पाेखरामा औद्योगिक व्यापार मेलाको आन्तरिक तयारी !

पाेखरा ।  पोखरा उद्योग वाणिज्य संघले आउँदो फागुन १६ गतेबाट तय भएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी थालेको छ । संघले फागुन १६ देखि २२ गतेसम्म व्यापार मेलाको मिति तय गरेको छ ।

कोभिड–१९ को तेस्रो लहरसँगै प्रशासनले मेला महोत्सव आयोजनामा रोक लगाए पनि फागुनसम्म स्थिति सहज हुने अनुमानका साथ मेलाको आन्तरिक तयारी अघि बढाइएको संघका अध्यक्ष नारायण कोइरालाले बताउनु भएकाे छ ।

‘२ वर्षदेखि कोभिडका कारण संकुचनमा परेको अर्थव्यवस्थालाई चलायमान बनाउन पनि मेलामहोत्सव आवश्यक छ’,उहाँले भन्नुभयाे,‘ देश सशस्त्र द्वन्द्वमा हुँदा मेलामहोत्सवमार्फत् नै अर्थतन्त्र चलायनमान बनाएको अनुभवलाई हामी यसपटक पनि प्रयोग गर्ने ध्येयले पनि तयारी थालिएको हो ।’ उहाँले द्वन्द्वकालीन समयमा २० जना मान्छे एकैठाउँमा भेला हुन बन्देज लगाइएको परिस्थितिको स्मरण गर्दै अगाडि थप्नुभयाे, ‘संकटको बेला अर्थतन्त्र संकुचनमा पर्छ र त्यसलाई चलायमान बनाउन मेलामहोत्सव आवश्यक पर्छ ।’ यद्यपि, महामारी साम्य नभएमा भने स्वास्थ्यजस्तो संवेदनशील विषयलाई नजरअन्दाज नगर्ने उहाँले प्रष्ट पार्नुभयाे । उहाँले स्थिति सहज भए यो पटकको मेला विशुद्ध उद्यमशीलताप्रति समर्पित हुने उद्घोष पनि गर्नुभएकाे छ ।

संघका महासचिव सुरेन्द्रमान विजुक्छेका अनुसार मेलालाई उपलब्धीमूलक बनाउन विज्ञहरुसँग छलफल सुरु गरिएको छ । स्वास्थ्य क्षेत्रका विज्ञहरुले संक्रमण बिस्तारै घट्ने आँकलन गरिरहेकाले फागुनसम्म मेलाको अनुमति पाइएला भनेर नै तयारी अगाडि बढाइएको पनि उहाँले बताउनु भयाे । अहिले भने संघले उद्योगीव्यवसायीहरुलाई स्वास्थ्य मापदण्ड पालनासहित व्यवसाय गर्न आग्रह गरेको उहाँकाे भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button