पोखरामा रेष्टुरेन्टको खानामा भाँडा माझ्ने स्टीलको जालीका टुक्रा, ग्राहकमाथि उल्टै दुर्व्यवहार

पोखरा । पोखरा महानगरपालिका- ६ स्थित लेकसाइडमा रहेको ‘माया थकाली भान्छा घर एण्ड रेष्टुरेन्टको खानामा स्टीलका टुक्रा भेटिएको छ ।

रेष्टुरेन्टमा ग्राहकले खाना खाने क्रममा स्टीलका टुक्रा भेटिएपछि ग्राहकले गुनासो गर्दा रेष्टुरेन्टका साहु विशाल चौधरीले उल्टै ती ग्राहकमाथि दुर्व्यवहार गरेका छन् ।

मंगलबार राति साढे ११ बजे रेष्टुरेन्टमा खाना खान पुगेका तीन जनाको टोलीलाई सुनिनसक्नूको अपशब्द र गाली गरेको भिडियो हालै सार्वजनिक भएको छ ।

फेवा खबर डटकमका सञ्चालक हेमराज अधिकारीसँगै स्थानीय सञ्चारकर्मीहरुको टोली आफ्नो काम सकेर खाना खानका लागि उक्त रेष्टुरेन्टमा पुगेका थिए ।

खाना खाने क्रममा खानामा स्टीलका टुक्रा भेटिएपछी उनीहरुले रेष्टुरेन्टका वेटर, स्टाफ र म्यानेजरलाई प्रश्न गर्दा खानामा भेटिएको टुक्रा भाँडा माझ्ने स्टीलको जालीका टुक्रा भएको पुष्टि गरे ।

ग्राहकले खाने खानामा गम्भीर लापरवाही गरेको भेटिएपछी पत्रकारको टोलीले क्यामेरा अन गरेर खिच्न सुरु गरेका थिए । यदि खानासँगै भेटिएको स्टील ग्राहको घाटीमा, आन्द्रामा अड्किएको अथवा पेटमा पुगेको भए अवस्था जटिल बन्न सक्थ्यो । ग्राहकको स्वास्थ्य जस्तो सम्बेदनशील कुरामा होटलका स्टाफ र सञ्चालक लाई जवाफदेही हुन उनीहरुले आग्रह गरे ।

सोही क्रममा सञ्चालक विशाल चौधरीले ‘कपाल पर्छ, ढुंगा पर्छ, यो सामान्य कुरा हो । महाभारत बनाउनुपर्छ ? बमजस्तो लाग्यो कि क्या हो ? के हुन्छ ? भनेर प्रश्न गर्दै उल्टै वादविवादमा उत्रिदै ग्राहकलाई सुनिनसक्नूको अपशब्द र गालीको वर्षा गरेका छन् ।

चौधरीले ग्राहकविरुद्ध अपमानजनक शब्दहरु प्रहार गर्दै ‘पागल पत्रकार साला गोरू *** लाई म चिन्छु क्या’ भनेर क्यामेरा माथि प्रहार गर्दै पुनः अपशब्दहरु प्रयोग गर्दै धम्कि दिएका छन ।

घटनापछि प्रहरीलाई खबर गर्दा प्रहरीले पनि सञ्चालकको समर्थन गर्दै आफूहरुमाथि उस्तै व्यवहार गरेको भन्दै हेमराज अधिकारीले बताएका छन् ।

‘खानामा ग्राहकको शरीरलाई गम्भीर हानी हुने अखाद्य, वस्तु भेटिएपछि गुनासो गर्दा रेष्टुरेन्ट सञ्चालक र प्रहरीबाट उल्टै मानमर्दन सहनुपर्ने हो ? हामी अरुको विषयमा सधै आवाज उठाउने व्यक्ति आज आफुँमाथि पर्दा यस्तो चुपचाप सहेर बस्नुपर्ने हो ?,’ सञ्चारकर्मी अधिकारीले प्रश्न गर्दै भने ।

सार्वजनिक सेवामा खटिएका बर्दी लगाएको प्रहरीले समेत प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गरेको भन्दै अधिकारीले कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल समक्ष घतानाबारे जानकारी गराएका छन ।

अधिकारीले जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने र प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गर्नेमाथि आवश्यक कारवाहीको माग गरेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button