राजाराम पौडेल । रिलिज हुने क्रममा रहेको ‘बस है पियारी’ बोलको गीतका रचनाकार हुनुहुन्छ आकाश दाहाल । उहाँलाई सामाजिक विषयवस्तु उठान गर्ने खालका रचना गर्न मनपर्छ । गीत, कविता, नाटक मार्फत आफ्नो मनका कुरा व्यक्त गर्ने दाहाल आफूलाई अभिनेता भन्न रुचाउनुहुन्छ । उहाँले नाटक, चलचित्र, टेलिचलचित्र तथा म्युजिक भिडियोमा काम गरिसक्नुभएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ राखीडाँडामा जन्मनु भएका उहाँले ६ वर्ष पोखराको तत्कालिन ओम डेभलपमेन्ट बैंकमा काम गर्नुभयो । हाल एग्रोफर्म सञ्चालनको तयारीमा रहनु भएका दाहाल न्यू एरा एकेडेमीमा शिक्षकको रुपमा कार्यरत समेत हुनुहुन्छ ।
यतिबेला उहाँको रचना, अभिनय तथा कन्सेप्टको ‘बस है पियारी’ गीतको भिडियो सम्पादनको क्रममा रहेको छ । गीतलाई आर्कषक बनाउनका लागि भिडियो उत्कृष्ट बनाउन निकै मेहनत गरिएको छ । गीत तथा भिडियो दर्शक श्रोतालाई मनपर्ने उहाँको आशा छ । पोखरामा नै रहेर उत्कृष्ट गीत र सुन्दर भिडियो निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिन उहाँको टिमले खोजिरहेको छ । जसका लागि लामो समयको मेहनत यसमा खर्चिएको पोखरा न्युजसँग दाहालले बताउनुभयो । गीत आगामी भदौ महिनाको अन्तिम हप्ता रिलिज गर्ने तयारी छ ।
‘बस है पियारी’को जन्मको बारेमा रचनाकार दाहाल यसो भन्नुहुन्छः
अभिनयमा सानैदेखि रुचि भएपनि ठ्याक्कै प्रत्यक्ष रुपमा काम गर्न पाइरहेको थिइन । त्यसको लागि मैले प्रयास नगरेको पनि होइन । म पढाइमा सानैदेखि राम्रो विद्यार्थी थिए । त्यसैले यो क्षेत्रको प्रवेशले पढाइलाई असर गर्दछ की भन्ने डरले यो क्षेत्रमा आउन डर लागिरह्यो ।अभिनयको हिसाबले आजभन्दा करिब १२ वर्ष अगाडि नै पोखराबाटनै बनेको चलचित्र ‘माया यो कस्तो माया’ मा अभिनय गर्ने अवसर पाए । त्यो चलचित्रमा अभिनय गरिसकेपछि मलाई के लाग्यो भने उमेरका हिसाबले म सानो छु । शारिरिक बनोटले समेत अहिले नै त्यति साथ दिएको छैन । यसबारे अध्ययन गरेर बुझेर र एकेडेमिक हिसाबले क्यालीफाइड भएर आउँछु भनेर अध्ययन तर्फ नै लागे । पोखरा विश्वविद्यालयबाट बिबिए सकाएपछि फेरी एकपटक २०७० सालमा गण्डकी टेलिभिजनबाट प्रसारित टेलिफिल्म मुख्य सहायक निर्देशक र मुख्य अभिनेताको रुपमा केही श्रृखलामा काम गरे । पछि बैंकमा जागिर सुरु भएपछि समय अभावका कारण गर्न पाइएन । यो बिचको समयमा बैंककै काममा अल्झिरहे । अभिनयतिरका साथीसंगत छुट्दै गए । एक हिसाबले यतातिर सोच्ने फुर्सद नै भएन भन्दा पनि भयो ।
तर अभिनय भनेको यस्तो निमोनिया हो यो कहिले, कहाँ र कतिबेला बल्झिरहन्छ थाहै हुँदैन । मलाई समेत यो निमोनिया बेला–बेला बल्झिरहन्छ । पछि आफूलाई यस्तो लाग्यो कि व्यवसायिक हिसाबमा त मैले अभिनयलाई पेशा बनाउन सकिन । तर, अभिनयको भोक त जस्ताको तस्तै छ । तसर्थ अब एउटा राम्रो सृजना आफ्नै लागि तयार गर्छु भनेर संकल्प लिएपछि जन्मिएको हो ‘बस है पियारी’ ।
आम नेपालीको कथा
‘बस है पियारी’ एउटा आम नेपालीको कथा हो । लगभग ७० प्रतिशत नेपाली जीवनको एउटा मोडमा बाध्यताले विदेशिन गर्छन् । यो कहिल्यै पुरानो नहुने कथा समेत हो । त्यसपछि आफैले लेखे शब्दहरु र एउटा छोटो चलचित्रको परिकल्पना गरे ‘बस है पियारी’को म्युजिक भिडियोको लागि ।
नयाँ प्रतिभालाई अवसर दिनुपर्छ भन्ने सोच
शब्द त लेखे तर गाउन दिने कस्लाई मनमा प्रश्न आयो । दिमागमा धेरै गायकहरु आएका थिए । किन– किन मलाइ आफ्नै शब्दहरु प्रति एकदमै विश्वास थियो । सोचे मैले चलिसकेको र पूर्ण व्यवसायिक गायकलाई मैले यो गीत दिएभने यो गीत उसका लागि एउटा थपिएको संख्या मात्र होला । यो गीत मार्फत क्षमतावान नयाँ प्रतिभालाई अवसर दिनुपर्छ भन्ने सोच आयो । खोज्दै जाँदा एउटा महोत्सवमा सञ्चारकर्मी समेत रहनुभएका गायक सन्तोष बस्यालजीले गाएको सुने । र, सन्तोषको लागि यो गीत उचित होला भनेर यो गीत पठाए । उहाँले शब्दहरु मन पराउनुभयो । कम्पोज गर्छु भन्नुभयो । पछि कम्पोज सुनाउनुभयो । उहाँको कम्पोज मलाई मन प¥यो ।
पहिला त यो गीत काठमाण्डौमा रेर्कड गर्ने कुरा थियो । तर के–के कुरा मिलिरहेको थिएन । रेकर्ड गर्ने भन्दा भन्दै २ वर्ष वितिसकेछ । पछि सन्तोषको र मेरो एउटा सल्लाह भयो यो गीतलाई नितान्त पोखराको गीत बनाउ । विना कुनै कम्प्रमाइज गीतलाई पोखरामै रेकर्ड गरौ । सन्तोषले नै विनोद रसायली दाईले राम्रो गर्नसक्नुहुन्छ होला उहाँको अरु कामहरु समेत मन परेको छ भनेपछि हामीले विनोद रसायली जीलाई यो गीत एरेन्जको लागि दियौ । सन्तोष, विनोद र म तीन जना मिलेर यस गीतको विषयवस्तु, भिडियो कन्सेप्टमा धेरै लामो समय सरसल्लाह गरेर विनोद जी कै क्रेजि स्टुडियो पोखरामानै यो गीत रेर्कड गरायौ । फाइनल अडियो सुनिसकेपछि हामी पोखराबाट यो लेभलको अडियो निकाल्न सकेकोमा खुशी छौँ ।
भिडियो सुन्दर बनाउन मेहनत
अब अडियो पछि भिडियोको कुरा आयो । यो प्रोजेक्टलाई हामी नितान्त पोखराको प्रोजेक्ट बनाउन चाहन्थ्यौ । किनकी पोखरा भन्दा बाहिर जाँदा आर्थिक हिसाबले, समयको हिसाबले तथा अन्य विभिन्न कुराले हामीलाई धेरै कम्प्रमाइज गर्नुपनि पर्न सक्छ । अनि हाम्रो प्रोजेक्टको लागि भिडियो गर्न सम्झेउ नेत्र गुरुङ दाईलाई । जसले मलाई १२ वर्ष अगाडि ब्रेक दिनुभएको थियो । नेत्र दाईले यो गीतको मेकिङ गर्दादेखिनै हामीलाई गाइड गर्दै हुनुहुन्थ्यो । दाइले समेत अडियो मनपराउनुभयो । भिडियोमा नारी पात्रको लागि नयाँ तर प्रतिभावान कलाकार बैनी सोफी धरेललाई नेत्र दाइले नै सजेष्ट गर्नुभयो ।
हामीले भिडियो सुन्दर बनाउन लोकेसनका लागि पनि धेरै होमवर्क ग¥यौ । सिक्लेस, कालिका, पुम्दी लगायतका लोकेसन बारे बुझ्यौ । तर, अस्ताम पुगेर त्यहाँको परिवेशलाई बुझेपछि अस्तामलाई नै फाइनल लोकेसन गरेर लगभग चार दिन लगाएर यो गीतको म्युजिक भिडियो सुट गरेका छौँ । यो गीतमा स्थानिय कलाकार सहित करिव १५ जनाको अभिनय रहेको छ । सबैको मेहनतबाट म सन्तुष्ट छुँ । नेत्र गुरुङ दाईले अत्यन्त राम्रो स्टोरी प्लटिङ तयार गर्नुभएको छ र निर्देशन झनै राम्रो गरिदिनुभएको छ । नव कलाकार सोफी बैनीको अभिनय दमदार छ । दिपेश केसी भाईको क्यामरा र ड्रोनको काम एकदमै उत्कृष्ट छ । भिडियोको अहिले सम्पादनको काम भइरहेको छ । यस भिडियो मार्फत फेरी लगभग ८ वर्षपछि अभिनय क्षेत्रमा मैले पुर्नआगमन गरेको छु । यो गीत हामी भदौको अन्तिम हप्तातिर रिलिज गर्दैछौ । आशा छ तपाई सम्पूर्णको माया सद्भाव र शुभेक्क्षा पाउछौ भन्ने ।
मनैदेखी बनेको प्रोजेक्ट
‘बस है पियारी’ यो गीत मेरो लागि हिट, फ्लप या एभरेज केही हिसाबमा तुलना हुँदैन । गायकीको हिसाबमा, संगीत संयोजनका हिसाबमा र भिडियो मेकिङका हिसाबले सबै कामहरु उत्कृष्ट भएकाछन् । जति जनाले सुन्नुहुन्छ, हेर्नुहुन्छ, मन पराउनु हुन्छ उहाँहरुले पछिल्लो समयमा पोखराबाट बनेको राम्रो गीतको रुपमा ‘बस है पियारी’लाई स्वीकारी दिनुहुन्छ भन्ने अपेक्षा गरेको छु । किनकी यो मनैदेखी बनेको प्रोजेक्ट हो ।
स्कुल पढ्नेबेला देखि साहित्यमा रुचि
विद्यालय पढ्दै गर्दा स्कुलमा हुने गरेका अतिरिक्त क्रियाकलापहरुमा भाग लिने गर्थे । जसमा मेरो रुचीको विषय कविता, निबन्ध र अभिनय हुने गथ्र्यो । विशेषगरी अभिनयमा मेरो सानैदेखि झुकाब थियो । स्कुलमा पनि नाटक लेखन र अभिनयमा भाग लिन धेरै प्रतियोगीतामा ग¥यौ । केही पुरस्कारहरु पनि ल्याइयो । यसरी हेर्दा मेरो गीत लेखन यात्रा पनि त्यही बेलाबाट भयो भन्न सकिन्छ ।
उमेर, समसामयिक परिवेश र जीवनका भोगाईहरुले नै केही सृजनाहरु गर्न उत्पेरित गर्दोरहेछ । बाल्यकाल जतिबेला जानी नजानी लेख्न सुरु गरे त्यतिबेला देशमा द्धन्द्धकाल थियो । हरेक दिन रेडियो टिभिमा मृत्युका खबर मात्र आउथे । र, आफ्नै अगाडि केही द्धन्द्ध पिडित परिवार तथा उनीहरुको अवस्था देखे । सुरुका मेरा लेखहरु तीनै पृष्ठभुमीमा थिए । पछि उमेर बढ्दै गर्दा माया प्रेमका गीतहरु लेख्न थालियो । अहिले पारिवारिक भइयो । केही हिसाबले परिपक्कता आएर पनि होला समाजका स–साना घटनाहरुले छुन्छ र तीनै विषयमा रचना गर्न मन लाग्छ । विशेषगरी सामाजिक विषयवस्तु उठान गर्ने खालका रचना गर्न मनपर्छ ।
अभिनेता भन्न रुचाउछु
म आफूलाई गीतकार भन्दापनि अभिनेता भन्न रुचाउछु । मेरो अबको योजना भनेको व्यवसायिक कलाकार भन्दा पनि विषयवस्तु उठानले संवेदनशिल र समाजकै स–साना घटनाहरु जसले प्रत्यक्षरुपमा भुइँमान्छेका कथाहरु भन्छन् । त्यस्ता विषयहरुलाई अभिनयको मार्फतबाट आम दर्शक सामु ल्याउने कोशिस गर्छु ।
चिठी लेखेर गीत सुनिन्थ्यो
बाल्यकालमा गीत संगीत सुन्ने भनेको रेडियो नेपाल, नेपाल टेलिभिजन मार्फत नै थियो । पछि एफएम रेडियोहरु आए र एफएम सुन्न थालियो । कति गीतहरु चिठी लेखेर समेत सुन्नका लागि अनुरोध गरेको अनुभव छ । विशेष गरी त्यो बेलामा आधुनिक र नेपाली चलचित्रका गीतहरु धेरै सुनिन्थ्यो ।
नयाँ तथा पुराना श्रष्टा उहाँका मार्गदर्शक
मलाई मनपर्ने गायक गायिकामा पुरानोमा नारायण गोपाल भक्तराज आचार्य, दिप श्रेष्ठ, अरुण थापा लगायत हुनुहुन्छ । पछिल्लो समयमा प्रमोद खरेल, हेमन्त राना, शिव परियार, धर्मेन्द्र सेवानहरु एकदमै मनपर्छ । संगीतकारमा रन्जीत गजमेर, शम्भुजित बास्कोटा, सुरेश अधिकारी र पछिल्लो समय कालि प्रसाद बास्कोटाको संगीत राम्रो लाग्छ । रचनाकारमा यादव खरेल, नीर शाह, क्षेत्रप्रताप अधिकारी, कालिप्रसाद रिजाल जस्ता अग्रज रचनाकारहरुको रचना एकदम मनपर्छ ।