तीज गीत बहुरंगी हुन थाले

छाडापन रोक्न सेन्सर बोर्ड गठन आवश्यक

राजाराम पौडेल । अहिले तीज गीत रेर्कड, म्युजिक भिडियो निमार्ण र यसको प्रमोसनका लागि ठुलो रकम खर्च हुन्छ । खर्च गरे अनुसारको प्रतिफल अधिकांशले प्राप्त गर्दैनन् । तर तीज गीत रेर्कड गर्ने लालायित हुनेहरुको कमि छैन । एल्बम निकाल्ने खर्च व्यवस्थापन गर्न भन्दै कति कलाकारले आफ्नो गीतमा लगानी गर्न लगानीकर्ता खोज्छन् । कोहीले जसोतसो आफै रकमको जोहो गर्दै गीत दर्शक श्रोतामाझ पस्कन्छन् । आम्दानी गर्नभन्दा पनि निरन्तरता दिनको लागि तीज गीत बजारमा ल्याउनेहरुको संख्या समेत लामै छ ।

चर्चामा आउनकै लागि तीजको अवसरमा गीत ल्याउनेहरु उतिकै छन् । छोटो समयमा चर्चामा आउनको लागि भिवर्सलाई ध्यान दिँदै ल्याएका यस्ता गीतले तीजको मौलिकतालाई समेट्न नसकेको गुनासो चर्को रुपमा उठ्न थालेको छ । वर्षभरीका घटना, नारीका पिर वेदना तथा सन्देशमुलक सामाग्री भन्दा पनि अनावश्यक तडक भडक पाश्चात्य शैलीको सिकोले गीतमा विकृती फैलाएको छ । यस्तै गीतका कारण मौलिकतामा ध्यान दिने वास्तविक तीजे भाका ओझेलमा पर्न थालेका छन् । यो चिन्ताको विषय हो । यसको नियन्त्रण गर्दै तीजको मौलिकता जोगाउनु तड्कारो आवश्यकता देखिन्छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले पछिल्लो क्रममा तीज गीतहरु बहुरंगी हुन थालेकोमा चिन्ता व्यक्त गर्नुभयो । तीजका गीतले नेपालको संस्कृतीमा पारेको नकारात्मक असरको बारेमा चिन्तन जरुरी रहेको उहाँ बताउनुहुन्छ ।

तीजगीतहरुको विषय परिवेश र प्रवृतिहरु समेत फेरीदै गए नितान्त चेली र माईतीका बीचमा सरोकार राख्ने तीच भद्दा माया प्रेम हुंदै रत्यौलीसंग मिसिएर बहुरंगी बन्न थाल्यो । मुख्य वृक्षलाई ऐजरुले ढाके झै तीजलाई रत्यौली र प्यारोडीले ढाकेर यस्को वास्तविक मुहार देख्न छोडियो तथापि केहि ईमान्दार श्रष्टा अझै पनि तीजगीतको मौलिकताको पक्षमा लागिरहेकै छन् । मानव सभ्यताक्रमसंगै प्रविधिले दिएका उपजको सदुपयोगले गीत निर्माणमा आएको गुणात्मकता यसको सकारात्मक पाटो हुन सक्छ तर तीजको नाममा गरिएका व्यवसायिक लोभ र लापरबाहीले पारेको नकारात्मक सांस्कृतिक असर चिन्तन गर्नु पर्ने नै छ । गीतकार समेत रहनुभएका विजीले पोखरा न्यूजसँग भन्नुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य तारानाथ आचार्य रत्यौली गीतलाई तीज गीत बनाएर ल्याउँदा नयाँ पुस्ता दोधारमा पर्नसक्ने बताउनुहुन्छ । तीजको अवसरमा आएका सबै गीत नकारात्मक नभई धेरै गीत सकारात्मक भएको उहाँको तर्क छ ।

तीज गीत भन्ना साथ हाम्रो संस्कृती अनि हाम्रो परम्परा जोडिन्छ । चेली माइत जाने दुःख सुःख पोख्ने दाइभाई दिदीबहिनी सबैसगै भेटेर रमाइलो गर्ने प्रचलन हुनुपर्ने हो । तर रत्यौलीलाई तीज गीत बनाएर ल्याउदा अब आउने पुस्तालाई तीजको महत्व बोकेका गीत कस्ता हुन्छन भनेर कन्फ्युज चाहिँ गराउँछन् । किनकि भिउज र कमाई होस भन्ने हिसाबले पछिल्लो क्रममा गीतहरु आइरहेका छन । भिउज नै सबैथोक हैन भन्ने मेरो धारणा हो । सबै गीत यस्ता छैनन चामलमा धान भए जस्तो केही संख्यामा त्यस्ता गीतहरु आए जसको सकारात्मक पक्ष त के होलान र यसले हामीलाई कसरी सकारात्मक सन्देश दिन सक्छ र ? तर सबैगीत त्यस्ता चाहिँ छैनन सकारात्मक सन्देश दिने गीतहरूपनि छन् जस्तैः लैजा चरी सन्देश, बाटैमा भाइरस, छोरी बुहारी, देउरानी जेठानी आदि । पोखराको डिजिटल स्टार रेकडिङ स्टुडियोको मेनेजिङ डाइरेक्टर समेत रहनुभएका आचार्यले भन्नुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराका अध्यक्ष सुरेन्द्र गुरुङ विकृति भित्राउने खालका गीतमा लोकदोहोरी गायक गायिका सम्लग्न हुनु चिन्ताको विषय भएको बताउनुहुन्छ । गीतमा आएको छाडापन रोक्न सरकारले तत्काल सेन्सर बोर्ड गठन गर्नुपर्ने उहाँको माग छ ।

मौलिक लोक संस्कृति माथि पश्चिमी संस्कृतीको दबदबा देखियो । लोक दोहोरी गायक गायिकानै त्यसमा प्रत्यक्ष सम्लग्न देखिए । मोडलदेखि लिएर गीतार बजाएर वियरका बोतलहरु लिएर डिस्कोमा नाच्ने सम्मको अवस्था आयो । तीजमा महिलाले पाइन्ट लाएर नाच्ने । पुरुषले साडी लाएर नाच्ने । यस्तो गाइजात्रे ताल जुन खालको भएको छ यो अत्यन्त दुःखद कुरा हो । एउटा लोक संस्कृतिकर्मी कलाकारको हिसाबले यो चिन्ताजनक विषय लाग्छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखरा समेत यो विषयमा असहमति आपत्ति जनाउछ । कलाकारहरु सस्तो लोकप्रियताको लागि जुनसुकै हद सम्म गिर्न पछि परेनन् । युट्युबमा भिउज बढाउनका लागि जस्तो सुकै कदम अगाडि बढाए त्यो अत्यन्तै चिन्ताजनक कुरा हो ।

पहिला–पहिला मौलिक तीज गीत आउथे । पिर वेदना विरह पोखिन्थ्यो । कुनै घटनाको गीत बन्थे । अहिलेचाहि यथार्थ विषयवस्तु नपस्की सस्तो लोकप्रियताको लागि बाहिर–बाहिर हावामा गीत सिर्जना गर्ने आफु हाइलाइट भएर गीत सिर्जना गर्ने चलन भयो । टिकटकमा पनि आम दर्शकले त्यस्तै गीत व्यङयात्मक बनाउने त्यसतालाई प्रोत्साहन गरेजस्तो भएको छ । यो दुःखदायी कुरा हो । यसलाई हटाउन पर्छ । मिडियाले ध्यान दिनुपर्छ । यस्ता गीत तथा कलाकारलााई कभरेज दिनु हुदैन । सामाजिक बहिष्कार गर्नुपर्छ । तीज गीत छुट्टै पहिचान बोकेको नेपाललाई चिनाउने संस्कृती हो । नेपाली मौलिकता माथि जुन खालको आक्रमण भइहरको छ । यो आक्रमणको प्रतिवाद सबै मिलेर गर्नुपर्छ । लोक दोहोरी सेन्सर बोर्ड नभएको कारणले गर्दा यस्तो अवस्था आएको हो । गीतहरुमा छाडापन भित्रिएको हो । यसलाई रोक्न तत्काल सेन्सर बोर्ड स्थापना गर्न लोक दोहोरी प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति सरकारसँग जोडदार माग गर्दछ ।

राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश अध्यक्ष कृष्णप्रसाद गौतमले तीज गीतको मौलिक भाकालाई अहिले आएका गीतले बिर्साउन लागेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सेन्सर बोर्ड बनाएर गीतको अनुगमन र नियन्त्रण गर्नुपर्नेमा उहाँको जोड छ ।

नेपाली नारीहरुको महान चाड हरितालिका तिजको एउटा छुट्टै महत्व छ । बर्षभरिको दुख आफ्ना परिवारले नसुन्दा गीत मार्फत आफ्नो दुख सुनाउनी प्रचलन थियो । तर अहिले भने यसलाई फेसनको रुपमा लिन थाले । तीजको गीतको भाका के हो भनेर अहिले आएका गीतले नै बिर्साउन लागे । रत्यौली झ्याउरेलाई तीज गीत हो भनेर बजारमा फालेका छन । यसले गर्दा पछिका पिढिले तीज गीत यो हो भनेर नचिन्ने हुन कि भन्ने अवस्था सिर्जना भएको छ ।

अबको समय नेपाल सरकारले एउटा सेन्सर बोर्ड बनाएर चाडपर्व अनुसार गीत बजारमा आउँदा त्यसलाई अनुगमन गराउन र नियन्त्रण गर्न सकियो भने पक्कै पनि हाम्रो मौलिकता हराउने थिएन । यसरी नै विकृति बढ्दै गयो भने केही वर्षमानै हाम्रो गीत यस्ता थिए भन्ने दन्त्य कथा बन्न बेर लाग्दैन । उहाँको चिन्ता छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराका सचिव राजन कार्की समाजमा अपाच्य हुने किसिमका गीत बजारमा पठाउन नहुने तर्क गर्नुहुन्छ । लगानी बढ्दो तथा आम्दानी घट्दो हुँदा केही कलाकार समस्यामा परेको उहाँ सुनाउनुहुन्छ ।

विगतमा जस्तो चर्चा परिचर्चा बजारमा हो हल्ला हुने किसिमको देखिएका छैनन् । याने कि पछिल्लो क्रममा कोरोना भाइरसको प्रकोपको कारणले गर्दा पनि दिदी बहिनीहरुलाई नाच्ने गाउने माहोल भएका कार्यक्रम नभएको कारणले हुन सक्छ । तरपनि व्यवसायिक रुपमा हिजो जस्तो आज लोकप्रियताको हिसाबले देखिएका छैनन् । तीजका गीतहरु आइरहेका छन् लगानी बढ्दो तथा आम्दानी घट्दो देखिएको छ । जसका कारण केही कलाकार समस्यामा पर्नु भएको छ ।

पछिल्लो समयमा केही उश्रृखल गीत समेत आएका हुन् कि भन्ने हो हल्ला बढी भइरहेको छ । सकेसम्म समाजमा अपाच्य हुने किसिमका गीत बजारमा पठाउन हुँदैन भन्ने मलाई लाग्छ । तीज भनेको नारीहरुको महान् पर्व हो । पछिल्लो समयमा पुरुषहरुले समेत गाइयो । यस्लाई सकारात्मक हिसाबले लानुपर्छ । तीजलाई नकारात्मक बनाउन उंश्रृखल तरिकाका शब्द तथा भिडियो बनाएर गीत पस्कनु हुँदैन । परिवारसँग मिलेर सुन्न मिल्ने किसिमका गीतहरु ल्याउनुपर्छ ।

सर्जक तथा कलाकार डि.आर सुजन गीतमा नयाँपन भित्राउने निहुँमा तीजको मौलिकपन माथि प्रहार गर्न नहुने बताउनुहुन्छ ।

सुरुवातमा तीज गीतको कुरा गर्दै गर्दा तीज गीत एक मौलिक भाकामा विषेशगरि महिला दिदिबहिनीहरुले मनको बेदना, सुःख दुःख पोख्ने एक माध्यम हो । जसबाट तीजमा संगी साथी वा दिदी बहिनी जम्मा भएर लयात्मक तरिकाले मन हलुका बनाइन्छ । तर पछिल्लो समयमा आएका गीत संगीतका कारण मौलिकता हराउदै गएको होकि भन्ने आभास हुन्छ । हुन त सबै कुराको राम्रो र नराम्रो दुबै पाटो हुन्छ ।

सकारात्मक पाटो भनेको पछिल्लो समया महिला पुरुष बराबर हुन भन्ने नारा लगाइरहदा, तीज गीतमा पनि पुरुषको सहभागित चाहिँ राम्रो पाटो हो तर दिदी बहिनीहरुको बिशेष चाडमा अपाच्य शब्दहरुको प्रयोग हुँदै अधिक मात्रामा पुरुषहरु हाबी हुनु चाहिँ नकारात्मक पाटो हो । नयाँपन भित्राउने निहुँमा तीजको मौलिकपन माथि प्रहार गर्नुभन्दा जुन मौलिकता हामीले सुन्दै हुर्कियाैं त्यही मौलिकतालाई जोगाउदा अझ राम्रो हुन्छ भन्ने लाग्छ । उहाँले भन्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button