कांग्रेसकाे जिल्ला अधिवेशन रोक्न माग गर्दै भोक हड्ताल

पाेखरा न्यूज । नेपाली कांग्रेसकाे जिल्ला अधिवेशन रोक्न माग गर्दै साे पार्टीकाे एक जना नेता महोत्तरीमा भोक हड्तालमा बस्नुभएकाे छ । महोत्तरी कांग्रेसका पूर्व महासचिव बजरङ्ग नेपाली आमरण अनसनमा बस्नुभएकाे छ ।

क्षेत्रको अधिवेशन सम्पन्न नभई २७ पुसमा जिल्ला अधिवेशन निर्धारण गरेको भन्दै उहाँ आज बिहान ८ बजेदेखि अनसनमा बस्नुभएकाे हाे ।

क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढङ्गबाट अधिवेशनको मिति निर्धारण गरेको भन्दै जिल्ला कार्यसमितिले पनि नेता नेपालीको अनसनलाई ऐक्यबद्धता जनाएको छ ।

मंगलवार जिल्ला कार्यसमितिले केन्द्रलाई नेता नेपालीको भोक हडतालप्रति ध्यानाकर्षणसहितको पत्र समेत पठाइसकेको छ  । पत्रमा  क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिनेहरुलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति तोक्नु षडयन्त्रपूर्ण र सुनियोजित भएको उल्लेख छ ।

विवादकै कारण अझै महोत्तरीको क्षेत्र नम्बर ३ मा अधिवेशन हुन सकेको छैन । संस्थापन र संस्थापन इतरका बीच विवाद हुँदा क्षेत्र नम्बर ३ को अधिवेशन स्थगित भएको थियो ।

निर्वाचन क्षेत्र नम्बर ३ को विवाद नसुल्झाइ विधि र विधानविपरीत जिल्ला अधिवेशनको मिति निर्धारण गर्नु आपत्तिजनक रहेको पूर्वमहासचिव नेपालीको भनाइ छ ।

मंगलबार नै नेता नेपालीले जिल्ला कार्यसमितिलाई ज्ञापनपत्र बुझाउँदै विवादित ठाउँहरुको विवाद नटुङ्ग्याएसम्म भोक हड्ताल गर्ने  चेतावनी दिनुभएकाे थियाे ।

नेता नेपालीको हड्ताललाई समेत मध्यनजर गर्दै  क्षेत्रीय अधिवेशन सकेपछिमात्र जिल्ला अधिवेशनको मिति निर्धारण गर्न कांग्रेस महोत्तरीले पनि माग गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button