लामाचौर तीज महोत्सव भव्य

पोखरा । तीज अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २५ औं लामाचौर तीज महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ ।

महोत्सव अवसरमा राष्ट्रिय भलिबल प्रतियोगिता, अन्तरमहिला समूहगत खुला तीज गीत तथा अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगितालगायत विविध प्रतियोगिता प्रमुख आकर्षण रहे । ३ दिनसम्म चलेको महोत्सवको सोमबार समापनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले यसखालका मेला महोत्सवले संस्कृति संरक्षणका साथै आर्थिक गतिविधि बढाउन मद्दत मिल्ने बताए ।

अन्तरमहिला समूहगत खुला तीज गीत तथा अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता दुवैमा लामाचौरकै वर्चश्व रह्यो । अन्तरमहिला समूहगत खुला तीज गीतमा लामाचौरको जाल्पादेवी महिला सामुदायिक विकास प्रथम भयो । दोस्रो हेमजाको देवीस्थान भजन समूह, तेस्रो महिला सामुदायिक स्वास्थ्य समाज पोखरा १९ र सान्त्वना गैराबारी कोपिला महिला समूह पोखरा १९ भए । प्रथमलाई ५०, दोस्रोलाई ३०, तेस्रोलाई २० र सान्त्वनालाई १० हजार र सहभागी टिमलाई प्रोत्साहनवापत २ हजार दिइयो । जसको निर्णायक संयोजक कलाकार दीपक खड्का थिए ।

अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा लामाचौरको सरस्वती आदर्श विद्याश्रम प्रथम भएको छ । भाष्कर ममोरियल दोस्रो र वेसलाइन एकेडेमी तेस्रो भए । सान्त्वना प्रगति इङलिस बोर्डिङ स्कुल, कुमुदिनी होम्स् र बालकल्याण मावि सान्त्वना भए । सिर्जना मावि उत्कृष्ट भेषभूषामा पुरस्कृत हुँदै ५ हजार पुरस्कार जितेको छ । प्रथम, दोस्रो, तेस्रो र सान्त्वना (३ टिम) लाई क्रमशः ४०, २५, १५ र ५ हजार प्राप्त गरेका छन् ।

अन्तिम दिन भलिबलसहित विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण एवं स्रष्टा सम्मान गरियो । खेलकुदतर्फ दिलसरा राना र बास्केटबल तथा ह्याण्डबल प्लेयर जुमप्रसाद गुरुङ, शिक्षातर्फ पश्चिमाञ्चल इन्जिनियरिङ कलेज तथा साहित्य विधामा रवीन्द्र माकाजू सम्मानित भएको संस्थाका सहसचिव हरिबहादुर थापाले बताए ।

आयोजकले दैनिकरुपमा राष्ट्रिय कलाकारलाई महोत्सव उतारेको थियो । आइतबार समीक्षा अधिकारीको प्रस्तुतिमा दर्शक झुमेकोमा समापनमा लोकदोहोरी कलाकार चिज गुरुङ, श्रीकृष्ण बम मल्ल, बविता बानियाँ जेरी, लक्ष्मी मल्ल, दीपक खड्का लगायत कलाकारले प्रस्तुति दिएको संस्थाका प्रथम उपाध्यक्ष तथा सूचना एवं सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले बताए । महोत्सवमा विभिन्न व्यापारिक स्टलहरुमा पनि ग्राहकको भिड लागेको थियो ।

संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले महोत्सव सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे ।

आयोजकले महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष वृद्धिका लागि थप गर्ने संस्थाका पूर्व अध्यक्ष बुद्धिबहादुर खत्री क्षेत्रीले बताए । संस्थाको २७ औं वार्षिक समारोहबीच इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा शनिबारदेखि सुरु महोत्सवको संघीय मन्त्री सुरेन्द्र आचार्यले समुद्घाटन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button