पोखरा म्याराथन ५ किलोमिटर दौडको उपाधि छात्रतर्फ विवेक र छात्रातर्फ नम्रतालाई

पोखरा न्यूज ।  १५ औँ संस्करणको पोखरा म्याराथन अन्तर्गत पोखरामा शनिबार सम्पन्न ५ किलोमिटर छात्र तर्फ विवेक परियार र छात्रातर्फ नम्रता गुरुङले जितेका छन् ।

नेपाली अग्रज खेलाडीहरूको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा सम्पन्न दौडमा छात्रतर्फ ज्ञान ज्योति इङ्लिस बोर्डिङ स्कुल माछापुच्छ्रे लाहाचोकमा अध्ययनरत कास्कीका विवेक परियारले जितेका हुन । उनले उक्त दौड २१ मिनेट ५२.३० सेकेन्डमा पुरा गरेका थिए ।

यसै गरी छात्रातर्फ भानु मावि तनहुँमा अध्ययनरत नम्रता गुरुङले जितेकी छन् । उनले उक्त दौड २८ मिनेट १०.१ सेकेन्डमा पुरा गरेकी थिइन । दुवैले दौड जिते सँगै नगद जनही १०–१० हजारका साथमा मेडल, प्रमाणपत्र र मायाको चिनो प्राप्त गरे ।
त्यसै गरी पदमोदय मोडल स्कुल दाङका छात्र गृष राना मगरले २२ मिनेट ०२. ५० सेकेन्डमा पुरा गर्दै दोस्रो भएका छन् भने श्री ज्योति मावि नवलपरासीका आशिष् पोखरेल २२ मिनेट २२.३० सेकेन्डमा पुरा गर्दै तेस्रो भएका छन् ।

यता छात्रातर्फ पदमोदय मोडल सेकेन्डरी स्कुल दाङ घोराहीकी वन्दना चौधरीले ३० मिनेट १२.२० सेकेन्डमा पुरा गर्दै दोस्रो भइन भने उदय मावि धम्पुस माछापुच्छ्रेकी बिनु बिक ३१ मिनेट ४८.२० सेकेन्डमा दौड पुरा गर्दै तेस्रो भइन ।
प्रतियोगितामा दोस्रो र तेस्रो हुनेले धावकले क्रमशः जनही नगद ७ र ४ हजारका साथमा मेडल, प्रमाण र मायाको चिनो प्राप्त गरेका छन् ।

विजयी खेलाडीहरूलाई पोखरा महानगर पालिकाका उपप्रमुख मञ्जु देवी गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, गैर आवासीय नेपाली संघ युकेका प्रमुख संरक्षक मेजर डम्बर घले ‘एम भि ओ’, सहारा युकेका पूर्व अध्यक्ष दिलीप गुरुङ ‘एम वि ई’, पोखरेली मञ्च युके तथा तमु धिं युकेका कोषाध्यक्ष कमल गुरुङ, तमु धिं युकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ, एनआरएन युकेका पूर्व अध्यक्ष मुछेतिर गुरुङ, पोखरेली मञ्च तथा तमु धि युकेका सल्लाहकार दिलरास गुरुङ, लाल काजी गुरुङ, भोज बहादुर गुरुङ, भूम्दीकोट समाज पोखराका अध्यक्ष सु.मे. ज्ञान बहादुर गुरुङ, सचिव कृष्ण गुरुङ, प्रतियोगिताका संयोजक हरि प्रसाद पराजुली, महासचिव खेम गुरुङ लगायतले नगद, मेडल, प्रमाणपत्र र मायाको चिनो वितरण गरेका थिए ।

सो अवसरमा पोखरा महानगर पालिकाकी उप प्रमुख गुरुङले हिमाली सांस्कृतिक परिवार अध्यक्ष मेनकाजी गुरुङलाई सांस्कृतिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै नगद ५ हजार प्रदान गरेकी छन् भने भुम्दीकोट समाज पोखराले समेत हिमाली सांस्कृतिक परिवारलाई नगद ५ हजार प्रदान गरेको छ ।

दौडमा सहभागी कान्छो उमेरका २ जना खेलाडीहरूलाई भुम्दीकोट समाजले प्रोत्साहन स्वरूप नगद १–१ हजार प्रदान गरेको छ । प्रतियोगितामा ७ वर्ष देखि १६ वर्ष उमेर समूहका खेलाडीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम मञ्चका अध्यक्ष एवम् गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङको अध्यक्षतामा भएको थियो । सफल दूधको मुख्य प्रायोजनमा १५ औँ संस्करण अन्तर्गत उक्त दौड प्रतियोगिता भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button