राम्रो संगीतकार बन्ने सपना छ :रोम तामाङ

संगीतले बाच्ने आधार दिएको छ

पोखरा । संगीतकार रोम तामाङको जन्म कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर १८ लामागाउँमा भएको हो । उहाँ बाल्यकालमा लजालु स्वभावको हुनुहन्थ्यो । खासै अरुसँग नखुल्ने टाइपको उहाँको बानी थियो । संगीत प्रति रुचि भने थियो ।

लामागाउँमा दाईभाइले गितार बजाउदा उहाँ आर्कषित हुनुहुन्थ्यो । उहाँहरुकै संगतमा संगीततर्फको मोह झनै बढ्यो । गितार भेटाउनासाथ बजाउन खोज्ने उहाँको बानी थियो । यसले केही जानकारी उहाँमा थपियो । त्हाँका दाजुभाईले एउटा व्याण्ड स्थापना गरेका थिए । उनीहरुले बेला-बेलामा कन्र्सटहरु गर्ने गर्थे । यस्ता गतिविधि देख्दा रोमको संगीतमा लगाव झनै बढ्यो ।

उहाँले स्कुल लेभलको अध्ययन पोखरा १ टुडिखेलमा रहेको राष्ट्रिय माविबाट पुरा गर्नुभयो । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनगर्ने क्रममा विद्यालयमा आयोजित प्रतियोगितामा पहिलोपटक भाग लिनुभयो । तीन जना साथी मिलेर लोेक गीत गाउनुभयो । रोमको नृत्यमा समेत रुचि थियो । गीत गाउँदै नृत्य समेत गर्नुभयो । यसरी प्रस्तुति राख्दा पाएको सर्पोटले उहाँमा उर्जा थपियो । फलस्वरुप कक्षा ९ मा अध्ययन गर्दाबाट गीत लेख्ने र संगीत भर्ने काम गर्न थाल्नुभयो । म्युजिकलाई बुझ्ने आफै गीत बनाउने क्रमलाई निरन्तरता दिनुभयो ।
परिवारमा सांगीतिक माहोल भने थिएन । बाबा आमा र तीनजना दाजुभाइ रहेको उहाँको परिवारमा आर्थिक अवस्था मजबुत थिएन । सोही कारण उहाँमा मनका कति रहर मनमानै रहे । संगीत क्षेत्रमा केही गर्ने अठोट भने उहाँको मनमा थियो ।

‘कसैको पिरतीमा म त एक्लै हरायछु’ गीत उहाँले आवाज भरेको डेब्यु गीत हो । यो उहाँले संगीत सिक्नुभन्दा अगाडि २०६० सालमा रेर्कड गराउनुभएको थियो । धुव्र गैरेले रचना गरेको यो गीतमा संगीत समेत रोमकै थियो । संगीत संयोजन भने सुनिल थापाले गर्नुभएकोे हो । यसका अलावा भजन, पप गीत, राष्ट्रिय गीत र पोखरा सम्बन्धी गीतमा उहाँले आवाज भरिसक्नुभएको छ । केही गीत रचना गर्नुभएका रोमले संगीत गरेको गीत तीन दर्जन बढी छन् ।

पहिलो गीत रेर्कड गरेपछि संगीत सिकेर निखारता थप्ने रहर उहाँका पलायो । संगीत प्रशिक्षण केन्द्र विन्ध्यवासिनीमा उहाँ सिक्नका लागि पुग्नुभयो । २०६१ बाट निरन्तर संगीत प्रशिक्षण केन्द्रमा उहाँ रहनुभएको छ । पहिला विद्यार्थीको रुपमा रहनुकभएका रोम कार्यालय सचिव हुँदै अहिले प्रशिक्षकको रुपमा कार्यरत हुनुहुन्छ ।

म जे काम गर्छु संगीतमानै गर्छु भन्ने मानसिकता कक्षा ९ पढ्ने क्रम बाटनै बनेको उहाँ बताउनुहुन्छ । यस्तोे मानसिकता मनमा आएपछि आफुलाई सोही अनुसार विकास गर्दै जानुभयो । ‘स्कुलमा संगीतको शिक्षक बनेर काम गर्छु, विद्यार्थीलाई सिकाउछु भन्ने लक्ष्य थियो । त्यसलाई साकार पार्नको लागि आफ्नो क्षमताको विकास गर्दै गए । अहिले तीनवटा स्कुलमा आवद्ध छु’ पोखरा न्यूसँग कुरा गर्दै रोमले भन्नुभयो । उहाँले संगीत प्रशिक्षण केन्द्र र पोखरा थिएटरबाट समेत अहिले संगीत सिकाउने गुर्नुहुन्छ ।

सांगीतिक क्षेत्रमा आफ्नो सिर्जना निकाल्ने मात्र नभएर आफुलाई बाच्ने आम्दानी संगीतबाटनै प्राप्तहोस् भन्ने हिसाबले उहाँले आफुलाई ढाल्दै लानुभएको थियो । अहिले कोरोना महामारीका कारण उहाँको दैनिक कार्यमा असर भने परेको छ । स्कुलमा कला विधा अन्र्तगतको संगीतलाई अतिरिक्क्त क्रियाकलाप अन्र्तगत राख्ने भएकोले यो बेला रोकिनु परेको छ । सामान्य अवस्था हुँदा जीवन धान्नको लागि संगीतको क्षेत्र पर्याप्त बनेको थियो । फेरि सामान्य अवस्था फर्किएर पुरानै रफ्तारमा अगाडि बढ्न पाइने आशा उहाँको छ ।
रोमको सपना राम्रो संगीतकार बन्ने छ । ‘राम्रो संगीतकार बन्ने सपना छ । संगीतकै क्षेत्रमा काम गर्ने रहर हो । राम्रो-राम्रो गीत निकाल्ने मात्र नभएर प्रतिभावान विद्यार्थी उत्पादन गर्ने सपना छ’ उहाँले भन्नुभयो ।

आफूसँग संगीत सिक्न आउने विद्यार्थीलाई संगीतको ‘बेसिक’ कुराहरु राम्रोसँग बुझिनेगरी सिकाउन सक्छु भन्ने आँट उहाँमा छ । अहिले संगीत सिक्न खोज्ने बच्चा देखि युवा हुँदै वृद्ध सम्म रहेको उहाँले खुलाउनुभयो । हार्मोनियम सिक्ने, मादल बजाउन सिक्ने, गीत गाउन सिक्ने, ताललाई बुझ्ने, सुरलाई बुझ्ने उद्धेश्य लिएर आउने विद्यार्थीलाई बुझाउन कुरामा आफू सफल भएको उहाँको विश्वास छ ।

उहाँको अबको योजना स्कुलमा संगीत सिकाउने काममा निरन्तरता दिने रहेको छ । स्कुल बाहेक बिहान र बेलुकाको समय समेत प्रशिक्षणमा व्यस्त हुने उहाँको योजना हो । गीत संगीततर्फका नयाँ सिर्जनामा लाग्दै क्रियाशीलता बढाउने समेत उहाँको लक्ष्य हो । उहाँले पोखराको ग्रैहापाटनमा रहेको पोखरा थिएटर नजिकै कला क्याफे खोल्नु भएको छ । बाँकी समय सोही क्याफेलाई दिनुहुनेछ ।
रोमसँग दोहोरी साँझमा ५ वर्ष काम गरेको अनुभव छ । उहाँले गाउँ शहर र वर पिपलदोहोरी साँझमा काम गर्नु भएको थियो । दोहोरी साँझ संगीतका विद्यार्थीको लागि राम्रो पाठशाला भएको उहाँ बताउनुहुन्छ ।

रोम भन्नुहुन्छ-‘दोहोरी साँझको बारेमा आम मानिसको धारणामा एकरुपता छैन । बुझाई गलत समेत छ । कसरी बुझ्ने भन्ने स्वंम मानिसमा भर पर्छ । संगीतमा केही गर्न चाहने र लोक संगीतलाई बुझ्न खोज्नेका लागि दोहोरीमा काम गर्दा फाइदा हुन्छ । निखारिने अवसर पाइन्छ । साँझ ७ बजेदेखि राती ११ बजेसम्म निरन्तर लोक गीत सुन्न पाइन्छ । कस्तो गीत बजारमा आएको छ थाहा हुन्छ । टप्पा हो की झ्याउरे होकी, ख्याली हो की, बाजाको तालहरु सबै कुरा सुन्दै ती तालसँग आफु भिज्ने मौका पाइन्छ । जानकारी नभएका नयाँ कुरा सिक्न पाइन्छ । संगीत सुन्दा समेत ज्ञान बढ्छ । सोही कारण दोहोरी साँझ संगीत सिक्नेको लागि विद्यालय हो ।’

रोमले चिप्लेढुंगामा रहेको ओपन हाउस रेष्टुरेन्ट सहित लेकसाइडका गजल, बार र रेष्टुरेन्ट मार्फत आफ्नो प्रतिभा सुनाइसक्नुभएको छ । संगीत क्षेत्रबाट भएको आम्दानी प्रति उहाँ सन्तुष्ट हुनुहुन्छ । ‘संगीतबाट नै आफ्नो गुजारा चलाउने बाटो खन्दै गए । स्कुलमा आवद्ध भए । विहान बेलुका संगीत प्रशिक्षणमा व्यस्त भए । एरेन्जको कामलाई समेत अगाडि बढाए । कहिलकाही कार्यक्रममा हिडे । सोही कारण बाच्नका लागि समस्या भएन’ उहाँ भन्नुहुन्छ ।

सांगीतिक क्षेत्रमा अगाडि बढ्न खोज्नेले संगीत सिक्नुपर्नेमा उहाँको जोड छ । संगीत भनेको स्वर मात्र हैन । कार्यक्रममा जाँदा वा गीत सुनाउँदा बाजासँग भिज्नुपर्छ । तालसँग भिज्नुपर्छ । सुरसँग भिज्नुपर्छ । राम्रो गाउँछ भनेपनि कुन ताल हो बाद्यवादकलाई भन्न सक्नुपर्छ । ‘कड’ के हो थाहा हुनुपर्छ । संगीतमा यसले धेरै अर्थ राख्छ । यही कुरा बुझाउनका लागि संगीत सिक्नुपर्छ ।

आफूले संगीत सिकाउदो एकदमै वेसिक कुरालाई बढी ध्यान दिने उहाँको बानी छ । ‘सरगम जान्यो भनेपनि संगीतको बारेमा धेरै कुरा जानिन्छ । संगीतको वेसिक कुरा राम्रो भयो भने उनीहरुले नयाँकुरा खोज्ने मौका पाउँछ । सोही कारण मैले वेसिक कुरामा विद्यार्थीको निखारता थप्न खोज्छु’ उहाँले सुनाउनुभयो ।रोमलाई लोक विधामा अझै धेरै घोत्लिन मन छ । आफूले थप ज्ञान लिने र सिकाउने उहाँको रहर हो । लोकलयमा आधारित गीतलाई प्राथमिकता दिने चाहना उहाँमा छ ।

पछिल्लो क्रममा संगीत सिक्न खोज्नेको लागि पोखरामा पर्याप्त संगीत सिकाउने ठाउँ रहेका छन् । पोखराको सांगीतिक माहोल समेत राम्रो छ । प्रतिभा भएकोलाई अवसर छ । त्यसको लागि मेहनत भने गर्नुपर्छ । पोखरामा कार्यक्रमको आयोजना भइरहने हुँदा अगाडि बढ्न खोज्नेले ‘प्लार्टफम’ पाउँछन् । रोम संगीतबाट सबैकुरा पाएको बताउनुहुन्छ । ‘संगीतमा नलागेको भए आफू यतिबेला अरबको कुनै ठाउँमा हुन्थे । जे दियो खुशी छु । सानोतिनो नाम दिएको छ । सिकाउन पाएको छु । संगीतले बाच्ने आधार दिएको छ । मुख्य कुरा यही हो’ उहाँले भन्नुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button