कालिकोटको घटनाबारे काँग्रेसद्धारा दुःख व्यक्त

काठमाडौँ । नेपाली काँग्रेसले कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरामा पुरिएर १० जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । नाग्मामा आइतबार दिउँसो गएको पहिरामा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएका थिए ।

काँग्रेसले सोमवार एक प्रेस विज्ञप्तिमार्फत उक्त घटनामा जीवन गुमाउनुभएका सम्पूर्णमा श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्र्दै पीडित परिवारलाई राहत र स्वास्थ्योपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

यसैगरी काँग्रेसले कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं १ का पार्टीका क्षेत्रीय सभापति एवं वुद्धभूमि नगरपालिका-७ का वडाध्यक्ष राजेश्वर सिंहको निधनप्रति दुःख व्यक्त गरेको छ । सिंहको आइतार भैरहवा अस्पतालमा उपचारका क्रममा ७० वर्षको उमेरमा निधन भएको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवाले सोमबार एक शोक विज्ञप्तिमार्फत सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । स्व सिंहले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

साथै सोही जिल्लाको मायादेवी गाउँपालिका–२ का पार्टीका सभापति मोहनी हासन मुसलमानको निधनप्रति पनि दुःख व्यक्त गरिएको छ । मुसलमानको आइतबार भारतको गोरखपुरमा उपचारका क्रममा ६५ वर्षको उमेरमा निधन भएको हो । स्व मुसलमानले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।

यसैगरी काँग्रेसले पार्टीको पाल्पा-काठमाडौँ सम्पर्क समितिका अध्यक्ष एवं पार्टीका क्षेत्रीय प्रतिनिधि खिमानन्द बस्यालका पिता चोपलाल बस्यालको निधनप्रति दुःख व्यक्त गरेको छ । चोपलाल बस्यालको आइतबार समिट अस्पताल, लोकन्थलीमा उपचारका क्रममा ७७ वर्षको उमेरमा निधन भएको हो । स्व बस्यालले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button