नेपाल कुवेतसँग ३-१ गोलअन्तरले पराजित

साफ च्याम्पियनसिप फुटबलअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ गोलअन्तरले पराजित भएको छ ।

भारतको बैंगलोरस्थित श्री कान्तीराव रंगशालामा भएको खेलमा फिफा वरियतामा नेपालभन्दा ३१ स्थान माथि रहेको कुवेतले सोही अनुसारको दबाब कायम राख्न सफल रह्यो । कुवेतका लागि पहिलो हाफको २३ औँ मिनेटमा कप्तान खालिद हाजिह र ४२ औँ मिनेटमा सबाइब अलखालदीले गोल गरे । पहिलो हाफमा दुई गोलको अग्रता लिएको कुवेतले त्यसबाहेक पनि कैयौं अवसर सिर्जना गरेको थियो । तर नेपाली गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दा नेपाली टोलीले पहिलो हाफमा गोलअन्तर दुई भन्दा बढी हुन दिएन ।

दोस्रो हाफमा तुलनात्मक रुपमा प्रतिस्पर्धात्मक खेल भएको थियो तर ६५औँ मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमार्फत गोल गरेसँगै नेपालको खेलमा फर्कने सबै सम्भावना अन्त्य भयो । नेपालका डिफेन्डर अनन्त तामाङले पेनाल्टी बक्सभित्र हातले बल छोएपछि कुवेतले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।

त्यसपछि खेलको ६८ औँ मिनेटमा अञ्जन विष्टले एक गोल फर्काए पनि त्यो सान्त्वनामा सीमित हुन पुग्यो । आठ टोली सहभागी साफ च्याम्पियनसिपमा नेपालको समूहमा कुवेतसहित भारत र पाकिस्तान रहेका छन् । आजै समूहको दोस्रो खेलमा भारत र पाकिस्तान खेल्दैछन् । यसैगरी समूह बीमा लेबनान, मालदिभ्स, भुटान र बङ्गलादेश रहेका छन् । लेबनान र कुवेत प्रतियोगितामा पहिलोपटक आमन्त्रित टोलीका रुपमा सहभागी भएका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button