मूल्य वृद्धिभएपछि आयल निगमलाई विद्यार्थीको ज्ञापन पत्र

पोखरा न्यूज संवाददाता । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूह निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छ ।

बिहीबार अनेरास्ववियूले कोरोना कहर र लकडाउनका कारण मारमा परेका जनतालाई सहुलियत दिनुको सट्टा पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गरिएको भन्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल समक्ष ज्ञापनपत्र बुझाएको हो । विद्यार्थीहरुले बुझाएको ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा मूल्यवृद्धि गर्ने तर मूल्य घट्दा नेपालमा नघटाउने प्रवृति रहेको उल्लेख छ ।

यस्तै आयल निगम घाटामा गएको भन्दै करोडौं रकम बाड्ने गरेको पनि ज्ञापन पत्रमा उल्लेख छ । दुई रंगको सिलिन्डर बनाएर विद्यार्थीलाई सहुलियतपूर्ण दरमा ग्याँस उपलब्ध गराउने सहमती भएको भएपनि निगमले कार्यान्वयन नगरेको विद्यार्थीहरुले बताएका छन् । पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न र विद्यार्थीलाई सहुलियत दिने पूर्वसहमती कार्यान्वयन विद्यार्थीहरुले माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बिगत तीन महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको भाउ वृद्धि भइरहेको बताउनुभयो । आयल निगम नोक्सानमा गईरहेको अवस्था रहेकाले मूल्य वृद्धि भएको पौडेलले बताउनुभयो ।

ज्ञापन पत्र बुझाइसकेपछि आयल निगम बाहिर भएको कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धि अस्वीकार्य रहेको बताउनुभयो । अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि भएपनि ५/७ महिना मूल्य स्थिर राख्न सक्ने क्षमता आयल निगमसँग हुँदाहुँदै मूल्यवृद्धि गरिएको बताउनुभयो । ४८ घण्टा भित्रमा मूल्यवृद्धि फिर्ता नगरिए कडा आन्दोलन गर्ने चेतावनीसमेत तामाङले दिनुभयो ।

विद्यार्थीले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने भन्दै आयल निगम अगाडि नाराबाजी समेत गरेका थिए । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इनधन ६७ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button