प्रधानमन्त्री देउवाले भाषण गर्दैगर्दा ‘नो एमसीसी’को प्लेकार्ड देखाउने काे हुन् ?

पाेखरा न्यूज । २० पुसमा धरान स्थापना दिवस कार्यक्रमकाे उद्घाटनमा पुग्नुभयाे, प्रधानमन्त्री शेरबहादुर देउवा । दिवसका अवसरमा धरान उपमहानगरपालिकाले सार्वजनिक बिदा नै दिएकाे थियाे ।

जब प्रधानमन्त्री देउवा ‘धरान डे’ कार्यक्रमलाई सम्बोधन गर्न पब्लिक हाई स्कुलको मञ्चमा उक्लनु भयाे मञ्च अगाडि फरक दृश्य देखियो ।

एउटा हातमा नेपालको झण्डा अनि अर्को हातमा प्ले कार्ड । झण्डामा लेखिएको थियो-  शुम्भ रक्षक नै निशुम्भ भक्षक अनि प्ले कार्डमा ‘गुम्नेछ नेपाल आमा’ शीर्षकको कविता । त्यही कविताको एक लाइनमा थियो ‘नो एमसीसी’

कवितामा लेखिएको थियो

हे धर्ती माँ सुपुत्र गतिलो बिस्यौ कि जन्माउन ?
एमसीसीले तान्दा ती फरिया, ताली झोले ठोक्नेछन् ।।
कानुन नै निब बेच्छ कलमको, न्याय त्यहाँ मर्दछ ।
रक्षक नै छ विदेशी भतुवा, दासत्व स्वीकार्दछ ।।
देशभन्दा ठूलो पार्टी देख्ने, अन्ध दृष्टि फुटाऊ ।
स्वयं आफ्नै चुरासारी, कुलाङ्गारलाई घेराउ ।।
तिम्रा पुत्र रिपु भगत भए, पिउँछन् तिम्रै रक्त ।
छाती तिम्रा परेड खेल्न, आउँछन् विदेशी धूर्त ।।
अर्काकै भरमा चल्छौ यदि भने, के काम तिम्रो यहाँ ?
आर्यघाट बल्दा चिता दनदनी, चित्कार सुन्नु त्यहाँ ।।
बालुवाटार लम्पसार भए, बिक्री गरे सब गरिमा
न गानधारी बन न धृत राष्ट्र, गुम्नेछ नेपाल आमा

कपाल सेतै फुलेका, उमेरले पाको देखिने ती व्यक्ति हुनुहुन्छ धरान  उपमहानगरपालिका-७ का बासु चालिसे । ६६ वर्षीय चालिसे अमेरिकाले नेपाललाई दिने मिलेनियम च्यालेन्ज कर्पोरेशन अनुदान (एमसीसी)  संसदबाट पास गर्न नहुने भन्दै विरोधमा आउनु भएकाे हाे ।

एमसीसी देशको हितविपरीत रहेको भन्दै उहाँले देश निर्माणमा लागेका रक्षक नै भक्षक भएको र जनता जाग्नुपर्ने बताउनु भयाे ।

एमसीसीको विषय बाहिर आएदेखि करिब डेढ वर्ष अगाडिदेखि उहाँ झण्डा र कविता लेखिएको प्ले कार्ड लिएर हिँडिरहनु भएकाे हाे । झण्डाको अर्को पट्टी राहु र केतु लेखिएको छ । जसको अर्थ चन्द्रमा र सूर्यमा ग्रहण लागि सक्यो भन्दै देशलाई जोगाउनु पर्ने चालिसे बताउनु हुन्छ ।

तर, उहाँले प्रधानमन्त्री देउवालाई देखाउन लागेकाे प्लेकार्ड र झण्डा सुरक्षाकर्मीले खोसेका थिए । उहाँ यसअघि नेपाल बैंकमा जागिरे हुनुहुन्थ्याे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button