कुश्माको ६ रोमाञ्चक पुुल

पोखरा न्यूज –२०, मंसिर ।

पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार अर्थात् ‘कुशुमपुर’ यहाँका प्राकृतिक छटा तथा मानव निर्मित संरचनाका कारण पछिल्लो समय पर्यटकीय नगरीको रुपमा विकास हुँदै गइरहेको छ ।

दुई पवित्र नदी मोदी र कालीगण्डकीले खियाएका कारण बनेका गल्छिनाबाट ओर्ली–उक्ली गरेर कुश्मा पुग्न झण्डै डेढ घण्टा लाग्छ । टाढाबाट हेर्दा कुश्मा, ज्ञादी, बलेवा र फलेवास एउटै समथर उपत्यकाको रुपमा देख्न सकिन्छ । झट्ट हेर्दा ठूलै उपत्यकाको झल्को दिने यो ठाउँ यिनै दुई नदीका कारण प्राकृतिक रुपमा विभाजन भएको छ । विकासका दृष्टिकोणले ऊर्जा नदीको रुपमा परिचित मोदी र पुराणमा समेत पवित्र नदीको रुपमा वर्णित कालीगण्डकी यहाँको अथाह सम्भावना बोकेका नदीहरु हुन् ।

शुरुमा यी अग्ला डाँडाबाट पुल राख्ने परिकल्पना गर्नेहरुसमेत धेरैको नजरमा ‘पागल’ सावित हुन्थे । अन्ततः विदेशमा रहेको यो प्रविधि नेपालमा पनि भित्रियो । विसं २०६७ मा नेपालकै अग्लो पुलको नामबाट कुश्मा–ज्ञादी झोलुङ्गे पुलले प्रख्याति कमाएपछि पर्यटकीय नगरी कुश्मामा अरु पुलहरु थपिँदै गए र कुश्माले अग्ला पुलको इतिहास रच्दै गयो । विसं २०७० मा कुश्मा–कैया झोलुङ्गे पुल दोस्रो पुलको रुपमा निर्माण भयो भने विसं २०७३ मा तेश्रो पुलको रुपमा कुश्मा–मुडिकुवा झोलुङ्गे पुल निर्माण भयो । यो सँगै तीन वटा लामा र अग्ला झोलुङ्गे पुल निर्माण भइसकेका छन् । अर्को कुश्मा–खरेहादेखि अधिकारीफाँटसम्मको करीव ३०० मिटर लामो पुल मोदीखोलामाथि निर्माण भइरहेको छ ।

त्यसैगरी नेपालकै प्रविधिज्ञहरुद्वारा निर्माण गरिएको कुश्मा–बलेवा यान्त्रिक पुल २०६९ सालमा सञ्चालनमा आयो । यसले आन्तरिक अध्ययन, अवलोकनका लागि आउने पर्यटक तथा वाह्य पर्यटकहरुलाई राम्रै आकर्षण गर्न सकेको छ । यो प्रविधि नेपालमै पहिलो पटक भित्र्याइएको यान्त्रिक पुलका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । पर्यटकलाई लक्ष्य गरेर गत वर्षदेखि निर्माण प्रारम्भ गरिएको कुश्मा–नेपाने साहसिक पुल (ह्याङ्गिङ पुल) तथा बञ्जी यस वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ । यो साहसिक पुलमा करीव ८० मिटर फल्याक बिछ्याउने काम भइरहेको छ । अबको दुई महिनाभित्रै यो पुलको निर्माण कार्य सकिने सञ्चालक राजु कार्कीले  बताए । एशियाकै दोस्रो अग्लो बञ्जी (प्राकृतिक भू– बनोटका आधारमा विश्वकै प्रथम अग्लो दावी गरिएको) को रुपमा निर्माण भइरहेको सो साहसिक पुल नदीदेखि २१५ मिटरको उचाइमा निर्माण भएका कारण पर्यटकको रोजाइमा पर्ने विश्वास कार्कीले व्यक्त गरे ।

निर्माणाधीन र निर्माण सम्पन्न भएका ६ वटा लामा र अग्ला पुलले कुश्मा यतिबेला पर्यटकीय क्षेत्रमा अग्लिएको छ अर्थात् आफ्नो परिचय विश्वसामु दिन सफल भएको छ । व्यापारिक ‘हब’को रुपमा विकास हुन नसकेपछि पर्यटकीय स्थलका पहिचान बनाउन यहाँ ठूल्ठूला होटलहरुसमेत निर्माण भइरहेका छन् । यहाँका अग्ला र लामा पुल प्रेमिल जोडीहरुका लागि समेत गतिलो गन्तव्यको रुपमा विकास भइरहेका छन् ।

“पुलका कारण यहाँको पर्यटन वृद्धि भइरहेको छ, अब कुश्मालाई पर्यटकीय शहरको रुपमा विकास गर्नुको विकल्प छैन,” पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्माले भने – “हामीले पर्यटकलाई लक्ष्य गरेर भौतिक संरचना निर्माण गर्न, पर्यटकमैत्री व्यवहार गर्न तथा सोही अनुसारको व्यापार व्यवसाय गर्न व्यवसायीहरुलाई आह्वान गरेका छौं ।”

कुश्मा बजारलाई यतिबेला नेपालकै अग्ला र लामा पुलैपुलहरुले अड्याएको छ । यहाँको मुख्य आयस्रोत पर्यटन बन्दै गएको छ । नगरलाई कसरी पर्यटकीय गन्तव्य बनाउने भन्नेबारेमा स्थानीयवासीहरु जागरुक देखिन थालेका छन् ।

कुश्माबजारमा रहेका यी तीन प्रविधिका पुलहरुबाट फरक फरक तीन अनुभव (स्वाद) लिन सकिन्छ । कुश्मा–ज्ञादी, कुश्मा–कैया र कुश्मा–मुडिकुवा झोलुङ्गे पुलबाट विभिन्न प्राकृतिक दृश्य तथा छटा अवलोकन गर्दै नेपालकै अग्ला र लामा पुल तरेको अनुभव बटुल्न सकिन्छ । त्यस्तै, यहाँकै प्रविधिज्ञहरुले निर्माण गरेको नेपालकै पहिलो कुश्मा–बलेवा यान्त्रिक पुलबाट केबुलकारमा यात्रा गरेको अनुभव बटुल्न सकिन्छ । यो पुल केबुलकार मोडलमा निर्माण गरिएको छ । सुरक्षित कारहरु तारमा झुण्डाइएको र सोही कारभित्र बसेर तारको माध्यमबाट वारपार गर्न सकिने प्रविधि जडान गरिएको छ । यसको एउटा कारमा आठजनाले यात्रा गर्न सकिन्छ । यसमा दुई वटा कारहरु जडान गरिएका छन् । यो पुल पर्वत उद्योग वाणिज्य सङ्घको पहलमा निर्माण भएको हो ।

गत वर्षदेखि निजी स्तरबाटै निर्माण प्रारम्भ गरिएको कुश्मा–नेपाने साहसिक पुल ह्याङ्गिङ पुल) तथा बञ्जी जम्प निर्माणको अन्तिम तयारीमा भए पनि हेर्न आउनेहरुको अहिल्यैदेखि भीड लाग्न थालेको छ । यस साहसिक पुलमा बञ्जी जम्प, स्वीङ, स्काई साइक्लिङलगायतका गतिविधि सञ्चालन गरिने सञ्चालक युवराज जोशी बताउनुहुन्छ । उहाँका अनुसार यो पुल सहजै तर्न समेत गाह्रो पर्छ । विशेष गरी विदेशी पर्यटकलाई लक्ष्य गरेर यो साहसिक ह्याङ्गिङ पुल निर्माण गर्न लागिएको हो । कुश्मा आउने पर्यटकहरुले दृश्यावलोकनसहित अग्लो–लामो, केबुलकार र ह्याङ्गिङ (साहसिक) पुल गरी तीन वटाबाट फरक फरक स्वाद चाख्न पाउने छन् ।

पछिल्ला दिन आन्तरिक पर्यटकका अलावा विदेशी पर्यटक र समूह, संस्था तथा विद्यालय, महाविद्यालयका भ्रमणहरुले पुल क्षेत्र व्यस्त रहने गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button