रत्यौली गीतलाई तीज गीत भन्नु गलतः पुरुषोत्तम न्यौपाने

पैसाको लागि नाङ्गो नाँच नाच्नेका विरुद्ध लाग्नैपर्छ

राजाराम पौडेल । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीज आउन एक महिना बाँकी छ । नेपाल सहित विश्वमा कोरोना कहरको त्रास भने कायमै रहेको छ । जसका कारण तीजको अवसरमा देश विदेशमा आयोजना हुने अवस्था भने छैन । तर तीजलाई लक्षित गरेर बजारमा गीत पस्कने क्रम भने तिव्र बन्दैछ । यसरी बजारमा आएका तीज गीतको बारेमा मिश्रित खालका प्रतिक्रिया आइरहेको पाइन्छ । मौलिकताको संरक्षण गर्दै आइरहेका गीतको प्रशंसा र तीजको मुल मर्ममा आघात पुर्‍याउने खालका गीत प्रति आलोचना भइरहेको छ ।

भिवर्सको हिसाबले मौलिकता बोकेका गीतले भन्दा तीजको मुल मर्मलाई प्रहार गरेर छोटो समयमा चर्चा कमाउने उद्धेश्यले ल्याएका गीतले दर्शकको साथ पाइरहेको देखिन्छ । सोही कारण अब दर्शकले सही गलत छुट्ट्याएर विकृति विसंगति भित्रिने खालका गीतलाई बहिष्कार गर्नुपर्छ, सुन्न हेर्न हुँदैन भन्ने खालका आवाज नेपाली मौलिकताको संरक्षणमा लाग्नुभएका अभियन्ता, मौलिकतालाई ध्यान दिएर यसको संरक्षण गर्दै अगाडि बढ्नुभएका कलाकारले गर्न थाल्नु भएको छ ।

के सही के गलत भनेर नाप्ने तुलो नहुँदा कलाकार आफै संवेदशील बन्दै गीत संगीत प्रस्तुत गर्नुपर्ने आवश्यकता अहिले छ । गीत संगीत दर्शक श्रोता माझ पस्कनु भन्दा पहिला पस्कनु उपयुक्त छ छैन जाँच गर्नको लागि सेन्सर बोर्ड स्थापना हुनुपर्छ भन्ने आवाज विगतदेखि उठिरहेको भएपनि संम्बोधन हुन सकेको छैन । सोही कारण अहिले बजारमा निर्वाद रुपमा गीत तथा भिडियोहरु सार्वजनिक भइरहेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष समेत रहनुभएका वरिष्ठ लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले पोखरा न्यूजसँग कुरा गर्दै रत्यौली गीतलाई पनि तीजको गीत भनेर भन्नु गलत भएको बताउनुभयो । वास्तवमा पछिल्लो समयमा आइरहेका तीज गीतहरु सबै राम्रा पनि भएनन् । सबै नराम्रा पनि छैनन् । एउटै तराजुमा राखेर हेर्न मिल्ने अवस्था रहेन । पुराना कलाकारहरु जस्ले नेपाली मौलिक संस्कृतिको बारेमा सोचेको छ बुझेको छ । तीजको धार्मिक संस्कार के हो । यो परम्परागत रुपमा कसरी मानियो भनेर बुझेकाले ल्याएको तीज गीतले तीजको मर्म बोकेकोे छ । मर्म नबुझिकन ल्याएका गीतले विकृति फैलाएका छन् । गायक न्यौपानेले भन्नुभयो ।

कलाकारले तीजको महत्व बुझ्नुपर्छ

गीत ल्याउनु भन्दा पहिले कलाकारले तीजको महत्व बुझ्नुपर्छ । गीत कस्का लागि लक्षित हो थाहा हुनुपर्छ । विशेषगरी चेलीबेटी दिदीवहिनीलाई लक्षित गरेर गीत ल्याउने गरिन्छ । चेलीबेटीले मान्ने पर्व भएको हुँदा हरितालिका तीजलाई महिलाहरुको महान् पर्व भनेर भनिएको हो । यस्को मर्म बुझेकाले मर्म विपरित गाएका छैनन् । जस्तै हरिदेवी कोइराला दिदीले र्निविवाद रुपमा तीजका सांस्कृतिक खालका सभ्य खालका सु–संस्कृत खालका गीतहरु गाउनुभएको छ ।

विमा कुमारी दुराका त्यस्तै मर्मस्पर्शी गीत छन् । लक्ष्मी न्यौपाने, शर्मिला गुरुङका गीतमा कहिल्यै उश्रृखलता पाइएको छैन । चाहे सिन्धृु मल्लका कुरा गरौ, राधिका हमालका कुरा गरौ देवी घर्तीले पनि अर्काका गीतमा आवाज दिने क्रममा पनि बाटो बिराउनु भएको छैनन् । विष्णु माझी, पार्वती जिसी, टिका पुन लगायतका कलाकारले गाएका गीतमा उश्रृखलता पाइएको छैन ।
हामीले पुरुष पात्रहरु बनाएर तीज गीत पस्केका थियौ

पहिला र अहिलेको तुलनामा केही परिवर्तन देखिन्छ । छोरा मान्छेले तीजका गीतमा आवाज दिन सुरु गरेको भनेर मेरो आफ्नो नाम पनि जोडिन्छ । त्यतिबेला पुरुषोत्तम न्यौपानेले गाउने प्रजापति पराजुलीले संकलन गर्ने दुर्गा रायमाझीले फेवा डिजिटलमा व्यवस्थापन गरेर हामीले वेदनाको पोको धेरै भागसम्म सहकार्य गरेका थियौँ । गीतको लागि हामीले त्यहाँ पात्र बनाएका थियौ ।

तीजमा दिदी लिन जाँदा एउटा भाइको भूमिकामा ‘तीज आयो जाउन बाबु दिदी लिनलाई, खुट्टैमा ढोग गरे है भेट्दा भेनालाई’ भनेर आमाले भन्ने । फेरी छोराले ‘हुन्छ आमा दिदी लिन जान्छु जान त कोसेली पो के लाने हो पर्छ लान त’ भनेर भन्ने । आमाले फेरि ‘दुब्लाएर बनाई भैसी छैन बरा जिउ अनदिको चामल र लैदेउ बाबु घिउ’ भन्नुहुन्छ । छोराको पालोमा फेरि ‘हुन्छ आमा दिदी लिन जान्छु जानलाई काक्रो पनि लैदिउ आमा अचार खानलाई’ भनेर गीत मार्फत जवाफ दिन्छन् । यस्ता शब्द सिर्जना गरेर हामीले गायौ । गीतको लागि समसामयिक यथार्थपरक विषयवस्तुमा कथा बनाइयो । पुरुष पात्रहरु बनाइयो । आमा, छोरो, दिदी पात्र बनाइयो । गीतबाट नै प्रश्न गर्ने विकृति विसंगतिलाई औल्याउने प्रयास गरियो । यसरी गीत प्रस्तुत गर्दा प्रवाह गर्ने सन्देशले निकै ओझिलो अर्थ राख्थ्यो ।

पछि आएर भगवती न्यौपानेको संकलनमा रमेश विजीका शब्द मैले आवाज दिएर केही महिला कलाकारलाई समावेश गराएर तीजका गीत तयार पारेका थियाैं । ती गीतमा कहिल्यै बाटो बिराइएको छैन । तीन जनाको सहकार्यमा गरेका गीतमा द्धन्द्धकालका पिडा, चेकिङ लगायतका कारण सर्वसाधरणलाई भएको सास्ती लगायत समाजमा परेका समस्यालाई खोतल्ने प्रयास गरेका थियौ ।

तीजको मर्म ड्रमसेटका अगाडि चौरमा उर्फने हैन

पछिल्लो समयमा पुरुष आवाज दिने नाममा अथवा सिर्जना गर्नेहरुले रत्यौली गीतलाई पनि तीजको भनेका छन् । यो गलत हो । हुँदाहुँदै अहिले आएर शब्द समाजमा बसेर प्रयोग गर्नै नमिल्ने खालका शब्दहरु घरपरिवार आमा बहिनी दिदी बसेर सुन्न नमिल्ने गीत आउन थाले । यस्ता लाज पचेकाहरुले नेपालको मौलिकता माथि प्रहार गरेका छन् ।

पैसा भयो भने नाङगै हिड्न तयार हुनेका लागि त के भन्न सकिन्छ र तर सबै जना पैसाको लागि नाङगो नाँच नाच्नेका विरुद्ध लाग्नैपर्छ । विकृति विसंगति रोक्नैपर्छ । यस्ता कलाकारलाई मेला महोत्सव तथा देश विदेशका कार्यक्रममा सबैले बहिस्कार गर्नुपर्छ । किनकि समयमा यस्ता विकृतिलाई नरोक्ने हो भने हाम्रौ मौलिकता केही बाँकी रहदैन । यस्ता गीत नल्याउनलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले अनुरोध गर्न सक्छ । तर कारवाही गर्न सक्दैन । कारवाही गर्ने अधिकार छैन । अहिले पनि प्रतिष्ठानले बैठकबाट निर्णय गरेको छ । विज्ञप्ति निकालेर अनुरोध गरेको छ । त्यति हुँदा पनि केही कलाकार सचेत भएको सावधानी अपनाएको देखिदैन । अब त्यस्ता कलाकारलाई सबैले बहिस्कार गर्नुपर्छ ।

सबै मिलेर मिडिया मार्फत समेत विकृति विसंगति बोकेका गीत र त्यस्ता गीतमा आवद्ध कलाकारको भण्डाफोर गर्ने हो भने विकृति हटेर तीजका गीतहरु राम्रा हुँदै जान्छन् । एउटा चिन्ताको विषय के छ भने हामीले पछिल्लो पुस्तालाई हस्तान्तरण गर्ने भनेको संस्कृती हो त्यो संस्कृती विकृति सहितको हस्तान्तरण गरेम भने त्यसको महत्व के नै रहन्छ र ?

तीजको मर्म भनेको ड्रमसेटका अगाडि बसेर चौरमा उर्फने हैन । यस्तो कल्चर हस्तान्तरण भयो भने के हुन्छ । त्यसैले सचेत हुनुपर्छ । गाउने, शब्द संकलन गर्ने, रचनाकार, लय संकलक सबैले बेलैमा विचार पुर्‍याउनुपर्छ । नत्र हाम्रो मौलिकता गलत बाटोमा जान्छ बेलैमा सचेत हुन जरुरी छ ।

गायक न्यौपानेका संक्षिप्त चिनारी

लोकदोहोरी गायनको क्षेत्रमा स्थापित गायक न्यौपानेको जन्म वलाम बेलटारी स्याङजामा भएको हो । उहाँको बाल्यकाल वलाम बेलटारी स्याङजामा नै बितेको थियो । गाउँमा बस्ने पढ्ने, घाँस काट्ने, गाई बाख्रा हेर्ने दैनिकी थियो । स्कुल पढ्दा स्कुलमा हुने कार्यक्रम, रेडक्रस दिवस र चारपाते क्लव लगायतकाले गर्ने कार्यक्रममा उहँले भाग लिनुहुन्थ्यो । यसरी प्रतिभा सुनाउँदा उनलाई साथीभाई बाट राम्रो सर्पोट मिल्न पुग्यो । जसले गीत संगीतको क्षेत्रमा लाग्ने इच्छा उहाँमा अभिवृद्धि भयो ।

एस.एल.सि उत्तीर्ण भएप्रश्चात गाँउबाट विरानो ठाँउ काठमाण्डौ हानिनुभयो । अध्ययनको शिलशिलामा काठमाण्डौ पुग्नुभएका उहाँ आर.आर क्याम्पस भर्ना हुनुभयो । २०४६ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिई उत्तीर्ण भए पश्चात ‘वलाम देवी थान’ बोलको गीत रेकर्ड गरी नेपाली सांगीतिक फाँटमा डेब्यु गर्नुभएको थियो । यो गीत रेडियो नेपालमा बज्ने गर्दथ्यो । एल्बम भने त्यो समयमा बजारमा आएन ।

२०४९ सालमा ‘श्रीखण्ड चन्दन’ एल्बममा आवाज भर्नुभयो । उहाँले आवाज दिएको पहिलो एल्बम यहीनै हो । तर, बजारमा श्रोतामाझ पस्केको आफ्नै पहिलो एल्बम भने ‘फुलको वासना’ हो । यो एल्बम २०५३ सालमा म्युजिक नेपालले बजारमा ल्याएको थियो ।

फुलको वासना बोलको गीतको साथमा एल्बममा पहिला आफुले रेर्कड गरिसकेका गीतलाई समेत उहाँले समावेश गर्नुभएको छ । ‘म्युजिक नेपालले यो नयाँ केटाको गीत चल्ने हो की हैन भनेर आंशका गरेको थियो’ उहाँ सम्झनुहुन्छ ‘आफुलाई कहिले एल्बम बजारमा आउँछ र सुन्न पाइन्छ साथीहरुलाई भन्न पाइन्छ भन्ने खुल्दुली थियो’ उहाँ अगाडि थप्छनुहुन्छ ‘गीत रेर्कड गरेर पोखरा आएको म बारम्बार फोन गरेर सोध्ने गर्दथे तर म्युजिक नेपालले विभिन्न बहाना बनाई ढिला गरेको थियो पछि करले मात्र एल्बम निकालेको हो’ ।

यो एल्बम बजारमा आएपछि न्यौपानेको चर्चा चुलियो । एल्बमको माग बढ्यो । एल्बमको विक्रि आकासिएपछि कम्पनीले उहाँलाई अर्को एल्बम निकाल्न हौसायो । ‘एल्बम लोकप्रिय भए पछि त अर्को एल्बम निकाल्नु पर्‍यो एल्बम निकाल्न पैसा पनि लाग्दैन, रेर्कडिङ्ग, प्रचार प्रसार सबै कम्पनीले गर्दीन्छौ भन्दै हौस्याएको थिए’ उहाँले सुनाउनुभयो । यसरी पहिलो एल्बमबाट नै सफलता मिलेपछि उहाको सांगीतिक यात्रा निकै सहज हुन पुग्यो ।

२०५४ मा ‘ऐना हेरेर’ र २०५५ मा ‘निलो पछ्रयौरी’ एल्बम म्युजिक नेपालबाट निकाली लगातार तिनवर्ष म्युजिक नेपाल अर्वाड प्राप्त गर्न उहाँ सफल हुनुभयो । अनि एक पछि अर्को गर्दै एलबम बजारमा पस्कन थाल्नुभयो । झिलझिल सितारा, रुन्छ नि मन किन रुदैन, डाँडैमा पिपल सारेर, विरानो मुलुक, लाली फुल, मिर्मि मुनी काली थुनेको, पुर्वैमा झ्याल राखे, पानी घट्टमा, कुर्ता सुरवाल लाउदा त यस्ती छौ, मुग्लीन झरौ, तीजको गन्थन भाग १ देखि भाग ७, विभिन्न भजन सग्रह, घासै राम्रो सिरु लगायत तीन दर्जभन्दा बढी एल्बम निकालीसक्नुभएका उहाँले झण्डै एक हजार भन्दा बढी गीतमा आफ्नो सुमुधुर आवाज भरीसक्नुभएको छ ।

उहाँको सांगीतिक यात्रा निरन्तर अगाडि बढिरहेको छ । लोकदोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय अध्यक्ष भैसक्नुभएका न्यौपाने रेडियो नेपाल गण्डकी प्रदेश कार्यालय पोखराको कार्यक्रम अधिकृत हुनुहुन्छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. मेरा आदर्णिय ज्वाइँ जि ले नेपाली लोकगायनमा दिनुभएको आवाज र योगदानको उच्च कदर गर्दै उहाँको आगामि कार्यकाल अझेै उत्कृष्ट बन्दै जाओस् भन्ने शुभकामना दिन चाहन्छु।।
    🙏
    सुर्य अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button