ट्रान्सफर्मर दिन्न भन्दै प्राधिकरण स्याङ्जा प्रमुख मरासिनीको धम्की, डेढ महिनादेखि उपभोक्ता मारमा

पोखरा न्यूज । ट्रान्सफर्मर जलेर विद्युत् आपूर्तिमा समस्या भएपछि स्याङ्जाको फेदीखोला–४ बडाचौर सामुदायिकका एक सय बढी घरपरिवार डेढ महिनादेखि मारमा परेका छन् ।

नेपाल विद्युत् प्राधिकरण स्याङ्जा वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीको गैर जिम्मेवारीका कारण आफूहरू लामो समयदेखि मर्कामा परेको सेती दोभान बिद्युत् उत्पादन तथा वितरण सहकारी अन्तर्गतका उपभोक्ताले बताएका छन् ।

गत जेठको अन्तिम साता चट्याङका कारण ट्रान्सफर्मर जलेपछि बारम्बार ट्रान्सफर्मर फेरिदिन प्राधिकरण प्रमुख मरासिनीलाई आग्रह गरेको भए पनि ट्रान्सफर्मर फेर्न र बनाउन सक्दिन भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्ने गरेको उपभोक्ताको गुनासो छ ।

आफूहरूको गुनासो लिएर सामुदायिक संस्थाका सचिवलाई प्राधिकरणमा पठाएको भए पनि शुरुमा ल ल भनेर टारेको र पछि उपभोक्ताहरू मिलेर गुनासो व्यक्त गर्न जाँदा म ट्रान्सफर्मर फेर्न सक्दिन, जे जे गर्छौ गर भन्ने खालको जवाफ फर्काएको उपभोक्ता रामचन्द्र पौडेलले बताउनुभयो । ‘हामीले भकारीमा धान भए पनि कुटानी पिसानी गर्न नपाउँदा बोराको चामल किनेर खानुपर्ने बाध्यता छ, नेट नचल्दा बच्चाहरू पढ्न पाएका छैनन् , यति लामो समय कुर्दा पनि ट्रान्सफर्मर फेर्न सक्दिन भनेर प्राधिकरण प्रमुख मरासिनी झपार्दै बोल्नुहुन्छ, हामीले न्याय कहाँ पाउने हो ?’, उहाँले प्रश्न गर्दै भन्नुभयो ।

५० केभिए क्षमताको ट्रान्सफर्मर भएको ठाउँमा प्राधिकरणले नै २५ केभिएको ट्रान्सफर्मर फेरेपछि बारम्बार ट्रान्सफर्मर जल्ने समस्याबाट आफूहरू पीडित भएको पौडेलले बताउनुभयो ।

प्राधिकरण प्रमुखको धम्कीपछि उपभोक्ता मिडियामा

पटक पटक प्राधिकरणमा पुगेर विनम्रताका साथ अनुरोध गर्दा पनि प्रमुख मरासिनीको गैरजिम्मेवारीपनको सीमा नाघेपछि स्थानीयवासी मिडिया गुहार्न बाध्य भएका हुन् । उपभोक्ताहरूको गुनासो बुझ्न गत साउन ४ गते पोखरा न्यूजको टोली उपभोक्ताहरूसहित कार्यालयमा पुग्दा प्रमुख मरासिनी कार्यालयमा भेटिएनन् । हाकिमको अनुपस्थितमा कार्यालयको जिम्मेवारी सम्हालेका सूचना अधिकारीसमेत रहेका अच्युतराज विष्टले यस अघि सो विषयमा आफूलाई जानकारी नभएकोले एक हप्ताभित्रै समस्या समाधान गर्ने भन्दै मिडियामा समाचार सार्वजनिक नगरिदिन आग्रह गरेका थिए । ‘ट्रान्सफर्मर हेटौडाबाट एक/दुई दिनमा ट्रान्सफर्मर बनेर आउँछ, हामी बढीमा एक साता भित्रमा समस्याको समाधान गर्छौ’, विष्टको भनाई थियो ।

सामुदायिकलाई ट्रान्सफर्मर नदिने मरासिनीको  घोषणा

तर, त्यसको पनि १५ दिन कटिसक्दा पनि बडाचौरबासीले न्याय पाएनन् भने प्रमुख मरासिनीले धम्कीपूर्ण भाषामा ट्रान्सफर्मर नदिने नै घोषणा गरे । १५ दिन पछि सोमबार पुनः पुतलीबजार ३ स्थित प्राधिकरणको कार्यालयमा मिडियासहित पीडित उपभोक्ता पुग्दा कार्यालय प्रमुख मरासिनीले त्यस्तो व्यवहार देखाएका हुन्।

प्राधिकरणले नै ५० केभिएको ट्रान्सफर्मर भएको अवस्थामा २५ केभिए क्षमताको ट्रान्सफर्मर बदली गरी बारम्बार ट्रान्सफर्मर जलेको भएपनि विनियमावलीको उपविनियम २० (३) मा ‘ट्रान्सफर्मरको क्षमता वृद्धि नगरीकनै ओभर लोड हुने गरी सेवा विस्तार गरेमा वा उचित सम्भार नगरेको कारणबाट वा सुरक्षा सम्बन्धी उपकरण जडान नगरेको कारणबाट ट्रान्सफर्मरको क्षति हुन गएमा वितरक संस्थाले नै ट्रान्सफर्मर मर्मत तथा बदली गर्नुपर्नेछ’ भन्ने बुँदालाई हाइलाइट गरेर सामुदायिक र उपभोक्तालाई प्रमुखले थर्काउँदै आएका छन्।

तर, विनियमको उपविनियम २० (४) मा ‘ उपविनियम ३ मा उल्लेख गरिएको अवस्थामा बाहेक ट्रान्सफर्मर वा त्यससँग सम्बन्धित सुरक्षाका उपकरण जल्न गएमा प्राधिकरणको स्थानीय कार्यालयले मर्मत वा बदली गरिदिनुपर्ने छ’ भनिएको छ ।

विनियमको उपविनियम २० (१) मा रहेको उपविनियमलाई समेत प्राधिकरण आफैँले उल्लङ्घन गर्दा सिर्जित बारम्बार समस्या सिर्जना भएको साथै वर्षा याममा चट्याङबाट ट्रान्सफर्मर जलेको अवस्थामा प्राधिकरणले नै ट्रान्सफर्मर मर्मत वा बदली गरिदिनुपर्ने देखिए पनि प्राधिकरण प्रमुख सामुदायिक र उपभोक्ता माथि उल्टो खनिएका हुन् ।

प्राधिकरणले २५ केभिए क्षमता घटाएर ट्रान्सफर्मर बदली गरेपछि ३ पटकसम्म ट्रान्सफर्मर जलिसकेको छ । प्राधिकरण प्रमुखले पटक पटक समस्या दोहोरिँदा तेहेरिँदा समेत प्रमुख कारण पत्ता लगाउने, समस्या समाधान गर्ने, सामुदायिकले गल्ती गरेको हो भन्ने भएको भए अनुगमन गरेर त्यसको ठोस आधार प्रस्तुत गरेर चिठी पत्र काट्ने जस्ता सामान्य जिम्मेवारी समेत निर्वाह नगरी उनले ठाडो शैलीमा आफ्नो टेबुलमा रहेको निलो रङ्गको मोटो किताबको विनियमावलीको उक्त बुँदालाई देखाएर जिम्मेवारीबाट पन्छिँदै आएका छन् । प्रमुख मरासिनीले उक्त सामुदायिक मात्र होइन सो क्षेत्रका ११४ वटा ट्रान्सफर्मर प्रयोगकर्ता सामुदायिकका प्रतिनिधि र उपभोक्ताहरू आजित बनाएको गुनासो छ ।

सामुदायिक संस्थाका सचिव महेन्द्रप्रसाद ढकालले पटक पटक निवेदन दिएको बताउँछन् । मरासिनीले भने मिडियासँग पनि कहिले सबै थाहा छ भन्ने, कहिले थाहै छैन भन्ने गैर जिम्मेवार कुरा गरिरहे । सामुदायिकको पहिलेको ५० केभिए क्षमताको ट्रान्सफर्मर कहाँ छ ? ट्रान्सफर्मर सामुदायिककै कारण जलेको हो भन्ने ठोस आधार के हो ? तपाइले कति पटक, कहिले, कसरी अनुगमन गर्नुभयो ? र सामुदायिककै कारण जलेको हो भने कहिले कुन मितिमा सामुदायिकलाई पत्र काटेर अथवा अनुगमनको रिपोर्ट देखाएर जानकारी गराउनुभयो हामीलाई देखाउनुहोस् भन्दा उल्टै अस्ति पनि एउटा मिडिया आएको थियो थर्काएर पठाए, तिमीहरू को हौँ ? मैले तिमीहरूलाई किन देखाउने भनेर उल्टो प्रतिप्रश्न गरे ।

प्रश्नको सामना गर्न नसकेपछि मरासिनीले म कुनै पनि सामुदायिकको ट्रान्सफर्मर मर्मत गर्न सक्दिन, जसले जे गर्न सक्छ गरे हुन्छ भन्ने धम्कीपूर्ण आशयको जवाफ फर्काएका हुन् ।

प्राधिकरणको बारम्बारको बेवास्ता र गैर जिम्मेवार कार्यालय प्रमुख दिलीप मरासिनीको हरकत विरुद्ध पीडित उपभोक्ताहरूले अख्तियार कार्यालय लगायतका अन्य निकायलाई गुहार्ने बताएर हिँडेपछि कार्यालयका लेखा प्रमुख विष्णु न्यौपानेले यो विषयमा यही नै कुरा मिलाऊ बन्दै अनुरोध गरेका थिए ।

फिल्डमा खटिनेले पैसा मागे 

त्यस अघि गुनासो व्यक्त गर्ने क्रममै उपभोक्ता रामचन्द्र पौडेलले उक्त क्षेत्रमा सामुदायिकको बिजुलीमा बारम्बार समस्या आएपछि घर नजिकै रहेको अर्को प्राधिकरणको लाइन जडान गरिदिन प्राधिकरणलाई आग्रह गर्दा सुनुवाई नभएको तर प्राधिकरणको पोल र लाइन जडान गर्न घर क्षेत्रमा पुगेका कामदार कर्मचारीले पैसा खर्च गरेमा लाइन मिलाइदिने भन्दै पैसा माग गरेको खुलासा गर्नुभएको थियो ।

‘मेरो राइस मिल छ, मेरो घर नजिकै प्राधिकरणको लाइन पुगेको छ, प्राधिकरणको लाइन जोड्न पाए सामुदायिकलाई पनि लोड कम हुन्छ की भनेर प्राधिकरणलाई प्रस्ताव गरे, सुनुवाई भएन’, पौडेलले भन्नुभयो, ‘ तर सोही क्षेत्रमा खटिएका कामदार कर्मचारीले पैसा खर्च गर्नुहोस् मिलाइदिन्छु भने, म एउटा आम नागरिक घुस खुवाएर पैसा खर्च गरेर लाइन जोड्दिन बरु मिल चलाउँदिन ।’ पौडेलको उक्त अभिव्यक्तिपछि केही कर्मचारीहरूले मुख हेराहेर गर्ने र जो हो, उसलाई मात्र भन्न आग्रह गरेका थिए ।

स्याङ्जा वितरण केन्द्रमा  प्रमुखको रूपमा मरासिनी आएदेखि नै जनताका गुनासा सुन्न छाडिएको कार्यालयमा समस्या लिएर पुगेका उपभोक्ता बताउँछन् । कार्यालयमा विद्युत् पोलको समस्या लिएर पुगेका एक उपभोक्ताले आफूहरूले लामो समयदेखि विद्युत् पोलहरूमा देखिएको समस्या समाधान गर्न भनेको भए पनि बेवास्ता गर्दै आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘यो वितरण क्षेत्रका उपभोक्ताका  समस्या चाङ् छन्  तर सुनुवाई हुँदैन ।’

कार्यालयमा पोखरा न्यूज सहितको टोली पुगेपछि लामो समयदेखि मर्मत नगरी थन्काएर रहेका ६ वटा ट्रान्सफर्मर मर्मतको लागि भन्दै निकाल्न लागिएको थियो ।

फलोअप : डेढ महिनासम्म हाकिमको बेवास्ता र धम्की, समाचार लगतै ५० केभिएको ट्रान्सफर्मर 

हेर्नुहोस् भिडियोमा :

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button