मौलिक नृत्यहरु लोप हुन लागे, संरक्षण आवश्यक छः होम गुरुङ

नृत्यमा विविधता नै हाम्रो सकरात्मक पक्ष हो

राजाराम पौडेल । नृत्य निर्देशक होम गुरुङको जन्म गोरखा जिल्लाको गण्डकी गाउंपालिका वडा नम्बर ७ चुर्लिङमा भएको हो । पछिल्लो समयमा स्थापित बनिसक्नुभएका उहाँले सफल म्युजिक भिडियो निर्देशकको परिचय समेत बनाउनु भएको छ । यो अवस्थामा आइपुग्न उहाँले निकै सर्घष र मेहनत गर्नुपर्‍यो । निरन्तरको मेहनत र विभिन्न आरोह अवरोहले उहाँलाई खारिन सघाएको हो ।

बाल्यकालमा आमासँग रोधीमा जाँदाबाट नै नृत्यतर्फ आर्कषित हुनुभएको थियो । उहाँ आफूलाई एक सिक्दै गरेको कलाकार, बामे सर्दै गरेको मान्छे भनेर चिनाउनुहुन्छ । उहाँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश संगीत विभाग प्रमुख तथा नृत्य निर्देशक संघ गण्डकी प्रदेश उपाध्यक्ष हुनुहुन्छ । यसका अलावा जुनियर सिटिजन एकेडमी, पोखरा लनर्स, एक्स आर्मी, बाल प्रभात मावि मार्फत आफ्नो अनुभव विद्यार्थीमाझ हस्तान्तरण गरिरहनुभएको छ । हिमाली संस्कृतिक परिवार आजिवन सदस्य, आदर्श कलाकेन्द्र सदस्य, सुरताल इभेन्टको निर्देशक, पोखरा लोकसंगीत संघ सदस्य र गोरखाली कलाकार संघको अध्यक्ष भएर समेत आफ्नो सक्रियता बढाइरहुनभएको छ ।

उहाँले सिकाएको नृत्य र नेतृत्व गरेको टिमले बिद्यालयबाट सहभागी भएर होस् वा खुल्ला रुपमा सहभागी भएर धेरै अवार्ड जितेको छ । गत बर्ष बिष्णु खत्रीको ‘अध्यारोमा उज्यालो टुकी’ मार्फत नेशनल पावर न्यूज म्युजिक अवार्डमा उत्कृष्ट भिडियो निर्देशक अवार्ड हात पार्नुभएको थियो । उहाँसँग नृत्य सिकाउने, संगीतका क्षेत्रमा बजाउनेदेखि सिकाउनेसम्मका कामहरु गरेका अनुभव छन् । पोखरामा म्युजिक भिडियो राम्रो बन्छ भनेर स्थापित गर्न उहाँहरुको टिम सफल भएको छ । हालसम्म झण्डै ५ सयको हाराहारीका म्युजिक भिडियोमा उहाँले काम गरिसक्नु भएको छ । यसपाली नृत्य निर्देशक होम गुरुङसँग नृत्य यात्रासँग सम्बन्धीत रहेर केही प्रश्न गरेका छौँ ।

तपाईको नृत्य यात्रा कसरी शुरु भयो ?
हाम्रो गुरुङ समुदायमा रोधी बस्ने चलन थियो । सानोमा आमा दिदी, दाइहरुसंग रोधी जाँदा नाच्दा सिकियो ।

नृत्यको कुन विधा मनपर्छ ?
लोक बिधा मनपर्छ ।

बाल्यकालमा आफ्नो इच्छा कसरी पुरा गर्नुहुन्थ्यो ?
बाल्यकाल त रमाईलो रमाईलोमा गयो । खासै इच्छा र समस्या भन्ने कुरा ख्याल भएन ।

तपाईलाई मनपर्ने नृत्यकार ?
म यो ठाउँमा आउँदा मलाई धेरैले नृत्य सिकाउनु भयो । मैले हजारौं बिद्यार्थीलाई सिकाएँ । भिडियो निर्देशक भएपछि पनि सयौैं नृत्यमा अब्बल मानिएका कलाकारलाई नचाएको छु । त्यस कारण यो नै राम्रो छ भनेर भन्न सकिन्न ।

नृत्य क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?
त्यो कलाकारमा पनि भर पर्छ । कतिपय कलाकारहरु आफुलाई मौसमी कलाकारको रुपमा लिन्छन् । कोही दिनहूँ साधना गर्छन । स्कुल कलेजदेखि आमा समूहमा समेत नृत्य सिकाउन पुग्छन् । अब मेहनत गर्ने हो भने नृत्य गरेर जीवन धान्न गाह्रो छ जस्तो मलाई लाग्दैन । अहिलेको अवस्थामा कोरोनाको कारण धेरैलाई गाह्रो छ यो त परिस्थितिले पारेको हो । सहज अवस्थामा मेहनत गर्ने र कामलाई सानो ठूलो नठान्ने कलाकारले जीवन धान्न सक्छ ।

तपाईले देखेको सपना ?
मैले मात्र होईन हरेक मान्छेले देख्ने सपना भनेको सफलता हो । अहिले मैले जुन–जुन काममा हात हालेको छु म त्यसमै सफल हुने र अरुलाई पनि सफलताको बाटोमा लैजाने सपना छ ।

नेपाली नृत्य क्षेत्रका सकारात्मक कुरा ?
नेपाली संगीत विश्व संगीत भन्दा फरक छ । हाम्रो आफ्नै संगीत छ । मौलिकता छ पहिचान छ । त्यही संगीतमा आधारित भएर हामी नृत्य गछौं । त्यसले नेपाली संगीतका साथै नृत्यको संरक्षण गर्छ । अर्को कुरा नेपाली संस्कृति भित्र समेत आफ्नै संस्कार छन् । त्यसभित्रको संगीत र नृत्य पनि फरक छ । हरेक क्षेत्र जाति, ठाउँ र परिवेश अनुसारका नेपाली नृत्य हामी देख्न र गर्न सक्छौं । नृत्यमा बिबिधता नै हाम्रो सकरात्मक पक्ष हो ।

नेपाली नृत्य क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष ?
पछिल्लो समय पश्चिमेली नृत्य वा भनौं मोर्डन खालका नृत्यहरुले नेपाली लोक मौलिक नृत्यहरु लोप हुँदै छन् । अब बिस्तारै आउने पुस्ताले हाम्रो मौलिक नृत्यहरु नचाउन नसक्ने वा जान्दै नजान्ने अवस्था आउँछ । अहिलेको सामाजिक संजालको कारण बाहिरि देशका संस्कार तथा त्यहाँको कल्चरबाट नेपाली संस्कृतीमाथी प्रहार हुँदै छ । यो हामी सबैले सुधार्नु पर्ने मुख्य बिषय हो यसमा सम्बन्धीत निकायले बिशेष ध्यान दिन जरुरी छ । हाम्रो मौलिक नृत्यहरु, ऐतिहासिक नृत्यहरु लोप हुन लागि सके । उदाहरणको लागि कौरा झ्याउरे नाच्ने मान्छे वा सिकाउने मान्छे कै कमी हुन थालि सक्यो । अरु ठाडो भाका, सुनिमाया, सोरठी, घाँटु नाच्ने त कुरै छाड्म । यस्ता खालका हाम्रो पहिचान बोक्ने नृत्यहरुको संरक्षण गर्न आवश्यक छ । अर्को कुरा कतिपय नृत्यहरु पनि सिकाउँदा मौलिकता नै हराउने गरि पनि सिकाईएको पाईन्छ । नयाँ–नयाँ स्टेप दिने र भिउज पाउने लोभमा समेत हामीले हाम्रो मौलिकता बिगारएका छौं यो अर्को सुधार्नु पर्ने पक्ष हो ।

आफूमा निखारता कसरी थप्दै आउनुभएको ?
निखारता भन्ने कुरा कामले देखाउँछ । जति काम गरिन्छ त्यती नै निखारता आउने हो । निखारताका लागी नयाँ–नयाँ सोच र तरिका हुन्छ जुन मैले हरेक गीतमा गर्दै आएको छु । निखारताको प्रमुख कुरा त मेहनत नै हो ।

नृत्य क्षेत्रबाट पाएको कुरा ?
साथी संगती, धेरै कलाकारहरुसंग भेटघाट, नेपाली संगीत तथा नृत्यको बारमो अध्ययन तथा जानकारी पाएको छु ।

नृत्य क्षेत्रबाट गुमाएको कुरा ?
गुमाएकै भन्ने त्यस्तो छैन ।

नृत्य तर्फको आकर्षण कस्तो छ नेपालमा ?
आर्कषण राम्रो छ । बिभिन्न कार्यक्रमहरुमा सहभागी हुनेहरुको भिड हेर्दा, बिद्यालयमा बिद्यार्थीहरुको रुची हेर्दा र हामीकहाँ सिक्न आउनेको सँख्या हेर्दा आर्कषण छ । यो कोरोनाको कारणले सिक्न र सिकाउन पाईएको छैन तर सिक्न खोज्ने र नाच्न खोज्नेको कमी म देख्दिन ।

संगीतकार र प्राविधिक तर्फ गर्नु भएका काम ?
सुरुमा त म संगीतकै क्षेत्रबाट प्रवेश गरेको हुँ । बिभिन्न ठाँउमा नाच सिकाउँदै, दाहोरी साँझमा बाजा बजाउने देखी सिकाए । साउण्ड सिस्टम चलाउने सम्मको काम मैले गरे ।

अबका योजना के छन् ?
मानिस कुनै पनि कुरामा पोख्त हुँदैन । पहिलो कुरा त म सिक्दै छु र सिकाउँदै पनि छु । सिक्ने र सिकाउने योजना पहिलो हुने छ । त्यसपछि समय र परिवेश अनुसार नृत्यका बिबिध बिधा र म्युजिक भिडियोमा नयाँपन ल्याउने प्रयास नै रहने छ । पोखरामा पनि म्युजिक भिडियो राम्रो बन्छ भनेर हामीले देखाई सकेका छौं त्यसको निरन्तरता छदैछ ।

अन्तमा के भन्नुहुन्छ ?
मेरो जीवन र कामको बारेमा धारणा राख्न दिनुभएकोमा धन्यवाद । अहिले कोरोनाको यो अवस्था छ सुरक्षित भएर काम गरौं । नृत्य सबैलाई आवश्यक कुरा हो । नाच्नु स्वास्थ्यले पनि राम्रो हो अर्को कुरा पछिल्लो समय हाम्रो मौलिक नृत्यहरु माथी भएको बिसंगतिको बिरुद्धमा सबैले आवाज उठाउँ । परिवर्तन जरुरी छ तर मौलिकता हराउनु भएन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button