नेकपा (एस)ले भ्रष्टाचार र अनियमितताबारे अनुगमन गर्ने

पाेखरा न्यूज ।  स्थानीय, प्रदेश र संघीय सरकारको बजेटमा सञ्चालन भएका योजनाको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले अनुगमन गर्ने निर्णय गरेको छ । आयोजनामा भए/गरेका भ्रष्टाचार तथा अनियमितताको पर्दाफासका लागि भन्दै एकीकृत समाजवादीको तेस्रो जिल्ला कमिटी बैठकले स्थानीयदेखि संघीय सरकारमार्फत सञ्चालन भएका योजना अनुगमन गर्ने निर्णय गरेको हो ।

१४ असार २०७४ मा सम्पन्न स्थानीय तह र त्यसपछिका प्रदेश र संघीय निर्वाचन पश्चात टोल, वडा, पालिका र जिल्ला तहमा हालसम्म भए/गरेका विकास निर्माणको कामको अनुगमन गरी सत्यतथ्य विवरण संकलन गर्दै उपलब्ध गराउन तल्लो कमिटीलाई निर्देशन दिइएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं खोटाङ इन्चार्ज बबी चाम्लिङले बताउनु भयाे ।

तीन तहको सरकारमार्फत सञ्चालन भएका योजनाहरुको अनुगमन गरी पाइएका सत्यतथ्य विवरण आगामी १५ माघभित्र वडा कमिटीबाट संकलन गरी जिल्ला कमिटीसमक्ष बुझाउन नगर वा गाउँपालिका कमिटीलाई भनिएको छ । ‘योजनाको पारदर्शीताबारे बुझ्ने र कुन टोलमा कस्तो योजनाको आवश्यकता छ’ भन्ने पहिचानका लागि योजना अनुगमनको निर्णय गरिएको  इन्चार्ज चाम्लिङले बताउनु भयाे ।

एकीकृत समाजवादीले योजना अनुगमनका क्रममा बजेटको अंक, उपभोक्ता समितिका पदाधिकारी तथा ठेकेदार कम्पनीको नाम, कामको सम्पन्न भएको मात्रा, लाभान्वित संख्या, योजना दाता वा सम्वन्धित निकायको नाम लगायतका विवरण संकलन गर्न निर्देशन दिएको छ । ‘योजनामा भएका समस्या खोजी गर्दैछौँ । कहाँ, कस्तो योजना कसरी चलिरहेको छ भन्ने बुझ्दैछौँ । त्यो बारेमा यतार्थ विवरण बाहिर ल्याउने छौँ,’ चाम्लिङले भन्नुभयाे, ‘त्यससँगै कुन टोलमा कस्तो योजनाको आवश्यकता छ । आवश्यकताको पनि पहिचान गरेर समाधानमा अघि बढ्ने छौँ ।’

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button