म्याग्दीको ताकममा कोतखोला खानेपानी योजना

पोखरा न्यूज- ९, असार ।

म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा कोतखोला तेस्रो खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएपछि घरघरमा खानेपानी सुविधा पुगेको छ ।

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना र भारतीय दूतावासको सहयोगमा ताकमका बासिन्दाले करीब दुई वर्ष लगाएर निजी धाराको सुविधा सहितको खानेपानी आयोजना निर्माण गरेका हुन् ।

रु दुई करोड ६७ लाखको लागतमा निर्माण भएको आयोजनाबाट साविक ताकम गाविसको ३, ४, ५, ६ र ९ नं वडाका ३३८ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिएका छन् ।

काफलडाँडाका ३० घरलाई नौवटा सार्वजनिक धारा र अन्य घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको छ । आयोजना निर्माणका लागि काठमाडौँस्थित भारतीय दूतावासले ६५ लाख ६७ हजार रुपैँया मूल्य बराबरको पाइप र सिमेन्ट सहयोग गरेको थियो । उपभोक्ताले रु ९१ लाख बराबरको श्रमदान गरेका छन् ।

प्रतिघर रु पाँच हजारका दरले रु ११ लाख ५४ हजार उपभोक्ताबाट संकलन गरिएको थापाले वताए । बाँकी रकम परियोजनामार्फत नेपाल सरकार, फिनल्याण्ड सरकार, जिल्ला समन्वय समिति र गाउँपालिकाले उपलब्ध गराएका छन् । विसं २०७३ वैशाख १७ गते सम्झौता भएको आयोजना निर्माण सम्पन्न भएपछि शुक्रबार परियोजनाको टोलीले स्थलगत अध्ययन र सार्वजनिक परीक्षण गरेको छ ।

मालिका गाउँपालिकाको जुक्जा र धौलागिरिको सिमानामा पर्ने कोटखोला, देउबुजा र हटिमुलको मुहानबाट प्रतिसेकेण्ड चार लिटरका दरले पानी आपूर्ति गरिएको छ । आयोजनाको दिगो सञ्चालन र उपभोक्ताको सुविधाका लागि मिटरसहितको निजी धारा जडान गरिएको हो ।

जम्मा १३ वटा रिजर्भ ट्यांकीबाट खानेपानी वितरण गरिएको छ । यसअघि ताकममा मागअनुसार आपूिर्त नहुँदा हाल खानेपानीको समस्या रहेको थियो । घरघरमा खानेपानी आउन थालेपछि धाराबाट गाग्री, ग्यालिन, बाल्टिनबाट खानेपानी ओसार्नुपर्ने बाध्यता हटेको स्थानीयवासी गोपाल आचार्यले बताए । समयको बचत भएको छ । सरसफाइमा सहयोग पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button