गण्डकीमा उत्पादित सुन्तला विराटनगर पठाइन्थ्यो तर अहिले…

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङ निवासी सुन्तला व्यापारी राजेश कार्कीले कुनै वर्ष एकै दिनमै ११ गाडी सुन्तला बिक्रीका लागि विराटनगर पठाउँथे । तर पछिल्ला वर्ष सोही परिमाणमा सुन्तला मधेसतिर पठाउन सकेका छैनन् ।

‘पकेट’ क्षेत्र मानिने स्याङ्जा, म्याग्दी, बागलुङ, लमजुङ, तनहुँ, पर्वतलगायत जिल्लामा उत्पादित सुन्तला बिक्री गर्ने मुख्य केन्द्र पोखराबजार हो । पोखराबजारमा ल्याइएका सुन्तला लिएर यहाँका व्यापारी पूर्वी तराईका जिल्लासम्म जाने गर्छन् ।

केही वर्षदेखि कास्कीलगायत जिल्लामा सुन्तलाको बोटमा देखापरेको ‘ग्रिनिङ भाइरस’ रोगका कारण यस क्षेत्रमा सुन्तला उत्पादन घटेको छ । सुन्तलामा देखापरेको रोगसँगै साना दाना र बोक्रामा दाग देखापर्ने गरेको कास्कीका किसान भोलाप्रसाद पोखरेलले बताए ।

यस क्षेत्रमा सुन्तला उत्पादन बढी हुने जिल्लाको रूपमा स्याङ्जा मानिँदै आएको छ । तर त्यहाँको सुन्तलामा दाग देखिन थालेको व्यापारी राजेश कार्कीले बताए ।

रसिला नहुँदा र बोक्रामा दाग हुँदा उपभोक्ताका रोजाइँमा स्याङ्जाको सुन्तला कम पर्ने गरेको छ । पश्चिम स्याङ्जाका सुन्तला बिक्रीका लागि केही बुटवल पनि लैजाने गरिएको छ ।

सुन्तलाको बोटमा रोग देखिएकै कारण कास्कीमा भने सुन्तला उत्पादन शून्य प्रायः छ । केही मात्रामा कास्कीको निर्मलपोखरीको दोपरेमा मात्र सुन्तला देख्न सकिन्छ । पछिल्ला वर्ष म्याग्दी, बागलुङ र पर्वतलगायत स्थानका सुन्तला स्वादिष्ट र ग्राहकको रोजाइँमा पर्ने गरेको जानकारी सुन्तला व्यापारी देवीप्रसाद कँडेलले दिए । यहाँ फल्ने सुन्तलामा चिल्ला र पातला बोक्रा हुँदा स्वादिष्ट हुने गरेको उनको भनाइ छ ।

पोखराका उपभोक्ताले यतिबेला सुन्तलाको मूल्य प्रतिकेजी रु ४० देखि एक सय २० रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । तर किसानले त्योभन्दा निकै कम मूल्य पाउने गरेका छन् ।

म्याग्दी जिल्ला निवासी सुन्तला व्यापारी मनबहादुर क्षेत्रीले यस वर्ष म्याग्दीबाट तीन खेप सुन्तला पोखरा बजारमा ल्याए तर तिनै पटक नोक्सान व्यहोर्नुपरेको गुनासो सुनाउँदै अब १५ दिन सुन्तला नल्याउने सोचमा छन् ।

गाउँमै पुगेर किसानसँग आफूले रु ७० रुपैयाँमा सुन्तला खरिद गरेको तर पोखरा बजारमा ल्याउँदा त्यो मूल्य पनि पाउन नसकेको दुखेसो उनले पोखे ।

‘म्याग्दीबाट पोखरा सुन्तला ल्याइ पुर्याउँदा ढुवानी र मजदुरलाई मात्र प्रतिकेजी रु १५ बुुझाउनुपर्ने हुन्छ”, क्षेत्रीले भने, “म्याग्दी र बाग्लुङको सुन्तला स्वादिष्ट र केही महङ्गो पर्छ भन्ने कुरा उपभोक्ताले बुझ्न नसक्दा घाटा पनि व्यहोर्नुपरेको छ ।”

स्याङ्जाबाट ल्याउदा प्रतिकेजी ढुवानी र मजदुर लागत रु सात पर्ने र सुन्तलाको मूल्य सस्तो पर्ने भएकाले व्यापारीले नोक्सान व्यहोर्नुनपर्ने भनाइ क्षेत्रीको छ । तराई क्षेत्रका जिल्लामा यस वर्ष सुन्तला खपत कम भएको जानकारी क्षेत्रीले दिए ।

सुन्तला जातको किबु तराईका जिल्लामा प्रतिकेजी रु ३० मा पाइने भएकाले पनि यस क्षेत्रका सुन्तला त्यो क्षेत्रमा कम बिक्री हुने गरेको सुन्तला व्यापारी श्यामकृष्ण अधिकारीले बताए ।

पोखराका तरकारी तथा फलफूल बजारस्थलमा यतिबेला सुन्तलाका थुप्रा त देखिन्छन् तर ती सुन्तलाको रसिलोपन भने प्रतिवर्ष घट्दै गएको छ । यहाँका व्यापारीले ती सुन्तला तराईको पूर्वी क्षेत्र काँकडभिट्टा, विर्तामोड, चारआली, दमक, लहान, पर्सा, हेटौँडा, काठमाडौँलगायत बजारमा थोक रुपमा बिक्री गर्न छानेर लाने गर्छन् ।

तराईका जिल्लामा सुन्तला नपाइने भएकाले पनि व्यापारीले पोखराको भन्दा बढी मूल्यमा बिक्री गर्ने गरेका छन् । पोखराबाट वर्षेनी रु २० देखि २५ करोड मूल्यको सुन्तला बिक्री हुने गरेको व्यापारी बताउँछन् । सुन्तलाको सानो दानाको कारण कहिलेकाही घाटा पनि हुने गरेको व्यापारी रमेश रायमाझीले बताए ।

राम्रो सुन्तला प्रतिकिलो रु ७० मा बिक्री हुन्छ तर सानो दानाको मूल्य ठूला व्यापारीले प्रतिकिलो रु २५ निर्धारण गर्दा नोक्सान व्यहोर्नुपरेको बताउछन् । ‘सुन्तलाको पहिचान गर्न नसक्दा घाटा हुने सम्भावना रहन्छ, रायमाझीले भने, “किसानले बिक्री गर्ने मूल्य र उपभोक्ताले खरिद गर्ने मूल्यमा अन्तर बढी हुँदा पनि नोक्सान हुने गर्छ ।”

सुन्तला बोटमै पाक्न पाउँदैनन् । फलमा बाँदर लाग्ने भएकाले किसानले हरिया हुँदै टिप्ने भएकाले स्वादिला सुन्तला बजारमा आउएका छैनन्, केही समय सुन्तला बोटमै राख्न सकिएको खण्डमा स्वादिला सुन्तला बजारमा आउने व्यापारी रायमाझीको भनाइ छ ।

घमाइलो ठाउँमा फल्ने सुन्तलामा पातलो बोक्रो हुने र रसिलोसँगै गुलियो हुँदा उपभोक्ताको रोजाइमा पर्ने गरेको तरकारी तथा फलफूल बजारस्थल सञ्चालक समितिका रुपा जिसीले बताए ।

सुन्तलाका लागि धेरै समय खर्च गर्न नपर्ने र बजारको पनि समस्या नहुँदा अधिकांश किसानले धान, कोदो, मकै लगाउने खेतबारीमा सुन्तला नै लगाउन थालेको जिसीले जानकारी दिए । नगदे बाली सुन्तला खेतीलाई व्यावसायिक रूपमा प्रवर्द्धन गर्न सकेमा गण्डकी प्रदेशका किसानको जीवनस्तरमा सुधार आउने विश्वास गरिएको छ ।

नेपालमा उत्पादित सुन्तलालाई प्राविधिक रूपमा परीक्षण गरी शीत भण्डारमा राख्न सकिएमा अर्बौँ मूल्यको सुन्तला आयातलाई प्रतिस्थापन गर्न सकिने जिसी बताउछन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button