मुस्ताङमा सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

मुस्ताङ। हिमालपारिको जिल्ला मुस्ताङ जाने सडक बाढीपहिराका कारण ठाउँठाउँमा भत्किएपछि जनजीवन प्रभावित भएको छ । करिब २० दिनअघि ठाउँठाउँमा सडक अवरुद्ध हुने गरी गएको पहिरो र त्यसयताका विभिन्न खण्डमा बाटो बिग्रने भत्कने क्रम बढेपछि म्याग्दी–जोमसोम क्षेत्रको सडक यातायात पूर्णरुपमा ठप्प भएको छ ।

सडकका कारण आवतजावत रोकिएपछि लामो समयसम्मको बन्दाबन्दीका कारण पोखरामा रोकिएका मुस्ताङका सर्वसाधारण यहीँ रोकिन बाध्य छन् मुस्ताङबाट पोखरा आउनुपर्ने सर्वसाधारण पनि त्यही रोकिनु परेको छ । बाढीपहिरोका कारण म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेतेसम्मको सडक ठाउँठाउँमा अवरुद्ध भएको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरोला सडक खण्ड) का आयोजना प्रमुख अशोक तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार अवरुद्ध सडक मर्मतलाई तीव्रताका साथ बढाउँदा पनि करिब एक महिना अवधि लाग्ने देखिएको छ ।

सडक अवरुद्धसँगै डिजेल पेट्रोलको अभाव हुँदा यहाँ सञ्चालित कालीगण्डकी करिडोर आयोजना, विभिन्न पुल निर्माणलगायतका काम प्रभावित भएका छन् । ठाउँ ठाउँमा बिजुलीका खम्बा ढली विद्युत् अवरुद्ध भएपछि १३।६ मेगावाट क्षमताको थापा खोला जलविद्युत् आयोजनामार्फत विद्युत् आपूर्ति गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए ।

पोखरा जोमसोम हवाई उडानसमेत सञ्चालनमा आइनसकेको अवस्थामा पोखरामा अलपत्र परेका सर्वसाधारणलाई लक्षित प्रदेशसभा सदस्य इन्द्रधारा विष्टको पहलमा चाट्र्ड उडानको तयारी गरिएको छ । अवरुद्ध सडक चाँडौ खुलाउनका लागि सङ्घ सरकार समक्ष आवश्यक पहल भइरहेको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिए। उनका अनुसार म्याग्दीको तातोपानीदेखि मुस्ताङको लेतेसम्मको जमिन कमजोर भएका कारण पटक–पटक समस्या आउने गरेको छ । यसको दीर्घकालीन समाधानका लागि भौगर्भिक अध्ययन गरी विकल्प खोज्नुपर्ने देखिएको उनले बताए । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button