टोकियो विमानस्थलबाट गैरखेलाडी बेपत्ता

काठमाडौँ, ११ भाद्र – 

क्रिकेटका नाममा मानवतस्करी

मैत्रीपूर्ण क्रिकेट खेलका लागि जापान लगेर उतै छाडिएका गैरखेलाडीमध्ये आधाभन्दा बढी टोकियो विमानस्थलबाटै गायब भएको खुलेको छ । नेपाली क्रिकेट टोलीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गैरखेलाडी त्यसपछि एकाएक गायब भएका थिए ।

जापान पुगेर फर्किएका खेलाडीका अनुसार नारिता विमानस्थलबाट उनीहरू बस्ने तय भएको होटेलसम्म पुग्दा नौ गैरखेलाडीमध्ये दुईजना मात्रै साथमा थिए । बाँकी सातमध्ये केही विमानस्थल र केही बाटोबाट अन्यत्रै लागेको स्वदेश फर्किएका खेलाडीले बताएका छन् । जापान पुगेर फर्किएका उनीहरूले राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र सिनियर राष्ट्रिय टोलीले सोधेको लिखित जबाफमा समेत गैरखेलाडी विमानस्थलबाटै गायब भएको जानकारी दिएका छन् ।

हामी सात खेलाडी र हामीले चिनेका दुई अफिसियल विमानस्थलबाट होटेल पुग्दा अन्य नौजनामध्ये दुई मात्रै हामीसँग थिए । बाँकी सातजना बाटोबाटै हराइसकेका थिएु, जापान पुगेर फर्किएकामध्ये एक खेलाडीले नाम नलेख्ने सर्तमा भने, उनीहरूमध्ये केही विमानस्थलबाटै गायब भएका थिए । दुईतीनजना भने बाटोमा गाडी रोकेर निस्किएका थिए । ती खेलाडीका अनुसार विमानस्थल र बाटोबाटै गायब भएका कुनै पनि गैरखेलाडी खेल खेल्न आएनन् भने टोलीको जापान बसाइमा उनीहरूसँग दोस्रोपटक भेटसमेत भएन ।

टोलीसँगै बसेका दुई गैरखेलाडीले भने जापानका स्थानीय टोलीविरुद्ध तीन खेलमध्ये दुई खेल खेलेका थिए । ती खेलमध्ये एकले दुई खेल तथा अर्का एकले एक खेल मात्रै खेलेका थिए । ती दुईजना पनि खेल समाप्त भएपछि टोलीसँगै नेपाल फर्किएनन् । प्रतियोगिता खेल्न गएकाहरू बाटैबाट गायब भएपछि टोलीसमेत अपूरो बनेको थियो । त्यसैले अन्तिम दुई खेलमा टोली व्यवस्थापक बनेर गएका किरण राणाले खेल्नुपरेको थियो ।

त्यसअघि नै जापानमै रहेका राष्ट्रिय टोलीका पूर्वखेलाडी राजकुमार प्रधान र उनले बोलाएका अन्य साथीले समेत नेपाली टोलीबाट प्रतियोगिता खेलेका थिए ।

सँगै गएका खेलाडी बाटोबाटै हराए पनि टोली व्यवस्थापनले सोधखोज नगरेको देखिएको छ । नेपाली टोलीसँगै गएका नेपाली सिनियर राष्ट्रिय टोलीका पूर्वसदस्य सिद्धान्त लोहनी तथा यू १९ राष्ट्रिय टोलीका खेलाडी प्रेम तामाङ, सौरभ खनाल, रामनरेश गिरी, फजलुर रहमान, अमित श्रेष्ठ र राष्ट्रिय खेलाडी सोनु तामाङ भने नेपाल फर्किएका छन् । उनीहरूसँगै टोली प्रशिक्षकका रूपमा गएका सुन्दर थापा क्षेत्री र व्यवस्थापकका रूपमा गएका किरण राणा पनि फर्किएका छन् ।

खेलाडीकै रूपमा लगिएका अन्य नौजना भने टोलीसँगै नफर्किएपछि सरोकारवाला निकायले त्यसको छानबिन सुरु गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जापान खेल्न गएकोबारे खेलाडीसँग लिखित स्पष्टीकरण सोध्न प्रशिक्षक जगत टमाटालाई निर्देशन दिएको छ भने युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले पनि आन्तरिक छानबिन सुरु गरेको बताएका छन् । मैत्रीपूर्ण खेल खेल्ने टोली गत १५ जुलाईमा जापान गएको थियो ।

नेपाली खेलाडीलाई प्रतियोगिताबारे झुक्याइएको खुलेको छ । राष्ट्रिय टोलीबाट समेत खेलिसकेका खेलाडीलाई भारत, बंगलादेशलगायत देशबाट समेत टोली आउने र प्रतियोगिता भव्य हुने बताइएको थियो । यद्यपि खेलाडीले उनीहरूलाई भनिएजस्तो प्रतियोगिता नभएको बताएका छन् । जापान जानुभन्दा पहिले हामीलाई ठूलो प्रतियोगिता हुँदैछ । भारत, बंगलादेशलगायत ठूला देशबाट समेत राम्रा टोलीहरू आउँछन् भनिएको थियो, ती खेलाडीले भने, तर जापानमा हामीलाई भनिएजस्तो प्रतियोगिता भएन । अन्य कुनै पनि देशका टोली आएनन् । हामी जापानको मध्यम खालको टोलीसँग खेलेर फर्कियौं ।

जापानमै लुकेको आशंका गरिएका नौ गैरखेलाडीलाई समन्वय कसले गरेको थियो भन्ने अझै खुल्न नसके पनि राष्ट्रिय टोलीका खेलाडीलाई भने आईसीसीको निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित समितिका सचिवसमेत रहेका किरण राणाले पहल गरेको खेलाडीले बताएका छन् । हामीलाई किरण सरले नै प्रतियोगिताका बारेमा बताउनुभएको थियो । हामी कसैले पनि हामी सात खेलाडी र किरण सरबाहेक अन्यलाई चिनेका थिएनौ, एक खेलाडीले भने, किरण सरकै प्रस्तावमा हामी प्रतियोगिता खेल्न जापान गएका हौं । टोलीसँगै नेपाल फर्किएका राणा भने हाल अमेरिकामा छन् ।

यसैबीच क्रिकेट खेलाडीका रूपमा गैरखेलाडीलाई जापान लगी छाडिएको बारे छानबिन गर्न क्रिकेट खेलाडी संघ र नेपाली क्रिकेट समर्थक समाजले सरकारसँग अनुरोध गरेको छ । राष्ट्रिय टोलीका कप्तान तथा क्रिकेट खेलाडी संघका महासचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा यस्ता घटनाले नेपाली क्रिकेट परिवारलाई स्तब्ध बनाएको र नेपाली क्रिकेटको सम्मानमा आँच पुर्‌याएको उल्लेख छ ।

क्रिकेट खेलाडीका रूपमा गैरखेलाडीलाई जापान लगी छाडिएको आशयको समाचार सार्वजनिक भएको छ । यस्तो घटनाले नेपाली क्रिकेट परिवारलाई निराश तुल्याएको छु, विज्ञप्तिमा भनिएको छ, यस्तो घटनाले नेपाली क्रिकेटको मर्यादामा आँच पुर्‌याउने काम गरेको छ । त्यसैले यस्ता घटनामाथि छानबिन गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दछौं । खेलाडी संघले यस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी पठाउनेबारे क्यान वा अन्य सम्बन्धित निकायले नियमन गर्नुपर्ने धारणासमेत अघि सारेको छ ।

यस्तै नेपाली क्रिकेट समर्थक समाजले समेत विज्ञप्ति जारी गरेर घटनामा छानबिन गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेको छ । क्रिकेटका नाममा गैरखेलाडी विदेश लानु र उतै छाडिएको घटना क्षमायोग्य छैन, अध्यक्ष भानुभक्त सिग्देलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, यस्ता घटनामा तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न हामी सरकारसमक्ष अनुरोध गर्दछौं ।

साभार: अन्नपुर्णपोस्ट बाट

original link: https://www.annapurnapost.com/news/54411

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button