बुष्ट गरेर भाइरल हुनु फेल भएको विद्यार्थीले अविर किनेर रंगिनु जस्तैः पूर्ण परियार

संकटकै बेलामा समेत गीतमा लगानी हुनु राम्रो

राजाराम पौडेल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराका उपाध्यक्ष पुर्ण परियार अहिलेका आइरहेका बेमौसमी गीतहरुलाई आफूले खासै ध्यान नदिएको सुनाउनुहुन्छ । पोखरा न्यूजसँग कुरा गर्दै परियारले दर्शक श्रोताहरु धेरै बुझ्नी भैसकेकोले कलाकारले दर्शकहरुलाई झुक्याउन नसक्ने विश्वास गर्नुभएको छ ।

तीजको नाममा रत्यौली र अन्य झ्याउरे गाउनु हुँदैन 

मैले पूरा गीत कसैको पनि हेरेको छैन । किनकि अहिले नै बेला आएको छैन । गीत सुन्नी र हेर्नी पनि एउटा समय सन्दर्भ र अवसरहरु हुनुपर्छ । एकातर्फ कोरोनाको पीडा अर्को बर्षातको कारण दैबीप्रकोप र अनेकन पिडित मानसिकता छ । मान्छेको मनस्थिति र स्थिर छैन । कुनबेला के हुनी हो भन्नी तनाबै मात्र छ । अनि यस्तो बेलामा आइरहेका बेमौसमी गीत नसुनेकोमा गीतै नसुन्ने कलाकार भनेर आरोप नलगाउनु होला है ।

सामान्य एक दुई टुक्का र सामजिक संजालमा भैरहेको टीका टिप्पणीले म के बुझ्दछु भनें जुन गीतहरु समाजले स्वीकार गरे तिनीहरुको हल्ला कम भयो र समाजमा बजिरहेका होलान । अर्को कुरा जुन गीतहरु यस्तो नभएको भए हुन्थ्यो भन्ने कुरा समाजले ठान्यो त्यसका बारेमा टीका टिप्पणी चल्न थाले । यहाँ कुरा केछ भनें जसरी पनि हल्ला चलाउन सक्नुमा आफ्नो सफलता र चर्चा चुलिएर भाइरल भैयो भन्नी बुझ्नु नै नैतिकता भन्दा बाहिरको सोच हो ।

तीजको नाममा रत्यौली र अन्य झ्याउरे गाउनु भनेको पर्वको महत्व नबुझ्नु या बुझेर पनि त्यसको मर्मलाई कुल्चिन खोज्नु हो । म बाहेक कसैले यो क्षेत्र बुझ्दैन र जान्दैन भन्ने मूर्ख बुझाइको उपज हो । बुझ्न के जरुरी छ भनें अब दर्शक श्रोताहरु पनि धेरै बुझ्नी भैसकेका हुनुहुन्छ । उहांहरुले हाम्रो मुल्यांकन नैतिकताको कुन कठाघरामा राख्ने भन्ने मेसो पाउनु भएकै छ । अहिले यसो झलक झुलुक सुनेक केही गीतहरु फेरि बहुत मिठा छ्न जस्तो मानेको छु ।

कति भाका सांचिकै मौलिकता झल्किने खालका छ्न

नेपाली लोकदोहोरी र लोकसंकृतिमा यस्तो संकटकै बेलामा पनि लगानी भैरहेको छ त्यो राम्रो हो । साथै धेरैजसो लाइभ दोहोरीमा अग्रजहरुले गाएक सिर्जनाहरुलाइ पुन गाएर सम्मान भैरहेको छ । कति भाकाहरु सांचिकै पर्व विशेष र मौलिकता झल्किने खालका छ्न ।

त्यसमा अझै भनौं जो तीजको मर्म बुझेको छ ती गीतहरु सायद चेलीबेटीलाई तीजको हल्का रन्को लाउनी बेला मा नै आंउदै छन होला । या बल्ल रेकर्डिङ प्रकृयामै छ्न होला । भनें मिठा र मौलिक एबं जीवन शैलीलाई बोल्नी खालका सरल साहित्यमा सिर्जना गरिएका छ्न भनें कति सरल भएर पनि सुन्दर छ्न । सुर ताल मिलेका स्वरमा मिठास । नयां–नयां कथा यी सकारात्मक पाटा हुन् ।

फुल टाइम कलाकार भएर बांच्न गाह्रो

अब नकारात्मक म भन्दिन तर आलोचनात्मक पाटोमा कुरा गर्दा पहिलो त जतिसुकै मीठो तीजे गीत नै भए नि समय र सिजन भन्दा अघि आउनु भनेको बेलै नपुगी जन्मेको शिशु जस्तै हो । र अर्को तर्फ यो मौलिकता र समाज बोल्नी भन्दा नि व्यापारको औजार मात्रै हो । अर्को कुरा १/२ लाख लगानी गरेर गीत निकाल्नी फेरि १/२ लाख खर्छ गरेर बुस्ट गर्नी अनि म भाइरल मेरो गीत भाइरल भयो भन्ने हल्ला गर्नु फेल भएको बिद्यार्थीले आफै अबिर किनेर रंगिनु र प्रथम भएं भन्दै हिड्नु जस्तै हो ।

अहिले यो रंग लाउनी सिको धेरैले गर्दै छ्न । त्यो राम्रो होइन । अर्को कुरा पर्व गीत हरु त्यो पर्व मनाउनी परिवारले कम्तिमा संगै बसेर हेर्नी खालको सम्म हुनुपर्छ भने भोलिका पुस्ताले सम्झेर गाउन सक्नी भएनन । अर्को नृत्य र अभिनय गीतले एउटा भन्छ नृत्यले अर्कै प्रस्तुति र प्रदर्शन गर्छ त्यो पनि भद्दा शृङ्गारिक मात्रै हो । त्यसैले यी सबै कुरा आलोचनाको कसिमा दर्ज हुनी शैली हुन ।

अनि अर्को स्वर होस नहोस दाम भएसि गीत गाउनै पर्नी जुन जबर्जस्त रहर छ । त्यो राम्रो होइन । यही कारणहरुले गर्दा यो क्षेत्र मर्यादित र सम्मानित हुन सकेन । किनकि केही छिनलाई चर्चा त होला दीर्घकालिन सम्मान हुन सकेन अनि यस्को कारण फुल टाइम कलाकार भएर बांच्न गार्हो पनि हुनि धराप सिर्जना हुँदै गयो ।

गायक परियारको बारेमा सम्क्षिप्त चिनारी

गायक पूर्ण परियारको जन्म बागलुङ जिल्लाको बागलुङ नगरपालिका १२ अमलाचौरमा भएको हो । २०६१ सालमा प्रतियोगितात्मक दोहोरीमा भाग लिनु भएका उहाँले २०६३ सालबाट दोहोरी साँझमा आफ्नो प्रतिभा सुनाउन थाल्नुभयो ।

२०६७ सालमा ‘पीडा सहेर’ गीतको शब्द सिर्जना गर्नुभएका उहाँले २०६९ सालमा ‘चुरी छैंया छैंया’ गीतमा आवाज भर्नुभएको थियो ।

हालसम्म दुई दर्जन भन्दा बढी गीत पस्किसक्नुभएका उहाँका भन माया, खाडीमुलुक, बलेवामा हवाइजहाज, पुतली, मायाको फरिया, छोटो लुगा, फेसबुक बन्द गर लगायतका गीत दर्शक स्रोताले रुचाएका छन् । उहाँले शब्द लय सिर्जना गरेका गीत विभिन्न गायक गायिकाको आवाजमा समेत सुन्न पाइन्छ । उहाँ स्टेज कार्यक्रम सञ्चालनमा समेत अब्बल हुनुहुन्छ ।

हाल राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको बरिस्ठ उपाध्यक्ष रहनुभएका उहाँ २०६३ सालमा प्रतिष्ठान बाग्लुङको सचिव हुनुभएको थियो । उहाँसँग प्रतिष्ठान बागलुङ जिल्लाको अध्यक्ष, धौलागिरी अञ्चलको महासचिव, गण्डकी प्रदेशको संस्थापक सचिव बनेर काम गरेको अनुभव समेत छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रिय सदस्य रहनुभएका उहाँ विभिन्न संघ संस्थामा सल्लाहकार तथा आजिवन सदस्य रहेर सामाजिक क्षेत्रमा उतिकै क्रियाशिल हुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button