अमेरिकालाई ६ विकेटले हराउँदै विश्वकप छनोटमा नेपालले खोल्यो जीतको खाता

सायन जहाङ्गिरले शतकीय पारी खेले पनि अमेरिकालाई ६ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा आफ्नो पहिलो जीत हात पारेको छ ।

जिम्बावेको टकसिङ्गा स्पोर्ट्स क्लबमा भएको खेलमा पहिले ब्याटिङ गर्दै अमेरिकाले दुई सय आठ रन बनायो । खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको नेपाली टोलीका लागि करन केसीले उत्कृष्ट शुरुवात दिलाए । कप्तान निर्णय सही सावित गर्दै ९.२ ओभरमै केसीले चार विकेट चट्काए पछि अमेरिका कठिन स्थितिमा पुगेको थियो ।

तर जहाङ्गिरले ७९ बलमा १०० रनको शतकीय पारी खेलेसँगै अमेरिकाले नेपाललाई चुनौतीपूर्ण लक्ष्य पेश गरेको थियो । अमेरिकाका लागि सुशान्त मोदानीले ४२ र गजानन्द सिंहले २६ रनको बहुमुल्य पारी खेले । बलिङतर्फ नेपालका लागि केसी बाहेक गुल्सन झाले ३, दीपेन्द्र सिंहले २ र ललित राजवंशीले १ विकेट लिए । नेपालका मूख्य बलर सन्दीप लामिछाने भने लगातार दोस्रो खेलमा विकेटविहीन रहे ।

जवाफी ब्याटिङमा नेपालले आसिफ सेखलाई सस्तैमा गुमायो । सेख १२ रन बनाउँदै नेत्रवाल्करको बलमा एलबीडब्लू आउट हुन पुगे । अर्का ओपनर कुशल भुर्तेलले पनि ३९ रन बनाएर आउट हुँदा नेपालको स्कोर ७४ रन मात्रै थियो । कुशल मल्ल र रोहित पौडेल पनि क्रमश: १३ र १६ रनमा आउट भएपछि नेपाली टोली केही दबाबमा परेको थियो ।

तर तेस्रो नम्बरमा ब्याटिङमा आएका भीम सार्कीले निकै संयमपूर्वक खेल खेल्दै नेपाललाई जीतसम्म डोहोर्याए । उनले ११४ बलमा ७७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले पनि अविजित ३९ रनको योगदान दिए । पहिलो खेलमा जिम्बाबेसँग हार बेहोरेको नेपाललाई सुपरसिक्समा छनोट हुन आजको खेल जित्नै पर्ने बाध्यता थियो । जीतसँगै नेपालको दुई खेलबाट दुई अङ्क भएको छ ।

आजै भएको समूह एकै अर्को खेलमा जिम्बावेले नेदरल्यान्डलाई ६ विकेटले नै हरायो । जिम्बावेको दुई खेलबाट चार अङ्क भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button