
पोखरा न्यूज । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ वार्डमा उपचाररत एक सुत्केरी महिलासहित ६ जनाको अक्सिजन अभावका कारण ज्यान गएको छ । हाइफ्लो अक्सिजन दिएर अस्पतालमा उपचार गराइरहेका प्रदेशका विभिन्न जिल्लाका बिरामीले समयमा अक्सिजन नपाउँदा ज्यान गुमाउनुपरेको हो ।
अस्पतालमा आवश्यकता अनुरूप अक्सिजनको आपूर्ति नहुँदा बिरामीहरूले ज्यान गुमाउनुपरेको प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले स्वीकार गर्नुभयो ।
उहाँले भन्नुभयो ‘अस्पतालमा अक्सिजन सिलिन्डरलाई दैनिक १०० वटाका दरले रोटेसन गराइरहेका थियौ, एक पटकमा ३ देखि ४ वटा मात्र अक्सिजन सिलिन्डर उपलब्ध हुन्थ्यो, त्यही पनि समयमा भरेर नआउदा यस्तो स्थिति आयो ।‘ आफूहरूले रातदिन खटिदा समेत अक्सिजन नपाएको उहाँको भनाई छ ।
‘हामीसँग भएका अक्सिजन सिलिन्डर रातदिन खटिदा समेत भर्न सकेनौ अस्पतालमा ४०० सयको हाराहारीमा अक्सिजन सिलिन्डर चाहिन्छ तर रोटेसन गराएर १०० वटा सिलिन्डरलाई मात्र भर्ना पाएका थियौ, त्यही पनि भरेर समयमा पाएनौ’, उहाँले भन्नुभयो ।
अक्सिजन खोजिदिनुहोस्
सरकारी अस्पताल भएर पनि आफ्नै अक्सिजन प्लान्ट नभएकोले निजी स्तरबाट सञ्चालित अक्सिजन प्लान्ट उद्योगबाट न्यूनतम मागअनुसार आपूर्ति नहुँदा यस्तो समस्या देखिएको भन्दै उहाँले अक्सिजन खोजिदिन आग्रह गर्नुभयो । ‘अस्पतालमा अझै पनि हाइफ्लो अक्सिजन दिनुपर्ने बिरामीहरू हुनुहुन्छ, म दिनरात खटिएको छु, मागे जति त परै जाओस् न्यूनतम अक्सिजन सिलिन्डर समेत भर्न सकिएको छैन । बिरामीको चाप बढ्दै छ , अक्सिजन खोज्न सबैले मद्दत गरिदिनुहोस् । ‘
अस्पतालमा अहिले पनि १३ जना बिरामीलाई हाइफ्लो अक्सिजन दिएर राखिएको बताउँदै उहाँले अक्सिजन दिनपर्ने बिरामीको संख्या बढ्दै गएकोले थप अक्सिजनको व्यवस्था गर्न कठिनाइ भएको बताउनुभयो । कुल ५० जना क्षमताको कोरोना वार्डमा भरिएको र त्यसबाहेक इमर्जेन्सी वार्डमा समेत कोरोनाका बिरामी भर्ना भएकोले तत्काल अक्सिजनको प्रबन्ध गर्न नसके अवस्था जटिल हुने निर्देशक खत्रीको भनाई छ ।
अभाब छैन : स्वास्थ्य निर्देशक
यता दैनिक कोरोना संक्रमितहरुको र मृतकको तथ्याङ्क दिन व्यस्त स्वास्थ्य निर्देशनालयले भने पोखरामा अक्सिजन सिलिन्डरको मौज्दात रहेको भन्दै अक्सिजनको अभाव नरहेको बताएको छ । गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले आफू अहिले बारपाकका लागि हिँडेको भन्दै अक्सिजन अभावका कारण मृत्यु हुन नपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ हिजोसम्म अक्सिजनको उपलब्धता राम्रै थियो , म बिहान गोरखाको बार पाकका लागि हिँडे, अक्सिजन नपाएर मृत्यु भयो भन्ने तपाइबाटै सुने, अक्सिजन अभाव छैन त्यस्तो हुनुपर्ने हो ।‘






प्रतिक्रिया