ल्यान्डफिल साइटमा फोहोर फाल्न अवरोध नगर्न उच्च अदालत पोखराको आदेश

पोखरा । पोखरा महानगरलाई तत्कालका लागि अहिलेकै स्थानमा फोहोर व्यवस्थापन गर्न बाटो खुला भएको छ । उच्च अदालत पोखराले आइतबार आदेश जारी गर्दै अन्तिम फैसला नआउँदासम्मका लागि फोहोर विसर्जनमा अवरोध नगर्न भनेको हो ।

अस्थायी रुपमा फोहोर विसर्जन गर्ने प्रयोग भइरहेको पोखरा ३२ को लामेआहाल स्थित ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिन महानगरको नाममा अन्तरिम आदेशको माग गर्दै स्थानीयले बिहीबार उच्च अदालत पोखरामा रिट निवेदन दिएकोमा अदालतले त्यस्तो आदेश जारी गर्नु नपर्ने जनाएको छ ।

शक्रबार उच्च अदालत पोखराले विपक्षी पोखरा महानगरपालिकाका नाममा एक हप्ताभित्र कारण देखाऊ आदेश जारी गरेको थियो । आज आइतबार  दुवै पक्षको बहस सुनिसकेपछि अदालतले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश दिएको हो ।

ल्यान्डफिल साइटमा महानगरले सहमति अनुसार काम नगरेको तथा वातावरणीय प्रभाव परेकोले तत्काल फोहोर विर्सजन रोक्न भन्दै  स्थानीय रविन केसी, तिथेन्द्र केसी र ब्रजेश गुरुङले महानगरविरुद्ध रिट दायर गरेका थिए ।

स्थानीयले अवरोध गरेपछि विगत  ११ दिन देखि  फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । लामेआहाल स्थित सेती नदी किनारको खाल्डो पुरेर  फोहोर व्यवस्थापन गर्नेगरी  महानगरपालिका र स्थानीयबीच ६ महिनाअघि समझदारी भएको थियो ।

तर, महानगरले स्थानीयसँग गरिएको १६ बुँदै सम्झौता पालना नगरेको भन्दै पछिल्लो समय फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका थिए ।

यस विषयमा  पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर १६ बुँदै सम्झौता पालना गर्न कटिबद्ध रहेको र कहीँ कतै कसैबाट कमजोरी भएका भएपनि सुधारेर अघि बढ्न तयार रहेको बताउदै आएका छन् ।

अवरोधपछि फोहोर बोक्ने गाडी नआउँदा स्थानीयले पोखराका मुख्य बजार क्षेत्रको सडक छेउमा फोहोर फाल्दै आएका थिए  । यसरी फालेको फोहोर महानगरले उठाएर गाडीमा संकलन गरेर राख्दै आएको थियो  ।

फोहोर उठाउने गाडि समेत भरिएपछि  महानगरले केही फोहोर पृथ्वीचोकको  दमकल शाखा परिसरमा अस्थायी रुपमा खाडल खनेर पुर्ने काम गरेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button