छाब्दी बाराहीमा भक्तजनको भीड

तनहुँ । व्यास-१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही मन्दिरमा शनिबार बिहानैदेखि भक्तजनको बाक्लो भीड लागेको छ ।

आँटेको काम र मनोकांक्षा पूरा हुने जनविश्वासका साथ पूजाअर्चना र भाकल बुझाउन भक्तजनको बाक्लो भीड लागेको हो ।

व्यास-३ निवासी त्रिभुवन श्रेष्ठले मनोकांक्षा पूरा हुने विश्वासका साथ मन्दिरमा पूजा गर्न परिवार नै आएको बताए । त्यस्तै चितवनबाट आएका मुक्तिनाथ पौडेलले बिहान ८ बजेदेखि लाइनमा बस्नुपरेको बताए ।

भक्तजनको लामो लाइन रहेकाले पालो पाउनै मुस्किल भएको गुनासो उनले पोखे । तनहुँको व्यास-११ रानीगाउँबाट आएका प्रकाश कुँवरले बिहान ९ बजेदेखि लाइनमा बसेर दिउँसो करिब २ बजे पूजाअर्चना गर्न पाएको बताए ।

छाब्दी प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक गणेशबहादुर ऐरले जिल्ला प्रहरी कार्यालयबाट पठाइएको १०, छाब्दी चौकीका सात र ट्राफिक प्रहरी तीनसहित २० प्रहरी सुरक्षामा खटिएको बताए ।

“नेपाल प्रहरी र स्थानीय छाब्दी युवा क्लबका करिब १५ जना युवाको संयुक्त प्रयासमा भक्तजनका लागि लाइनको व्यवस्था गरिएको छ”, उनले भने, “अपाङ्गता, वृद्ववृद्वा, बालबालिका र अशक्तलाई सहज रूपमा मन्दिर प्रवेश गरी पूजाअर्चना गर्ने व्यवस्था मिलाइएको छ ।”

मन्दिरका मूल पुजारी चोकबहादुर आलेले मन्दिरमा भक्तजनको बिहानैदेखि भीड रहेकाले पुजारीलाई भ्याइनभ्याइ हुने गरेको बताए ।

उनका अनुसार मूल मन्दिरमा तीन, बलि दिने स्थानमा दुई र टीका लगाएर आशीर्वाद दिन एक गरी छजना पुजारी खटाइएको छ । मन्दिरमा बोका, कुखुरा, भेडा, हाँस, परेवालगायतका पशुपक्षीलाई बलि दिने प्रचलन रहिआएको पाइन्छ ।

नयाँ वर्ष र शनिबार बिदाका दिन परेकाले आजमात्रै २० हजारभन्दा बढी आन्तरिक भक्तजनले दर्शन गरेको छाब्दी बाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले दाबी गरे ।

मनोकांक्षा पूरा हुने विश्वासका साथ पछिल्ला समय भक्तजनको चहलपहल बढ्दै गएको उनले जानकारी दिए । धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न आकर्षण छाब्दी देवीको मूर्ति र मन्दिर निर्माण गरिएको उनले बताए ।

यसअघि उक्त मन्दिरमा वार्षिक करिब छ लाख भक्तजनले पूजाअर्चना गरेको तथ्याङ्क रहेको छाब्दी बाराही विकास कोषले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button