सरसफाइले समृद्ध बन्दै जाजरकोटका गाउँ

पोखरान्युजडटकम, ६ असार –

केही महिनाअघिसम्म यहाँको पैक–६ की निर्मला बस्नेत पनि आफ्नो घरमा चौबीसैघन्टा पानी आउन थालेपछि दङ्ग छन् । बिहान ५ बजे नै पानी लिन टाढा जानुपथ्र्यो । पानी नहुँदा लुगा धुन, नुहाउन, चर्पीमा पानी हाल्न र अन्य सरसफाइ गर्न निकै समस्या हुन्थ्यो तर अहिले अवस्था फेरिएको छ ।

चर्पी प्रयोग नगर्नेहरु पनि चर्पीसँगै धारा भएपछि चर्पीको प्रयोग गर्न थालेका छन् । मैला कपडामै गुजारा चलाउनेहरु कपडा धोएर सफा लगाउन थालेका छन् यो सबै रेडक्रसको सहयोगले गर्दा सम्भव भएको निर्मलाले बताइन् । नाउला, खोला र खोल्साको दूषित पानी सेवनका कारण झाडापखालालगायतका पानीजन्य रोगको प्रकोपले सताउँथ्यो उनले भनिन् पानी ल्याउन लाग्ने समयमा घरको अरु कामकाज गर्ने गरेका छौँ । खानेपानी आएपछि आफूहरुलाई अहिले निकै सजिलो भएको निर्मलाको भनाइ छ

त्यस्तै निर्मला जस्तै पैक–६ कफल्नाकी ५९ वर्षीया सीता रोकायलाई खानेपानीको निकै पिरलो हुन्थ्यो । घर नजिक खानेपानी नहुँदा निकै टाढा गएर नाउलाको पानी ल्याउनुपथ्र्यो । सीताले पहिले जस्तो अचेल खानेपानीका लागि पिरलो गर्नु पर्दैन । रेडक्रसले खानेपानीका धारा बनाएपछि अहिले उनको गाउँका सबै घरमा चौबीसैघन्टा पानी आउने गरेको छ । सबैको घर घरमा खानेपानी आउन थालेपछि सीता निकै खुसी छन् । ५० वर्षसम्म थाप्लोमै पानी बोकेर परिवारको गुजारा चलाएको स्मरण गर्दै उनले अब दुःखका दिन गएको बताइन् । सीता र निर्मला जस्तै ६२ घरघुरी रहेको जिल्लाकै विकट कफल्ना गाउामा अहिले प्रत्येक घरमा धारा र चर्पी छन् ।

स्विस रेडक्रसको सहयोगमा सामुदायिक सशसक्तीकरणका लागि स्वास्थ्य प्रवद्र्धन कार्यक्रमको सहयोगमा डाव खानेपानी तथा सरसफाइ आयोजनाले खानेपानीका धारा बनाइदिएपछि सो गाउँमा खानेपानीको सहजता भएको हो ।

खानेपानीको उपलब्धतापछि गाउँका सबैले चर्पीको प्रयोग, भाँडा राख्ने चाङ र फोहर फाल्ने खाडल बनाइएका छन् भने घरआँगन चिटिक्क परेका देखिन्छन् । केटाकेटीदेखि वृद्धवृद्धासम्मले चर्पीको प्रयोग गर्न थालेका छन्, स्थानीय राधिका रोकायले भनिन् ‘खानेपानी आएदेखि हाम्रो गाउँ सरसफाइमा साँच्चीकै नमुना गाउँ बनेको छ ।’

खानेपानीलाई व्यवस्थित बनाउन मर्मत सम्भार कोषको स्थापना गरिएको छ भने प्रत्येक घरका धारामा मिटर जडान गरिएको छ । प्रतिमहिना सात युनिटसम्म पानी प्रयोग गर्नेले रु २५ र थप प्रतियुनिटको रु पाँचका दरले शुल्क उठाउने गरेको उपभोक्ता समितिका अध्यक्ष राधिका रोकायले बताउनुभयो । योजनालाई दिगोपन ल्याउन र मर्मत सम्भार गर्न सहयोग पुरयाउने उद्देश्यले मिटर प्रणाली लागू गरेर रकम उठाएको अध्यक्ष रोकायको भनाइ छ । उहाँले यो गाउँलाई सरसफाइमा नेपालकै नमुना गाउँ बनाउने उद्घोष गर्नुभएको छ ।

आयोजनाले पैकका साथै अर्छानी र लहँमा पनि खानेपानी योजना निर्माण गर्नुका साथै सरसफाइ प्रवद्र्धन कार्यक्रम सञ्चालन भइरहेको कार्यक्रम संयोजक रवीन्द्र शाहीले बताउनुभयो । उहाँका अनुसार अर्छानी–३ मा ३५ र लहँमा ५२ घरमा धारा निर्माण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका मन्त्री हरिबहादुर बस्नेतले बताउनुभयो ।

डेढ वर्षअघि जाजरकोटलाई खुला दिसामुक्त घोषणा गरिएपछि तयार पारिएको जिल्लाको सरसफाइ रणनीतिक योजनालाई टेवा पुग्ने गरी रेडक्रसले जिल्लाका तीनवटा गाविसमा काम गरिएको जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिका सचिव एवम् खानेपानी तथा सरसफाइ सवडिभिजन प्रमुख महेसी महतोले बताउनुभयो ।

रेडक्रसको रु १६ लाख ३२ हजार, गाविसको रु दुई लाख र श्रमदान रु छ लाख गरी रु २४ लाख ५० हजारमा खानेपानी आयोजना निर्माण भएको खानेपानी उपभोक्ता समितिले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button