पोखराको जनप्रिय माविको एकल नाटक ‘लगानी’ प्रदेशमै द्धितीय

शनिबार पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुने

पाेखरा न्यूज सम्वाददाता । पोखरा थिएटरले आयोजना गरेको गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सवमा पोखराको जनप्रिय माध्यमिक विद्यालयले तयार पारेको नाटक ‘लगानी’ द्धितीय हुन सफल बनेको छ । संगम लामिछानेको लेखन, निर्देशन र अभिनय रहेको यो नाटक चैत्र १४ गते दिउँसो २ बजे पोखरा गैह्रापाटनको गन्धर्व नाटकघरमा मञ्चन हुनेछ । लामिछाने जनप्रिय माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुनुहुन्छ । उहाँको नाटकप्रति रुचि छ । उहाँले आफ्नो अभिनयप्रतिको मोहलाई साकार रुप दिनको लागि कार्यशालामा सहभागी बनेर नाटकको बारेमा आफ्नो बुझाइलाई परिपक्क समेत बनाउनुभएको छ ।

उहाँले यस अगाडि नै थिएटर मार्फत विभिन्न नाटकमा आफ्नो अभिनय कला प्रस्तुत गरिसक्नु भएको छ । शनिबार मञ्चन हुने नाटकलाई थप आर्कषक बनाउन उहाँले मेहनत गरिरहनुभएको छ । प्रदेश स्तरीय नाटक महोत्सवमा द्धितीय भएकोमा उत्साहित भएको बताउनु भएका उहाँले मञ्चन पश्चात दर्शकको थप माया पाउने आशा व्यक्त गर्नुभयो । अध्ययनको अलावा कलाकारिता क्षेत्रमा स्थापित बन्ने सपना उहाँले बनाउनुभएको छ ।

जनप्रिय माविका प्रधानध्यापक देवि प्रसाद बस्ताकोटीले विद्यालयले विद्यार्थीमा भएका अन्तरनिहित क्षमता प्रस्फुटन गर्ने वातावरण निर्माण गर्ने गरेको बताउनुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थी संगम लामिछानेले तयार पारेको एकल नाटक गण्डकी प्रदेशमानै द्धितीय हुन सफल भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । विद्यार्थीको मेहनत, लगावका कारण यो सम्भव भएको उहाँको भनाई छ ।

२०१४ सालमा भानु प्राइमरीको नामबाट पढाइ सुरु भएको यो विद्यालय २०२५ सालमा जनप्रिय निम्न माध्यामिक विद्यालय, २०४१ सालमा जनप्रिय माध्यमिक विद्यालय, २०६१ सालमा जनप्रिय उच्च माध्यमिक विद्यालय हुँदै २०७३ सालबाट जनप्रिय प्राविधिक विद्यालयको रुपमा पठनपाठन गर्न थालेको थियो । हाल नर्सरी देखि कक्षा १२ सम्म पढाई हुने जनप्रिय माध्यमिक विद्यालयमा १ हजार ५ सय ५० जना विद्यार्थी अध्ययनरत रहेका छन् । यसैगरी शिक्षक तथा कर्मचारी गरेर विद्यालयमा ६९ जना कार्यरत रहेको प्रधानध्यापक बस्ताकोटीले पोखरा न्युजलाई बताउनुृभयो । विद्यार्थीमा भएका अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्न विद्यालयले सधैं सकारात्मक सर्पोट तथा प्लार्टफमहरु प्रदान गर्दै आइरहेको उहाँले सुनाउनुभयो ।

प्रदेश स्तरीय विद्यालय नाटक महोत्सवका लागि गण्डकी प्रदेशका कास्की, गोरखा, तनहुँ, स्याङजा, बागलुङ, पर्वत, नवलपुर, म्याग्दि, तनहुँ, लमजुङ गरी १० जिल्लाका कुल ४० नाटक सहभागी भएका थिए । जसमध्य भानुभक्त आवसिय माध्यामिक विद्यालय, कास्कीले तयार पारेको ‘न्यायको खोजी’ नाटक उत्कृष्ट बन्न सफल भएको थियो । जनप्रिय माध्यामिक विद्यालय, कास्कीले तयार पारेको ‘लगानी’ नाटक द्धितीय भयो । पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नम्बर ३ बेनीमा रहेको न्यु होराइजन माध्यमिक विद्यालयले तयार पारेको नाटक ‘अभाव’ तृतिय बनेको थियो । सत्यवती माध्यामिक विद्यालय, तनहुँले तयार पारेको ‘कोरोनाको शैक्षिक प्रभाव’ सहित बाराही माध्यामिक विद्यालय कास्कीले तयार पारेको ‘म पछाडिको मेरो सत्य’ नाटक सान्त्वना भएको थियो ।

प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने ५ वटै नाटकलाई चैत्र १४ गते विश्व रंगमञ्च दिवसको अवसरमा गन्धर्व नाटकघरमा प्रत्यक्ष मञ्चनसँगै पुरस्कार वितरण गरिने आयोजक पोखरा थिएटरले जनाएको छ । यो महोत्सव गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा आयोजना गरिएको हो ।

नाटक महोत्सवको शुभारम्भ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गर्नुहुनेछ । यसैगरी नाटक महोत्सवको समापन कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ सहभागी बन्ने तय भएको छ ।

गत वर्षदेखि पोखरा थिएटरले विद्यालय स्तरिय नाटक महोत्सवको आयोजन गर्न थालेको हो । पहिलो संस्करणको महोत्सव पोखरा महानगरपालिका स्तरीय थियो । गण्डकी प्रदेश सरकारको सहयोगले यसपाली प्रदेश स्तरिय महोत्सव आयोजना गर्न सम्भव भएको महोत्सव संयोजक परिवर्तनले बताउनुभयो । महोत्सवको नारा ‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ रहेको छ ।

पुरस्कृत हुने ५ वटै नाटकलाई भौतिक उपस्थितीमा पोखरा थिएटरको गन्धर्व नाटक घरमा मञ्चन गर्न लागिएको हो । प्रथम पुरस्कार पचास हजार रुपैयाँ, द्वितीय पुरस्कार नगद पच्चिस हजार रुपैयाँ, तृतीय पुरस्कार १२ हजार ५ सय रुपैयाँ र सान्त्वना पुरस्कार पाँच हजार रुपैयाँ समेत रहेको छ । विश्व रंगमञ्च दिवसको अवसरमा नाटक मञ्चन तथा पुरस्कार वितरण कार्यक्रम हेर्न चाहने नाटक पारखीको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजक पोखरा थिएटरले जनाएको छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button