पोखरा-२८ स्थित अर्घौं कालिका भगवती मन्दिरमा महाकालीको मूर्ति समर्पण गरिँदै

पोखरा । पोखरा महानगरपालिका वडा नं. २८ स्थित कालिका भगवती मन्दिरमा धार्मिक अनुष्ठान सञ्चालन एवं रथयात्रासहित महाकालीको मूर्ति समर्पण गरिने भएको छ । प्रसिद्ध अर्घौं मौलाकालिका भगवती मन्दिर संरक्षण समितिले श्रीराम जयन्तीको पूर्वसन्ध्यामा सो कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम यही वैशाख ४ गते मंगलबारका दिन हुनेछ । सो अवसरमा महाकाली भगवतीको मूर्तिलाई रथमा सजाएर भजनकीर्तनसहित कालिका, लेखनाथ र माझठाना क्षेत्र, अर्घौं मौलाकालिका धार्मिक क्षेत्र तथा छिमेकी स्थानमा धार्मिक अनुष्ठान सञ्चालन एवं रथयात्रासहित मूर्ति समर्पण हुनेछ ।

समितिले ऐतिहासिक एवं धार्मिक परम्परा, मौलिक संस्कृतिको प्रचारप्रसार र संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक सरोज भण्डारीले जानकारी दिए ।

समितिले कार्यक्रममा सहभागी हुने भजन टोलीले आफूसँग भएका वाद्यवादन सामग्रीहरु र सवारी साधन लिएर आउन आग्रह गरेको छ । साथै सवारी साधन नभएका र ज्येष्ठ नागरिकलाई बसको व्यवस्था गरिएको संयोजक भण्डारीले बताए ।

रथ यात्रा ४ गते बिहान ७ः३० बजे कालिका मन्दिरबाट सुरु हुनेछ । त्यसपछि मैदान नरेशपुर, जलधारे, सिलिंगे, विजयपुर, कालिकाचोक, बुढीबजार, खरानेफाँट खोलाको डिल, बहिरा स्कुल, लेखनाथचोक, रिठ्ठेपानी कुमाल गाउँ, तालचोक हुँदै भण्डारढिक पुग्नेछ ।

यस्तै, त्यहाँबाट खुदी, बेगनासताल, शिशुवा शिवमन्दिर, आरुपाटा, सैरे, ठूलाकोट हुँदै पुनः कालिका मन्दिरमै आएर रथयात्रा समापन हुनेछ । त्यसपछि मन्दिर प्रवेश गरी प्राणप्रतिष्ठासहित महाकालीको मूर्ति कालिका भगवती मन्दिरमा समर्पण गरिनेछ ।

यसपश्चात् प्रसाद ग्रहणसहित कार्यक्रम समापन हुने संयोजक भण्डारीले जानकारी दिए । कार्यक्रम वडा कार्यालय पोखरा २८ को संंरक्षकत्वमा हुँदैछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button