घरभाडा सरोकार समिति कास्कीले भन्यो: ५० प्रतिशतसम्म घरभाडा घटाउ

पोखरा । नेपाल घरभाडा सरोकार समितिको कास्की शाखाले ५० प्रतिशतसम्म घरभाडा घटाउन आह्वान गरेको छ । समितिले पोखरामा पत्रकार सम्मेलन गर्दै घरभाडा २५ देखि ५० प्रतिशतसम्म घटाउन आह्वान गरेको हो ।

घरधनी र घर बहालमा बस्ने दुबैको साझा संस्था रहेको समितिले आर्थिक मन्दीका कारण व्यापार, व्यवसायमा असर परेको र समग्र आर्थिक कारोबार समेत घटेकाले अहिलेको घरभाडा तिर्न सक्ने स्थितिमा व्यवसायीहरु नरहेको समितिको भनाई छ ।

‘आर्थिक मन्दी र चर्को व्याजदरले व्यापार व्यवसाय चौपट भएको छ । यहि कारण व्यवसायी व्यवसाय छाडेर पलायनसमेत भएका छन् । कतिपय व्यापारीले त आत्मदाहसम्म गरेका छन्’, समितिले भनेको छ ।

घरभाडा तिर्न नसकेका कारण पोखरामा हाल २५ देखि ३० प्रतिशत व्यवसायी पलायन भइसकेको र घरभाडा नघटे पलायन हुनेको प्रतिशत बढेर ५० प्रतिशत पुग्नसक्ने समितिका अध्यक्ष कमलप्रसाद न्यौपाने बताए ।

अध्यक्ष न्यौपानेले वर्तमान संकटबाट निस्कन घरधनी र घर बहालमा बस्ने सबै एकजुट हुनुपर्ने बताए । ‘जसरी हामी भुकम्प र कोरोनाका समयमा एकजुट भएर संकटबिरुद्ध लड्यौं, आज फेरी त्यसरी नै एकजुट भएर लड्न जरुरी छ’–उनले भने ।

अध्यक्ष न्यौपानेले घरभाडा समयमै नतिरेको भएपनि अहिलेको परिस्थितिलाई बुझेर व्यवसायीलाई घर खाली गर्नका लागि बाध्य नपार्न घरधनीलाई भनेका छन् ।

परिस्थिति सहज नभएसम्म बाचौं र बचाऔं भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै सबैको हित हुनेगरी विकल्प खोज्नुपर्ने उनको भनाई छ ।

समितिले घरभाडा नघटाए त्यसको परिणाम राम्रो नहुने चेतावनी समेत दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button