पोखराको लान्द्रुक पेट्रोल पम्प र राष्ट्रिय माविका संरचना हटाउन निर्देशन

पोखरा । पोखरा महानगरपालिका वडा नं. १ हरिचोकस्थित लान्द्रुक पेट्रोल पम्प एक साताभित्र हटाउन निर्देशन दिइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहितको टोलीले पेट्रोल पम्प सडकको राइटअफ वे भित्र परेको भन्दै सात दिन भित्र हटाउन निर्देशन दिएको हो । हरिचोकको लान्द्रुक पेट्रोल पम्प वर्षौँदेखि सडकको राइटअफ वे भित्र सञ्चालित छ ।

साथै सडकको राइटअफ वे भित्र परेका त्यस क्षेत्रका अन्य घर टहराहरू पनि सात दिन भित्र हटाउन निर्देशन दिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

सडकको राइटअफ वे भित्रका सबै संरचनाहरू तोकिएको समय भित्र हटाउने अन्यथा नियमानुसार कारबाही गरिने उनको चेतावनी छ ।

विस्तारको काम भइरहेको पुष्पलाल मध्य पहाडी लोक मार्गको क्षेत्राधिकारमा पर्ने राष्ट्रिय मावि तर्फका टहराहरू समेत यथाशीघ्र हटाउन निर्देशन गरिएको छ ।

सडकको राइट वे क्लियर नहुँदा सडक निर्माणको कार्य विलम्ब हुने र विभिन्न अवरोधहरू सृजना हुने भएकाले त्यस प्रकार निययविपरितका संरचनाहरू तत्काल हटाउन निर्देशन गरिएको वडा अध्यक्ष साहारा प्रधान र दिवसमान प्रधानाङ्गले बताए । यस सम्बन्धमा स्थानीयहरूसँग विभिन्न चरणमा छलफल तथा संवादहरू गरिएका थिए ।

पोखरा महानगरपालिका वडा नं.१ र २ हरिचोकमा पुष्पलाल मध्य पहाडी लोक मार्ग विस्तारको काम भइरहेको छ । सो क्रममा वडा नं.१ तर्फ सडकको सेन्टर पोइन्टबाट १२दशमलव५ मिटरमा नाला निर्माण गर्दा नाला नागबेली बन्ने अवस्था आएपछि यसलाई सिधा बनाई उचित व्यवस्थापन गर्न स्थानीयले गरेको मागको सम्बोधनका लागि स्थलगत अवलोकन गरिएको छ ।

नाला सिधा बनाउँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको जमिनमा पर्ने भएकाले सोको व्यवस्थापनका लागि प्रतिष्ठानका अधिकारीहरूसँग पनि पटक पटक उच्चस्तरीय छलफल समेत भएका छन् । उपयुक्त निकास निकाल्ने प्रयत्न भने भइरहेको पोखरा महानगरपालिकाका प्रमुख आचार्यले बताए ।

‘यसका लागि हामीले उहाँहरूसँग पनि पटक-पटक छलफलमा बसेका छौँ’, उनले भने, यसको उपयुक्त निकास यथाशीघ्र खोजिने छ ।’

हरिचोक जस्तो व्यस्त चोकमा सडक जति फराकिलो बनाउन सकियो त्यो त्यति नै सुरक्षित हुने उनले बताए । नाला सिधा बनाउनु पर्ने स्थानीयको सरोकार सम्बोधनका लागि नियमानुसार निर्णय लिइने उनले बताए । करिब ५० मिटर नाला निर्माणमा यो समस्या देखिएको हो ।

अनुगमन टोलीमा प्रजिअ घिमिरे, मेयर आचार्य, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापा, वडा प्रहरीका कार्यालय बगरका प्रमुख, वडा नं.१ का वडाध्यक्ष साहारा प्रधान, वडा नं.२ का वडाध्यक्ष दिवसमान प्रधानाङ्ग लगायत वडाका जनप्रतिनिधि, आयोजनाका प्राविधिक, निर्माण व्यवसायी र स्थानीय अगुवा थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button