’प्रवासमा चेली’ तीज गीतमा अम्बिका र विमलाको सहकार्य

राजाराम पौडेल । सप्तरंगी साहित्यिक प्रतिष्ठान नेपाल गण्डकी प्रदेश अध्यक्ष समेत रहनुभएकी कवि एवं गायिका अम्बिका भण्डारीले ’प्रवासमा चेली’ बोलको तीज गीत दर्शक श्रोता माझ पस्कनुभएको छ । गीतको लागि शब्द विमला ढुंगाना निरौलाले सिर्जना गर्नु भएको हो । निरौला अन्तराष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय सचिव हुनुहुन्छ ।

अमेरिकाको उत्तरी भर्जिनियामा बस्दै आउनुभएकी निरौला साहित्य क्षेत्रमा उतिकै सक्रिय हुनुहुन्छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृतिलाई जगेर्ना गर्ने उदेश्यले गीत सिर्जना गरेको उहाँको भनाई छ ।

लय र आवाज भण्डारीको रहेको गीतलाई एरेन्ज साहिल गायकले गर्नुभएको छ । गीत नमस्ते पोखरा बोर्डकास्टिङ स्टुडियो पोखरामा रेकर्ड भएको हो । गीतको भिडियो समेत आकर्षक बनेको छ । नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो प्रालिले उत्पादन र वितरणको जिम्मा पाएको यो तीज गीतको भिडियो नमस्ते पोखराकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियोमा स्वदेशमा तथा विदेशमा रहनुभएका चेलीलाई देख्न पाइन्छ । भिडियोको निर्देशन तथा सम्पादन शिब राजा भुर्तेलले गर्नुभएको हो ।

भिडियोमा नेपालबाट करुणा भण्डारी, भावना पन्त, स्वेच्छा सुवेदी, इन्दिरा शर्मा लगायतको बेजोड नृत्य हेर्न पाइन्छ । उता अमेरिकाबाट विमला निरौला, कमला ढुंगाना, कमला खरेल, गीता केसी, विष्णु शर्मा, सरिता ज्ञवाली, सावित्रा पुडासैनी, रिता सिग्देल, माया अधिकारी, गुराँस बस्नेत, विष्णु केसी लगायतले गरेको नृत्य र अभिनय समेत भिडियोमा समाबेश छ ।

भिडियो छायांकन सुरेश भुर्तेलले गर्नुभएको हो । वासिंङटन महानगर क्षेत्रमा गरिएको छायांकनमा शिव तिमिल्सिना, मुकेश केसी, किशोर ढुंगाना लगायतले छायाकंनमा सघाउनु भएको छ । विमला ढुंगाना निरौलाको प्रस्तुतिमा तयार भएको यो तीजको कोसेलीको निर्माता मोहन निरौला हुनुहुन्छ । चेलीहरुलाई श्रृंगारमा सुनिता अधिकारीले सघाउनु भएको हो ।

’प्रवासमा चेली’ गीतबाट प्राप्त सकारात्मक प्रतिक्रियाले अगाडि बढ्न उर्जा थपेको गायिका भण्डारीले पोखरा न्युजसँग बताउनुभयो । एकपटक गीत सुनेर तथा भिडियो हेरेर प्रतिक्रिया दिन सबै संगीत प्रेमीसँग उहाँको आग्रह छ ।

यसअघि गायिका भण्डारीले संसार छाडी गयौं आमा, आऊ नाचौं दिदी बहिनी, खुसी राख्छौं बाबा तिम्लाई, नभइदे न मेरो मन दुःखी बरी लै, माइती देशै झलल, हाम्रो माइती घर, फूल फूल्यो, आँठा आँठा छेकेर, उही बनपाखामा आदि गीत दर्शक श्रोतामाझ ल्याउनुभएको थियो । उहाँले ३ कक्षामा पढ्दा देखिनै मुक्तक लेख्न शुरु गर्नुभएको थियो । उहाँका मुक्तक र काव्यका ४ कृति प्रकाशित भइसकेका छन् । औपचारिक रुपमा २०६७ मा लोक ‘छन्दका फुलहरु’ नामक कविता संग्रह निकाल्नुभएकी अम्बिकाले २०६८ मा दोस्रो कृतिको रुपमा ‘आफ्नो गाउँ आफ्नै हुन्छ’ खण्डकाव्य पाठक समक्ष पस्कनु भएको थियो ।

उहाँले राष्टप्रेम तथा विभिन्न विकृति विसंगतिमा आधारित रहेर ‘तेस्रो पाइला’ नामक कविता संग्रह निकाल्नुभयो । कास्कीको अन्नपूर्ण गाउँपालिका २ ठूलाचौरमा जन्मिनुभएकी अम्बिका नारी प्रतिभा वाङ्मय प्रतिष्ठान सहितका बिभिन्न संस्थामा आवद्ध हुनुहुन्छ । उहाँ अली मियाँ लोक वाङमय प्रतिभा पुरस्कार बाट सम्मानित समेत भइसक्नु भएको छ ।

भिडिया लिंकः
https://www.youtube.com/watch?v=Y_32KEHVDgA

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button