पोखरामा एक व्यक्तिको शोखले भित्रिएको खेल-स्क्वास्

केशव पाठक

पोखरा – 

Hot Air Balloon Booking
Paragliding Pokhara

कास्कीमा स्क्वास खेलले गति लिने मात्र नभई १५ वर्ष अघि आफ्नो स्वर्गिय श्रीमान राम प्रसाद कोइरालाले लिएको सपना पुरा हुने भए पछि रजनी कोइरालाको आँखामा हर्षको भेल थियो । उनी यति शौखिन थिए कि यसका लागि आफ्नै घरमा स्क्वास कोर्ट बनाए । यो बनाउन कम खर्चिलो पनि थिएन । तर उनको खेल प्रतिको लगावले घरमा नै कोर्ट बन्यो । त्यही कोर्ट यति बेला पोखराको स्क्वास खेल विकासको मेरुदण्ड नै बनेको छ ।

रजनीले भनिन – ‘उहाँ यो खेल प्रति सारै रुची राख्नु हुन्थ्यो मैले उहाँ लाई पटक पटक भने, भो यहाँ यो नबनाउ काठमाडौमा बनाउँ भने तर उहाँ मान्नु भएन’ । ‘२०६५ मा उनको देहवाशन भयो तर अहिले सबैको यस प्रतिको खेल प्रतिको रुची देखेर आफु गलत रहेको भान हुन्छ’ उनले भनिन । उनै राम प्रसादले आफ्नो देहवाशन अघि सम्म पोखराका केही युवाहरुलाई हात समातेर यो खेल खेल्न सिकाए । ति मध्येका एक हुन व्यवसायी प्रविन पालिखे । ‘दाईले संधै स्क्वास खेलौ खेलौ भनेर हौसाउनु हुन्थ्यो तर आफू स्कावास (पेय सर्वत) बेच्ने र त्यो मात्र बुझेकोले यो मान्छेले खेल्ने के खेल होला भनेर दङ्ग पर्थे ।’ ‘तर खेल सिके पछि छोडन सकिएन’ उनले भने ।

यस्तै अनुभव संगालेका अर्का व्यक्तीत्वहुन युवा व्यवसायी सन्तोष घिमिरे । उनलाई स्क्वास खेलको बारेमा खासै केही थाहा थिएन तर साथी भाईको संगतले त्यहाँ पुरयायो । अहिले यो खेल उनका लागि ‘प्यासन’ नै बनेको घिमिरे बताउँछन । १३ वर्षको अनुभब उनी संग छ । क्षेत्रिय च्याम्पियन समेत रहेका उनी भन्छन–‘दिनमा आधा घन्टा स्क्वास खेल्यो भने पुग्छ, आधा घन्टाले नै शारिरिक र मानसिक रुपले हामी स्खलित हुन्छौ सायद अरु खेलमा यस्तो हुँदैन होला ।’

नेपालमा यो खेल सन १९७९-८० को दशकमा छिरेको पाइन्छ । बेलायत बाट नेपाल छिरेको यो खेल नेपाली सेनाका तत्कालिन जनरल भरत केशर सिंहले नेपालमा भित्र्याएका थिए । १९८८ बाट यो खेलले पुर्ण व्यवसायिकता पाएको नेपाल स्क्वास तथा र्याकेट्स संघका केन्द्रिय अध्यक्ष किशोर महर्जनले बताए । ‘३५ वर्ष अघि सम्म नेपालमा यो खेलका लागि कमै मात्र कोर्ट थिए’ उनले भने ‘काठमाडौं र ललितपुरमा रहेका केही तारे होटलमा पर्यटकका लागि लक्षित गरि कोर्ट बनाइएका थिए तर पछि भत्काइए खेल्ने स्थानको अभाव संधै हुन्थ्यो ।’ तर अव त्यस्तो छैन संघको पहलमा यति बेला सातदोवाटो ललितपुरमा २ वटा अन्तराष्ट्रिय स्तरका ग्लास कोर्ट छन । यो संघले आफ्नै पहलमा निर्माण गरेको हो ।

‘यो यस्तो खेल हो एक दिन खेल्न पाइएन भने धेरै कुरा मिस गरेको अनुभव हुन्छ’ संघका केन्द्रिय कोषाध्यक्ष रुपकदाश ताम्राकारले वताए । ‘पोखरा पर्यटकको हव भएको कारण पो खेल पर्यटन पवद्र्धनका लागि पनि उत्तिकै महत्वपुर्ण रहने’ उनको भनाई थियो । ‘पोखरा घुम्न आउने पर्यटक मध्ये धेरै यो खेलका शौखिन हुन्छन । उनीहरुलाई पोखरामा पनि यो खेल खेल्न पाइन्छ भन्दा उनीहरुको बसाई लम्विन सक्छ’ ताम्रकारले वताए । सुरुमा पुर्वाधार बनाउन खर्च बढी लाग्ने भए पनि यो खेल निकै सस्तो रहेको उनको थियो । उमेरले पनि यो खेल खेल्न रोकिन्न । साना बाल बालिका देखि पाको उमेर सम्मका लागि उत्तिकै रुची रहेको हुन्छ । यदि पोखरामा पुर्वाद्धार बन्न सक्यो भने यो आगामी साग खेलका लागि पनि राम्रो हुने र एसियाली स्तरका खेलहरु पोखरामा आयोजना गर्न पोखरा उपयुक्त थलो हुने अध्यक्ष किशोर मर्हजनले वताए ।

नेपालले हालै भारतमा सम्पन्न साग खेलको टिम इभेन्टमा काश्य पदक जितेको थियो । तर यो खेलको बिकास एवम विस्तार गर्न विद्यालय स्तर बाट गर्नु पर्ने जिल्ला संधका अध्यक्ष पुष्पराज श्रेष्ठले बताउँछन । कास्कीमा हाल ३० जना खेलाडी रहेको र ति खेलाडी स्व. कोइरालाले आफ्नो निजी घरमा निर्माण गरेको कोर्टमा नै खेल्दै आएका छन । यो खेलको पुर्वाद्धार विकासका लागि आफुले सक्दो सहयोग गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम बहादुर गुरुङ्गले बताए । पुर्वाद्धार विकसका लागि पोखरा रंगशालामा जग्गा समेत छुटुयाइने उनले बताए ।

पोखरामा एक व्यक्तीको शोखले भित्रिएको खेलले अव विस्तारित रुप लिने भएको छ । कास्कीमा पुष्पराज श्रेष्ठको अध्यक्षतामा एक कार्यसमिती चयन गरि खेललाई स्थापित गराउन खोजिएको छ । कार्य समितीको उपाध्यक्षमा हिराकाजी श्रेष्ठ र रविन्द्र बाटाजु, सचिवमा प्रविन पालिखे, कोषाध्यक्षमा अशोक कुमार रन्जित र सहसचिवमा सन्तोष कुमार घिमिरे रहेका छन । कार्यसमितीको सदस्यमा प्रकाश केसी, विकास शाक्य, रक्ष लामा, गौतम उदास र मनोहर श्रेष्ठ छन । कास्की जिल्ला खेलकुदमा विकास समितीमा विधिवत दर्ता भएको संघहरुमा यो ८१ औं संघ हो ।

प्रचार प्रसारको अभाव र पुर्वाद्धारका कारण उकालो लाग्न नसकेको स्क्वास खेलले अव पोखरामा केही गति लिन सक्छ भन्ने कुरामा दुइ मत नहोला । तर पुर्वाद्धार बनाउनु आफैमा कम खर्चिलो छैन । स्व. कोइरालाको खेल प्रतिको लगाव र शोखका कारण भित्रिए पनि अव धेरै जिम्मेवारी नव गठित कार्य समितीमा आएको छ । पोखरेली युवा तथा व्यवसायीले यसको वागडोर सम्हालेका छन र उनीहरुलाई यो कार्य सम्पन्न गर्न र खेल प्रति जनचासो वढाउन उत्तिकै जिम्मेवार बन्नु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button