालिकामा यस्तो खालको संक्रमण व्यापक रूपमा पाइएको उहाँको भनाई छ ।

‘अहिले पोखरामा बालबालिकामा व्यापक रूपमा यो रोगको संक्रमण बढेको छ, जसलाई हामीले नेपालीमा मान्छेमा हुने खोर्‍यात पनि भन्छौ’, बाल रोग विशेषज्ञ डा. बास्तोलाले भन्नुभयो, ‘ यस्तो रोगका कारण हाल अस्पतालमा आउने र भर्ना हुने स-साना बालबालिकाको संख्या ह्वात्तै बढेको छ ।’ अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दिनहुँ १४/ १५ जनाको संख्यामा र ओम हस्पिटलमा ५/७ जनाको संख्यामा यो रोगका बालबालिका उपचारका लागी आउने गरेको उहाँले बताउनुभयो । अन्य अस्पतालमा समेत सोही हाराहारीमा सङ्क्रमितहरू रहेको हुन् सक्ने उहाँले बताउनुभयो ।

यता जीएमसी (गण्डकी मेडिकल कलेज) हस्पिटलमा पनि यस्ता रोगका बिरामी बालबालिकाहरूको संख्या बढ्दो रहेको हस्पिटलका आवासीय डाक्टर प्रकाश गौतमले जानकारी दिनुभयो । अस्पतालको ओपिडी र इमर्जेन्सीमा दिनहुँ यो रोगको संक्रमण भएका बालबालिका आइरहेको उहाँले बताउनुभयो । डा. गौतमले भन्नुभयो, ‘शुरुमा हातखुट्टामा खटिरा देखिदा सामान्य ठानेर मेडिकलबाट औषधि प्रयोग गर्ने र पछि मुखमा समेत फैलिएर खाना खानै अप्ठ्यारो भएपछि हस्पिटलमा भर्ना हुन् आउने बालबालिकाको संख्या बढिरहेको छ ।’

यो रोगको संक्रमण हुने बालबालिकामा घाटी दुखेर खाना खान कम खाने, मुखको तालुमा घाउ खटिरा देखिएर जिब्रो ओठ वरिपरि फैलिने, १०२ डिग्री भन्दा कम मन्द ज्वरो २/३ दिन सम्म आउने, हत्केला तथा हात वरिपरि, पैताला तथा खुट्टाको वरिपरि र मलद्वार वरिपरि घाउ खटिरा आउने गर्दछ ।

यो रोगको संक्रमण दिशा पिसाब , र्‍याल तथा पसिनाबाट एक देखि अर्कोमा सर्ने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्ने र घरमा अन्य बालबालिका रहेको खण्डमा एक अर्कालाई जोगाउनुपर्ने बाल रोग विशेषज्ञ डा. बास्तोलाले बताउनुभयो । ‘यो रोग एक अर्कामा सर्न नदिन विशेष सावधानी अपनाउनु पर्छ । यसको ठ्याक्कै यही औषधी भन्ने छैन’, उहाँले भन्नुभयो, ‘ बालबालिकालाई देखिएका लक्षण तथा घाउ खटिराहरूलाई हटाउन लक्षण अनुसारका औषधी चलाउने नै हो ।’

हात, खुट्टा र मुखमा आएको घाउबाटै यो रोगको पहिचान हुने र यस सरुवा रोगमा ‘ई भी सेभेन्टी वान ‘ को भाइरस देखा परेमा इन्सेफ्लाइटिस र मेनिन्जाइटीस जस्ता जटिल लक्षण पनि देखा पर्न सक्ने हुँदा बेलैमा सचेत भई रोकथाम तथा उपचारमा लाग्नुपर्ने डा. बास्तोलाले बताउनुभयो ।

डा. बास्तोलाले विगतका वर्षहरूमा फाटफुट रूपमा देखिने यो रोग यस वर्ष व्यापक रूपमा देखा पर्न थालेकोले थप सजगता अपनाउन आग्रह समेत गर्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button