तीजको मर्मलाई प्रहार गर्ने काम कसैले नगरौंः हरिदेवी कोइराला

नेपाली ठेट शब्दहरु ल्याउन सके पछिल्लो पुस्ताले सिक्थे

राजाराम पौडेल । वरिष्ठ लोकगायिका हरिदेवी कोइराला तीजको मर्मलाई प्रहार गर्ने काम कसैले गर्न नहुने बताउनुहुन्छ । पोखरा न्यूजसँग कुरा गर्दै वरिष्ठ गायिका कोइरालाले तीज गीतमा आएको विकृतिको बारेमा आफूले विगत १५ वर्ष देखि निरन्तर आवाज उठाउदै आएको खुलाउनुभयो ।

भ्युजको लागि गलत गर्न खोज्नु संस्कृतिको लागि विडम्बना भएको उहाँकाे भनाइ छ । उहाँले मौलिक विषयबस्तुलाई सरल शब्द र लयमा आफ्नो सुमधुर आवाज भरी नेपाली साँगीतिक फाँटमा पृथक परिचय बनाउन सफल हुनुभएको छ । विगत ३५ वर्षदेखि हालसम्म निरन्तर तीज गीत पस्कने गर्नुभएको छ । उहाँका गीतमा नेपाली माटोको सुगन्ध भेटिन्छ । सबैले मौलिकतालाई ध्यान दिदै नेपाली ठेट शब्द गीत मार्फत पस्कने सके नयाँ पुस्ताले सिक्ने उहाँको विश्वास छ ।

भ्युज बढाउनेको नाउँमा गलत गर्नु हुँदैन

तीजको मर्मलाई प्रहार गर्ने कुरा कसैले पनि गर्न भएन । कलाकारले आफ्नो धर्म सम्झनुपर्छ । परिवार सम्झनुपर्छ, समाज सम्झनुपर्छ । आफूले गाएको गीतले भोलि घरमा छोराले के सिक्छ, आमाले, बुबाले कसरी सुन्नुहुन्छ, दिदी बहिनीहरुले कसरी सुन्लान् त्यतातिर ध्यान जानुपर्छ । कमाउने र रमाउने भन्दापनि संस्कृति प्रतिको सम्मान गरेर स्वस्थ मनोरञ्जनसँगै समाजलाई सन्देश दिनुपर्छ । जुनसुकै क्षेत्रमा पनि विकृति विसंगति हुनु हुँदैन । आफ्नो धर्म कसैले पनि छोड्नु हुँदैन ।

खोलाले धर्म छोड्यो भने कत्रो क्षति पुर्‍याउछ त्यस्तै हो गीत संगीतमा पनि । के गीत गाउँदै छु । कस्तो गीत गाउँदैछु । कुन पर्वको गीत गाउँदै छु । कुन महिनाको गीत गाउँदैछु थाहा हुनुपर्छ । असार नलाउदै तीजका गीत घन्कने, रत्यौली गीत गाउने गर्नु हुँदैन । उच्चारण गर्न नमिल्ने शब्द, हेर्न नमिल्ने भिडियोलाई स्थान दिनु हुँदैन । जानी–जानी तीजका नाउँमा तीजको बहाना बनाएर समाजलाई अपाच्य हुने गरेर कुनै आय आर्जन गर्नु हुन्न । भ्युज बढाउनेको नाउँमा गलत गर्नु हुँदैन ।

अहिले भ्युजको लागि गलत गर्न खोजिएको देखिन्छ । यो संस्कृतिको प्रतिको ठूलो विडम्बना हो । सबैले चिन्तन मनन गर्नुपर्छ । समाजमा पाच्य हुने खालको सामाजिक तथा पारिवारिक खालका गीत ल्याउनुपर्छ । गीत ल्याउनु भन्दा पहिला तीजको मर्म बुझ्नुपर्छ । दिदी भाइ बसेर सुन्ने, आमा बुबा बसेर सुन्ने गीत कस्तो हुन्छ भनिरहनु पर्ने कुरा हैन ।

यस्तै हुन्छ भनेर परिभाषा भन्दानी समाजका आम विकृति विसंगति,सामाजिक मर्म वेदना चाहे राष्ट्रका हुन् चाहे परिवारका हुन् चाहे समाजका हुन् चाहे आफन्तका हुन् मनको दुःख सुःख हरेक कुराहरु यस्मा आउँछ । यही भित्र बस्नुपर्छ भन्ने छैन तर तीजको लयमा नी मौलिकता ल्याउनु पर्‍यो । भाषालाई पनि ध्यान दिनुपर्‍यो । नेपाली ठेट शब्दहरु ल्याउन सके पछिल्लो पुस्ताले सिक्थे । हामीसँग भएको धेरै भाषाहरु लोप भैसके । त्यो पक्षमा हामीले ध्यान दिनुपर्‍यो । अलिकती भेषभुषालाई पनि ध्यान दिनुपर्‍यो । त्यसको परिवेश के छ, घटना के छ ।

तीज गीतको नाममा रत्यौलीको भाकालाई स्थान नदिँउ

सकभर पुरानो चिजलाई पनि हामीले ल्यायौ भने त्यो भोलि हाम्रै सन्तान तथा नेपाली समाजको लागि सम्पत्ति बन्छ । यो सबैको साझा सम्पत्ति हो । यो साझा चिजलाई अहिले अलिकति विगार्‍यौ अर्को वर्ष अलिकति विगार्‍यो गरेर हेर्ने नमिल्ने, सुन्ने नमिल्ने हुने स्थिति गर्नुभन्दा जो–जोले गर्नुभएको छ । त्यस्तो गर्नहुँदैन । सजग हुनुपर्छ । सचेत हुनुपर्छ ।

मैले यो विषयमा बोल्न थालेको १२, १५ वर्ष भैसक्यो । केही सङलिएको स्थिति छ । केही कलाकारले गीत राम्रो गाउने प्रयास गर्नुभएको छ । तीज गीतको नाममा रत्यौलीको भाकालाई कृपया स्थान नदिउ । बरु रत्यौलीलाई रत्यौली नै भनेर निकालौ । सबैले तीजमा तीजको मौलिकपनलाई ध्यान दिएर गीत ल्याउने गरौ ।

अहिले तीजका गीत ट्रयाक चेञ्ज भएर माया पिरतीका कुरा तिर गएको छ । रत्यौलीतिर गयो । दोहोरीतिर गयो । सबै कुरा तीजका गीतमा घुसाउनु पर्ने हुँदैन । यस्ता सामान्य कुरा बुझ्नुपर्छ कलाकारले ।

७ वर्षको उमेरदेखि नै गीत संगीतमा रुचि

वरिष्ठ गायिका कोइराला मौलिक विषयबस्तुलाई सरल शब्द र लयमा आफ्नो सुमधुर आवाज भरेर नेपाली सांगीतिक फाँटमा पृथक परिचय बनाउन सफल व्यक्ति हुनुहुन्छ । उहाँले ७ वर्षको उमेरदेखि नै गीत संगीत र कवितातर्फ रुचि राख्नुहुन्थ्यो । स्कुलमा हुने साहित्यिक कार्यक्रममा भाग लिने गर्नुभएकी उहाँले बाराही मा.वि मा ७ कक्षा पढ्दा देवकोटा जयन्तिको उपलक्ष्यमा आयोजित कार्यक्रममा पहिलो पटक पुरकार जित्नुभएको थियो ।

पुरस्कार जिते पश्चात यो क्षेत्रमा अगाडि बढ्न झनै हौसिनुभयो । त्यसपछि स्कुलमा हुने शुक्रबार स्तरीय कार्यक्रममा थुर्पै पुरस्कार हात पार्नुभयो । गाउने, लेख्ने, साहित्यिक कार्यक्रममा भाग लिने गरेपनि घरमा खुलेर भन्न नसक्ने उहाँको बानी थियो । घरमा ढाँटेर छलेर साहित्यिक कार्यक्रममा भाग लिन जाने गर्ने उहाँ साहित्यिक कार्यक्रमको लागि स्कुल ड्रेसमा नै घण्टौ हिडेर पनि पुगिछाड्ने गर्नुहुन्थ्यो । साहित्यिक कार्यक्रममा रुची बढी भएकोले लयबद्ध तरिकाले कविता कोर्ने गर्नुहुन्थ्यो ।

उहाँको २०३४ सालमा विवाह भएको हो । आफूले देख्दै नदेखेको व्यक्तिसँग मागी विवाह गरेको बताउने उहाँलाई विवाह पश्चात भने गीत संगीत र साहित्य क्षेत्रको यात्रामा झनै सहज भयो । किनक उहाँलाई गीत संगीतको क्षेत्रमा श्रीमान रामबहादुर कोइरालाको खुलेरै सर्पोट मिल्न पुग्यो । उहाँको सर्पोट आजसम्म निरन्तर जारी छ ।

‘पाइन खबर’ गीतबाट डेब्यु

२०४० सालमा ‘पाइन खबर’ बोलको गीत रेर्कड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गर्नुभएकी उहाँले रेडियोमा गाएको पहिलो गीत भने ‘आँखाभरी आसुको सहारा’ हो । आठवटा एकल लोक गीत समावेश यहि एल्बमबाट नै यो क्षेत्रमा जम्न सफल बन्नुभयो । सो समयमा अहिलेको जस्तो प्रविधि थिएन रहरै रहरमा एक विहान चारवटा गीत अर्को विहान चारवटा गरी गीत रेर्कड गरेको सामान्य प्राइभेट घरमा रेर्कड गरेको उहाँले विर्सनु भएको छैन । म्युजिक नेपालबाट निकाल्दा स्वर परीक्षा दिनुपर्ने, गीतको बारेमा सबैकुरा भन्नुपर्ने अलि समय लाग्ने भएकोले एउटा घरमा रेर्कड गरेकी उहाँले खुलाउनुभयो ।

२०४२ सालदेखि निरन्तर तीजका गीत

उहाँले के सिन्दुर पहिरेछु धर्म छाडाको २०४२ एम एससी रेकडिङ स्टुडियोबाट निकाल्नुभयो । दुई एल्बम राम्रोसँग चलेपछि बल्ल म्युजिक नेपालले उहाँलाई आफ्नो स्टुडियोमा बोलाएको थियो । त्यसपछि निरन्तर त्यहीबाट एल्बम निकालेको उहाँ बताउनुहुन्छ ।

उहाँका मनको वह, दुखिको विलौना, फेवाताल सलल, कास्कीको कोसेली, पाइन खबर–२, काठमाण्डौको कथा, फूल गोगनको, पिपल चौतारी, मुटुको धड्कन, ऐना हेरेर, लाली फूल, झिलझिल सितारा लगायतका असीभन्दा बढी एल्बम आइसकेका छन् । आफ्नै शब्द, लय र आवाजमा चारसय भन्दा बढी गीत उहाँले तयार पारिसक्नुभएको छ । उहाँले २०४२ सालदेखि निरन्तर तीजका एल्बम बजारमा निकालिरहनुभएको छ । यो वर्ष उहाँको जरुवाको पानी करुवामा कलकली बोलको तीज गीत आएको छ ।

पुरस्कार र सम्मान

कोइलीदेवी सम्मान साहित्य सम्मान, साहित्य सम्मान, नुरगंगा राष्ट्रिय पुरस्कार, तन्नेरी द्धैमासिक पुरस्कार, देउडा समाज, रेडियो नेपाल, अन्तराष्ट्रिय संगीत दिवस पुरस्कार, बाराही रत्न पुरस्कार, कोइराला रत्न पुरस्कार, अलिमिया लोक वाङमय पुरस्कार, म्युजिक नेपालले आयोजना गर्ने राष्ट्रिय स्तरको अवार्ड लगायत झण्डै तीन सय पुरस्कार तथा सम्मान उहाँले पाउनुभएको छ ।

साहित्यमा उस्तै लगाव

उहाँको साहित्यमा उस्तै लगाव छ । गीत गाउने शव्द लय सिर्जन गर्ने मात्र हैन निबन्ध, गजल, गीत मुक्तक हाइकु समेत लेख्नुहुन्छ । उहाँका गीत र कवितामा सोधकार्य समेत भैसकेको छ । उहाँका मेरो देशको छातीभित्र दुखेजस्तो लाग्छ कविता सङ्ग्रह, तीजको गीती संग्रह माइती रमाइलो, तरङ्ग कविता सङ्ग्रह, न घाम झर्‍यो न जुन झर्‍यो, आफ्नै गीत आफ्नै भाका लोकगीत सङ्ग्रह, के छ हजुर हालचाल यता ? गीति सङ्ग्रह र अन्य थुर्पै फुटकर गीत गजल मुक्तक प्रकाशन भइसकेका छन् ।

सामाजिक क्षेत्रमा उस्तै सक्रिय

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिषद सदस्य रहनुभएकी उहाँ हरिदेवी संगीत नाट्य सम्मान कोष, लेखनाथ साहित्य प्रतिष्ठान, अलिमिया लोक वाङमय प्रतिष्ठान, सप्तरङ्गी साँस्कृतीक प्रतिष्ठान, संगीत प्रशिक्षण केन्द्र आदि दर्जनौ साहित्यिक, सांगीतिक एवंम सामाजिक संघसंस्थामा समेत आवद्ध हुनुहुन्छ । प्रतिष्ठान मार्फत लापोन्मुख भाकाहरुको संरक्षण गर्ने कार्यक्रमा उहाँ यतिबेला लाग्नु भएको छ ।

धेरै सपना बाँकी नै छन्

आफूले गीत संगीतको क्षेत्रमा देखेको सपना मध्ये एक चौथाई मात्र पुरा भएको उहाँले बताउनुभयो । ‘मैले गीत संगीतको क्षेत्रमा देखेको सपना को एक चौथाई मात्र पुरा भएको छ, धेरै पुरा भएको छैन । केही गर्न सकियन जस्तो लाग्छ । हाम्रा मौलिक चिजहरु अझै गाउँघरमा धेरै छन् । तीनलाई ल्याउन पाए भन्ने मनमा हुन्छ’ पोखरा न्यूजसँग उहाँले भन्नुभयो ।

पर्दापछाडि, गाउँका कुनाकाप्चामा रहेका श्रष्टाको इतिहास राख्न पाए भन्ने उहाँको मनमा छ । भिजुयलहरु भइदिए इतिहास बन्थ्यो भन्ने मनमा आउँछ । संग्रालय बनाएर राख्न पाए हुने हो । राष्ट्रले एउटा यस्ता चिजहरु जुन अहिलेसम्म प्रकाशमा आएका छैनन् तीनलाई खोजेर तीनको अभिलेख, तिनको इतिहास तिनको सुची बनाउन सके हुने हो । यसरी संरक्षण गर्न पाए भन्ने सपना मनमा छ । तर एक्लैले सम्भव छैन ।

हामी जस्तो मिडियामा छाइरहेका त त्यसै चिनिएकै छौ । हाम्रो गीतको माध्यमबाट इतिहास रहन्छ । जो पर्दा पछाडि नेपथ्यमा रहेका गीत संगीतका मुलसर्जकहरु हुनुहुन्छ । त्यस्ता चिज वा व्यक्तिलाई संरक्षण गर्न पाए । अभिलेख राख्न पाए, स्वराकंन, दृश्याकंन गर्न पाए । त्यस्तो सग्रालय भैदिए हुने थियो । प्रदेशले पनि सहयोग गेर भोलीको पुस्ताले हेर्ने बुझ्ने अवसर पाउने थिए । यी कुरा मनमा आइरहन्छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button