च्याङ्ग्रा व्यापारीलाई भ्याइनभ्याई

बागलुङ –

दसैँ आगमनसँगै भेडाच्याङग्राको किनबेच बढेको छ ।

बर्सेनि दसैँमा एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा जिल्ला भित्रने गरेका छन् । म्याग्दी भकिम्ली–६ का अम्मरबहादुर खत्रीले ९० वटा च्याङ्गा बागलुङ ल्याएकोमा आधाभन्दा बढी बिक्री भइसकेको बताउनुहुन्छ । उहाँलगायत चार जनाको समूहले चार दिन लगाएर मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याएर बिक्री गर्दैआएका छन् ।

बागलुङका स्थानीय व्यापारीसँग समन्वय गरी उनीहरुले भेडाच्याङ्ग्रा भित्र्याउने गरेका छन् । उनीहरुले मुस्ताङबाट प्रति च्याङ्ग्रा रु १९ हजार ५०० तथा प्रति भेडा रु १८ हजारमा खरिद गरेर ल्याएका हुन् । “रु २२ हजारदेखि रु २४ हजारसम्ममा भेडाच्याङ्ग्रा बिक्री भइरहेको छ,” म्याग्दी ज्यामरुककोटका सरोज सुवेदीले भन्नुभयो ।

मुस्ताङ पुगेर भेडाच्याङ्ग्रा ल्याउनु कठिन काम भए पनि व्यापार राम्रो हुने देखेपछि यसो गर्दैआएको उहाँको भनाइ छ । अधिकांश ग्राहकको रोजाइ च्याङ्ग्रा रहने गरेको छ । बर्सेनि हजारौँको सङ्ख्यामा भेडाच्याङ्ग्रा मुस्ताङबाट अन्य जिल्लामा भित्र्याउने गरिएको छ ।

अहिले बजारका चोक–चोक र ग्रामीण भेगमा भेडाच्याङ्ग्रा व्यापारी पुगिरहेका छन् । पछिल्लो समय जिल्लामा विवाहको पहिलो वर्ष चेलिवेटीले माइतीकहाँ कोसेलीका रुपमा च्याङ्ग्रा लैजाने प्रचलन बढेको छ । भेडाच्याङ्ग्रा बाहेक ढोरपाटन क्षेत्रमा पाइने लेकाली भेडा र स्थानीय जातका खसी, बोकाको पनि बिक्री ह्वात्तै बढेको बताइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button