अखाद्य वस्तु बेच्नेलाई अब आर्थिक दण्ड – मन्त्री बोहरा

काठमाडौँ, १ असोज –

आपूर्ति मन्त्री दीपक बोहराले अखाद्य वस्तु र बढी मूल्यमा सामान बेच्नेलाई कारबाही गर्नका लागि आर्थिक दण्डसहित जरिवाना गर्ने नयाँ कानुन ल्याउन थालेको बताउनुभएको छ ।

नेपाल खुद्रा व्यापार सङ्घले असनमा दसैँतिहार र छठपर्वलाई लक्षित गरी राखेको खाद्य सामग्रीको ‘मूल्य सूची ब्यानर’ उद्घाटन गर्दै मन्त्री बोहराले अखाद्य वस्तु र बढी मूल्यका वस्तु बेच्नेलाई रु १० लाख देखि रु २० लाखसम्म जरिवाना र १० वर्ष कैदको व्यवस्था गर्ने नयाँ कानुन ल्याउन थालेको बताउनुभयो ।

“उत्पादकले कमाउनुपर्दछ । तर कमाउने बहानामा जथाभावी गर्न पाइँदैन”, उहाँले भन्नुभयो – “अहिले कानुनमा भएको कारबाहीले पुगेन । थप कडा जरिवाना गर्न आवश्यक भएकाले आर्थिक दण्ड र कैदसम्मको कानुन ल्याउन थालेका हौँ ।” उहाँले चाडपर्वका बेला मूल्य वृद्धि हुन नदिने बताउनुभयो । “कसैले चाडपर्वको रातारात मूल्य वृद्धि गर्छ भने हामीलाई भन्नुहोस्”, उहाँले भन्नुभयो – “त्यस्तालाई हामीले कारबाही गर्छौं ।”

उहाँले चाडपर्वपछि पनि वस्तुको मूल्यको बारेमा एकरुपता ल्याउन वैज्ञानिक आधारमा मूल्य तोकिने जानकारी गराउनुभयो । “उत्पादनको लागत र भन्सारमा तिरेको बिलका आधारमा वैज्ञानिक तरिकाले मूल्य सूची तयार पार्छौं”, उहाँले थप्नुभयो –“भन्सारमा एउटा मूल्य तिर्ने अनि उपभोक्तालाई अर्को मूल्य लिन अब पाइँदैन ।”

उहाँले खाद्य वस्तुमा म्याद सकिएको, मिसावट र रातारात मूल्य वृद्धि गर्ने उत्पादकलाई कारबाही गर्ने पनि जानकारी गराउनुभयो ।आपूर्तिमन्त्री बोहराले मूल्य वृद्धि रोक्न सबभन्दा शक्तिशाली निकाय साना व्यापारी भएको उल्लेख गर्दै साना व्यापारीले नै देशको अर्थतन्त्र धान्ने बताउनुभयो ।

कार्यक्रममा आपूर्ति सचिव प्रेमकुमार राईले मूल्य सूची राखेर मूल्यवृद्धि रोक्न सहयोग पुग्ने बताउनुभयो । उहाँले बजारलाई व्यवस्थित गर्नका लागि साना व्यापारीको आवश्यकता पर्ने भन्दै मूल्य सूची राख्नाले उपभोक्ता ठगिनबाट जोगिने बताउनुभयो ।

आपूर्ति व्यवस्थापन तथा हित संरक्षण विभागका प्रमुख गोकुलप्रसाद ढकालले चाडपर्वपछि पनि अनुगमनलाई निरन्तरता दिने बताउँदै अब खाद्यान्न वस्तु उत्पादन हुने ठाउँ केन्द्रित भई अनुगमन गर्ने जानकारी गराउनुभयो ।

सङ्घका अध्यक्ष पवित्र बज्राचार्यले चाडपर्वमा उपभोक्ता नठगिउन् भन्नका लागि पसलमा मूल्य सूची राखिन थालेको जानकारी गराउनुभयो । उहाँले खुद्रा पसलमा दसैँदेखि छठपर्वसम्म चामल, दाल, तेल, च्युरा, मैदा, आँटा, मसला र चिनीको मूल्य सूची राख्ने बताउनुभयो ।

उहाँले उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा एक हजार पसलमा खाद्य वस्तुको मूल्य सूची राखिने बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button